+
+
Shares
विचार :

सामाजिक शिथिलता यथावत् राखेर अर्थतन्त्र चलायमान हुन्छ?

हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउन सामाजिक शल्यक्रिया अपरिहार्य छ। एउटा समूहले अर्को समूहको अस्तित्व नै स्वीकार नगर्ने, गालीगलौज मात्रै गर्ने संस्कार रहँदासम्म आमूल परिवर्तन सम्भव छैन।

डा. सन्जिब हुमागाईं डा. सन्जिब हुमागाईं
२०८२ साउन १ गते ७:३०

नेपालले किन अपेक्षाकृत विकास हासिल गर्न सकेन भन्ने बहस २०४६ सालपछि मूलभूत रूपमा दुई ध्रुव केन्द्रित रह्यो। पहिलोमा ‘दलाल पूँजीवादमा हुने यस्तै त हो ब्रो’ भनेपछि थप संवाद आवश्यक नै नठान्ने प्रचलन हावी रह्यो। उनीहरूले सुधारको अवस्था देखेनन् वा नजरअन्दाज गरे। दोस्रोमा नेपालको अहिलेको सबै समस्याका कारण र समाधानका उपाय विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषका प्रतिवेदनमा बकाइदा लेखिएको छ, नेपालीहरूले त्यसलाई नपढेर तथा अनुसरण नगरेर यो हविगत भएको हो भन्ने विचारको दबदबा रह्यो। हाम्रा समस्याका मौलिक कारण प्रति उनीहरू पनि उदासीन नै रहे।

निर्मम भएर समीक्षा गर्ने हो भने दुवै विचारले अतिवादलाई प्रोत्साहन गरे र खासमा हामी कहाँ छौं, हाम्रा प्रधान समस्याहरू के हुन् र तिनीहरूलाई सुधार गर्न के-कस्ता पहल आवश्यक छन् जस्ता आधारभूत प्रश्नहरूको बहसलाई जागरुक हुन् दिएनन्। रोग पहिचान गरेर त्यसको उपचार विधि खोज्ने होइन कि पहिला उपचार विधि निर्धारण गरेर रोगलाई व्याख्या गर्ने दोषी चश्मा हावी भयो।

यो अप्राकृतिक र अव्यावहारिक ध्रुवीकरण आफैंमा नेपाली समाजमा व्याप्त नैराश्यताको एउटा प्रमुख कारण हो। यसले हामी जस्तै अवस्थामा रहेका देशहरूले कसरी क्रमिक सुधार गरे भन्ने सबैभन्दा आधारभूत र प्राथमिक प्रश्नको बहसको स्थानमाथि नै आधिपत्य जमाएको छ, दबाएको छ। जसरी युद्ध र शान्तिको बीच अन्य राजनीतिक चरणहरू हुन्छन् त्यसरी नै समुन्नत समाज र आर्थिक रूपमा पछाडि रहेको समाजका बीचमा पनि विविध तह र चरणहरू हुन्छन्। हामी कहाँ छौं र यो चरणबाट अर्को चरणमा पुग्न समाजमा के–कस्ता सुधार आवश्यक छन् भन्ने विषयमा बृहत् छलफल र संवाद आवश्यक हुन्छ।

विगत केही समयदेखि ‘चलायमान अर्थतन्त्र’को पक्षमा वकालत सदनदेखि विश्वविद्यालयका कोठासम्म यत्रतत्र व्याप्त छन्। तर, आर्थिक कठिनाइका सामाजिक एवं राजनीतिक कारण हुन्छन् वा तिनीहरू एकअर्कासँग जकडिएका हुन्छन् भन्नेमा सबै खाले सिद्धान्तहरूले स्वीकार गर्दा पनि हाम्रोमा त्यस्तो बृहत् संवादले अझै स्थान पाउन सकेको छैन। हाम्रो ज्ञान उत्पादन प्रक्रिया, प्राथमिकता, विधि अर्थात् विश्वविद्यालयका विभाग, पाठ्यक्रम, अध्ययन एवं अनुसन्धानका प्राथमिकतादेखि ७६१ सरकारहरूले अध्ययन, अनुसन्धानमा हुने खर्च र त्यस्ता खर्च जुट्न बसेका दातृ निकायका प्राथमिकतासम्म निर्मम समीक्षा विना हाम्रो वर्तमान अवस्थामा तात्विक परिवर्तन ल्याउन सकिंदैन।

सबैभन्दा पहिला, अहिलेको सामाजिक शिथिलतालाई यथावत् राखेर अर्थतन्त्रलाई चलायमान बनाउने अभ्यास जटिल र महँगो हुन्छ भन्ने स्वीकार गर्नु आवश्यक छ। आर्थिक वा मौद्रिक नीतिलाई कार्यान्वयनमा लैजान कस्तो सामाजिक वातावरण आवश्यक हुन्छ? यो हामी सबैले चिन्तन गर्नुपर्ने विषय होइन र?

मन्दी वा शिथिलता जस्ता शब्दहरू अर्थतन्त्र एवं राजनीतिमा धेरै प्रयोग भएको देखिन्छ। जस्तै सन् १९३० को दशकमा उत्पन्न आर्थिक मन्दी महामन्दी वा ग्रेट डिप्रेसन भनिन्छ। २१औं शताब्दीमा पनि सन् २००८ मा हामीले एक पटक आर्थिक मन्दीलाई अनुभव गरेका छौं भने सन् २०१५ पछिको राजनीतिक कालखण्डलाई लोकतान्त्रिक मन्दीको समय पनि भन्ने गरिएको छ।

व्यक्तिगत जीवनमा शरीर र मन थाकेर केही गर्न मन नलाग्ने अवस्थालाई शिथिल अवस्था भन्ने गरिन्छ। जसरी हरेक व्यक्तिका शिथिलताका आफ्नै कारण हुन्छन् त्यसरी नै सामाजिक शिथिलताका पनि आफ्नै कारण हुन्छन्। राजनीतिक संस्कारदेखि आर्थिक असमानता वृद्धिसम्म सामाजिक वातावरणलाई खल्बल्याउने विविधि कारण हुन् सक्दछन्।

सामाजिक शिथिलतामा रहेको समाजमा नागरिकहरू बीच विश्वासको ठूलो खडेरी हुन्छ र त्यसले व्यक्ति एवं समाजको उत्पादकत्वमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नकारात्मक असर पार्दै व्यक्ति र समाजको आत्मविश्वासमा संकट सिर्जना गरेको हुन्छ।

कारण जे हुन्, सामाजिक शिथिलतामा रहेको समाजमा नागरिकहरू बीच विश्वासको ठूलो खडेरी हुन्छ र त्यसले व्यक्ति एवं समाजको उत्पादकत्वमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नकारात्मक असर पार्दै व्यक्ति र समाजको आत्मविश्वासमा संकट सिर्जना गरेको हुन्छ। यस्तो मनोवैज्ञानिक प्रभावका कारण व्यक्ति र समाज चलायमान हुनसकेका हुँदैनन्, खुम्च्याएर बसेको हुन्छन्। जसरी एउटा व्यक्ति शिथिल हुँदा स-साना गल्ती गरिरहन्छ, आफ्ना स-साना समस्या पनि समाधान गर्न सक्दैन त्यसरी नै समाजले पनि आफ्ना सानाभन्दा साना समस्या समाधान गर्न पनि लामो समय लगाउँछ।

नेपाली समाज यतिखेर यस्तै-यस्तै मनोवैज्ञानिक कारणहरूले शिथिल छ। हो, अहिले राजनीतिकर्मी, नागरिक समाज र मिडियाले तर्क गरे झैं नेपालमा केही पनि भएन र हुँदैन भन्ने भाष्य गलत छ। राजनीतिक र भौतिक रूपमा प्रगतिहरू भएका छन्। तर जसरी भौतिक रूपमा स्वस्थ व्यक्तिहरू मानसिक कारणहरूले शिथिल हुन् सक्दछन् त्यसरी नै देशमा भौतिक विकास भए पनि समाजमा समस्याहरू उत्पन्न हुन् सक्दछन्।

त्यसलाई पहिचान गर्नु, निराकरण गर्नु हामी सबैको कर्तव्य होइन र? रोग लुकाउँदा के हुन्छ हामीलाई थाहा छैन? फेरि माथिकै प्रश्न, मनोवैज्ञानिक रूपमा गलेको समाजले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ?

हामी स्पष्ट हुनुपर्‍यो। कि सामाजिक शिथिलतालाई स्वीकार गरेर यसलाई चलायमान बनाउने राष्ट्रिय अभियान सुरु गर्नुपर्‍यो। होइन भने, भन्न सक्नुपर्‍यो समाज शिथिल छ भन्ने तर्क अतिरन्जित र बकवास हो। आर्थिक, वित्तीय र मौद्रिक नै अर्थतन्त्र चलायमान हुन नसक्नु पछाडिका निर्णायक कारणहरू हुन्। हामीले समाधान पनि त्यहींबाट खोज्नुपर्दछ।

तर, त्यस्ता धेरै आधार छन् जसले नेपाली समाजको शिथिलताका लक्षण स्पष्ट रूपमा देखाइरहेका छन्। हाम्रो समाजमा एउटा समूहले अर्को समूहको अस्तित्व नै स्वीकार नगर्ने गरी विश्वासको खडेरी रहेको छ। धेरै समूह, त्यसमध्ये पनि राजनीतिकर्मी, अध्येता वा विश्लेषकहरू प्रतिको नकारात्मक भाषाको प्रयोग अत्यधिक रूपमा वृद्धि भएको छ। यस्तो लामो अभ्यासले अहिलेका समस्याका सबै जड अरूमा छन् र म वा हाम्रो समूह मात्रै इमानदार, निष्ठावान र क्षमातावान छ भन्ने डरलाग्दो सोच हावी हुँदै गएको छ।

हाम्रो ज्ञान उत्पादन प्रक्रिया, प्राथमिकता, विधि अर्थात् विश्वविद्यालयका विभाग, पाठ्यक्रम, अध्ययन एवं अनुसन्धानका प्राथमिकतादेखि ७६१ सरकारहरूले अध्ययन, अनुसन्धानमा हुने खर्च र त्यस्ता खर्च जुट्न बसेका दातृ निकायका प्राथमिकतासम्म निर्मम समीक्षा विना हाम्रो वर्तमान अवस्थामा तात्विक परिवर्तन ल्याउन सकिंदैन।

यस्तो विभाजित मनोविज्ञानले अर्को जटिल र डरलाग्दो प्रश्न वा भाष्यको महामारी सिर्जना गरेको छ “सबले ठगेका छन् मैले मात्र दु:ख गरेर के हुन्छ?” हो समाजमा व्याप्त यो मनोविज्ञान सामाजिक सत्य होइन। आज पनि नेपालमा दिन–रात नभनी दु:ख गर्ने, इमानदार जीवनयापन गर्ने, एकअर्कालाई सहयोग गर्ने व्यक्तिहरू नै धेरै छन्। त्यस्तो हो भने झनै, सामाजिक यथार्थ भन्दा टाढा रहेको शिथिलताको भाष्य चिर्न लाग्नुपर्दैन? को-कसले कस्तो प्रयत्न गर्दैछौं? कि हामी पनि समूह कित्ताकाट गरेर शिथिलतालाई मलजल गर्दैछौं? हामीले गम्भीर भएर प्रश्न गर्नुपर्दछ, विरोध र विमतिको सुन्दर लोकतान्त्रिक संस्कारमा ‘घृणा’को बीउ कसले र कसरी रोप्यो?

सामाजिक अवस्था र भाष्य बीच खाडल हुन सक्दछ तर व्यक्तिहरूको कामप्रतिको विश्वास, तदारुकता, सम्मान, समर्पण र उत्पादकत्वमा आएको कमीको बारेमा उठेका सवालहरूलाई चटक्कै बेवास्ता गर्न सकिने अवस्थामा भने वर्तमान नेपाली समाज किमार्थ छैन। परिवारका सबै सदस्य सधैं सधैं सँगसँगै बस्नु जीवनको न्यूनतम आवश्यकता हो भन्ने तथ्यले सिङ्गो राष्ट्रलाई गिज्याउने अवस्था, जवान उमेरमा आफ्नो देशभित्र एकचित्त भएर आफ्नो सीप र क्षमता अनुसारको रोजगारी खोज्ने र यो नै मेरो अन्तिम रोजगारी हो भनेर दत्तचित्त भएर काम गर्ने कठिन हाम्रो श्रम बजार र प्रणाली, सूचनाप्रविधिको तीव्र विकासका कारण सिर्जित अनावश्यक भौतिक एवं बाह्य संसारकेन्द्रित सामाजिक प्रतिस्पर्धा जस्ता तमाम सामाजिक कारणहरूले नागरिकले आफ्नो जीवनको बहुमूल्य समय अलमल र द्विविधामा बिताउनु परिरहेको अवस्थालाई कदापि नकार्न सकिने अवस्था छैन।

हामीले गम्भीर भएर प्रश्न गर्नुपर्दछ, विरोध र विमतिको सुन्दर लोकतान्त्रिक संस्कारमा ‘घृणा’ को बीउ कसले र कसरी रोप्यो?

यसैबीच प्रक्रिया होइन नतिजा नै अन्तिम सत्य हो भन्ने हाम्रो पठनपाठन, सामाजिक स्वीकारोक्तिले विधि र विधान अनि प्रक्रियाभन्दा पनि लप्पनछप्पन र अनौपचारिक सम्बन्धहरूलाई प्रश्रय दिएको छ। सोझो बाटो हिंडेर जीवनको गन्तव्यमा पुगिंदैन भन्ने अर्को भयानक भाष्य स्थापित हुँदै गएको छ।

यसरी हेर्दा, हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउन सामाजिक शल्यक्रिया अपरिहार्य छ। एउटा समूहले अर्को समूहको अस्तित्व नै स्वीकार नगर्ने, गालीगलौज मात्रै गर्ने संस्कारमा आमूल परिवर्तन आवश्यक छ। सँगसँगै सवाल राष्ट्र निर्माणमा हरेक क्षेत्रको आ-आफ्नै महत्व र भूमिका पनि स्वीकार गर्नुपर्दछ। म र हामी बाहेक पनि हाम्रो समाज र राष्ट्रको बारेमा चिन्ता गर्ने धेरै छन् भन्ने तथ्य कुनै पनि सघन सामाजिक संवादको प्रस्थानविन्दु हुनुपर्दछ। जरुर, निश्चित समूहले आफ्नो काममा ध्यान दिन नसक्दा प्रश्न गर्नुपर्दछ। तर प्रश्न, उसको भूमिकालाई गतिशील बनाउनेतर्फ छ कि भाँजो हाल्नेतर्फ, हामी नागरिकले पनि विचार गर्नुपर्दछ।

आज म जे छु यसमा समाजको अर्को सदस्यको पनि ठूलो भूमिका छ भन्ने स्वीकार गर्नुपर्दछ। तसर्थ, मेरो राम्रो हुनु भनेको मेरो मात्रै प्रयत्न होइन समाजका धेरै सदस्यको प्रयत्नको नतिजा हो भन्ने स्वीकार गर्नुपर्दछ। अनि मात्र एकअर्कालाई हेर्ने धारणा परिवर्तन र विश्वास अभिवृद्धि हुन्छ।

कि सामाजिक शिथिलतालाई स्वीकार गरेर यसलाई चलायमान बनाउने राष्ट्रिय अभियान सुरु गर्नुपर्‍यो होइन भने भन्न सक्नुपर्‍यो; समाज शिथिल छ भन्ने तर्क अतिरन्जित र बकवास हो। सबैभन्दा पहिला, अहिलेको सामाजिक शिथिलतालाई यथावत् राखेर अर्थतन्त्रलाई चलायमान बनाउने अभ्यास जटिल र महँगो हुन्छ भन्ने स्वीकार गर्नु आवश्यक छ।

हरेक नागरिक आफ्नो क्षमताको बारेमा विश्वस्त हुने अवस्था विना आर्थिक कायापलट असम्भव प्राय: हुन्छ। नागरिकहरूको आत्मविश्वास वृद्धिमा सरकार र शैक्षिक संस्था मात्रै होइन सिङ्गो राज्य लाग्नुपर्दछ। युवा उमेरको जनसंख्या गणना गरेर दंग पर्ने होइन नागरिकहरूको उत्पादकत्वमा आएको सुधारको ग्राफ हेरेर सन्तुष्टि लिने संस्कार र पद्धतिले प्राथमिकता पाउनुपर्दछ। त्यसका लागि गरिने प्रयत्नमा इन्तु, किन्तु, परन्तु गर्नुहुँदैन।

प्रक्रिया प्रधान समाजको निर्माण विना दिगो आर्थिक, राजनीतिक र सामाजिक विकास कठिन र महँगो हुन्छ भन्नेमा सामाजिक स्वीकारोक्तिलाई स्थापित गर्नुपर्दछ। त्यस्तो समाजले मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सक्दछ। खासमा, अर्थतन्त्र र राजनीति चलाउने समाज हो र त्यो समाज पहिला फुर्तिलो, चलायमान हुनुपर्दछ।

लेखक
डा. सन्जिब हुमागाईं

दक्षिण कोरियाको यान्से विश्वविद्यालयबाट अर्थराजनीतिमा विद्यावारिधि गरेका हुमागाईं त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयमा एमफिल तथा पीएचडी कार्यक्रममा राजनीतिशास्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त प्राध्यापन गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?