+
+
Shares

गुल्मीका सामुदायिक विद्युत् आयोजना प्राधिकरणमा हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते ११:२०

१ साउन, गुल्मी । सेवा प्रवाहमा समस्या भएपछि गुल्मीका विभिन्न सामुदायिक विद्युत् आयोजनाहरू क्रमश: नेपाल विद्युत् प्राधिकरण (नेविप्र)मा हस्तान्तरण हुन थालेका छन् ।

यसै क्रममा इस्मा गाउँपालिका–६ अमरपुर र मालिका गाउँपालिका–६ अर्जै क्षेत्रमा सञ्चालित अमरपुर अर्जै ग्रामीण सामुदायिक विद्युत् नेपाल विद्युत् प्राधिकरणमा हस्तान्तरणको प्रक्रियामा प्रवेश गरेको छ ।

सामुदायिक विद्युत् समितिका अध्यक्ष हिरा जिसी, सचिव भीमकान्त भट्टराई र कोषाध्यक्ष टोपलाल अर्यालले आवश्यक कागजातसहितको फाइल नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेललाई हस्तान्तरण गरेपछि विधिवत् रूपमा हस्तान्तरण प्रक्रिया अघि बढेको हो । हस्तान्तरण कार्यक्रममा इस्मा–६ का वडाध्यक्ष ढालबहादुर कुँवर, मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीसहित स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

दुवै वडाको सिफारिस, समितिको निर्णय, लेखापरीक्षण प्रतिवेदनलगायत आवश्यक कागजातहरू बुझाइसकेपछि अब प्राधिकरणको भेरिफिकेसनपछि अन्तिम रूपमै हस्तान्तरण प्रक्रिया सम्पन्न हुने गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरलेले बताए ।

ग्रामीण क्षेत्रका उपभोक्ताहरूले सेवा पाउन बारम्बार कठिनाइ भोग्नुपर्ने अवस्था देखिएपछि सामुदायिक विद्युत् प्रबन्धन टिकाउ हुन सकेन ।

यस प्रणालीअन्तर्गत यस क्षेत्रका १५२० ग्राहकले सेवा लिंदै आएका छन् । १० वटा ट्रान्सफर्मरसहितको संरचना र ६ जना कर्मचारी कार्यरत रहेको सामुदायिक विद्युत् प्रणालीलाई प्राधिकरणमार्फत थप व्यवस्थित र नियमित सेवा दिने लक्ष्य लिइएको हो ।

स्थानीयवासीका अनुसार प्राधिकरणमार्फत विद्युत् सेवा सञ्चालन भएमा बिलिङ, मर्मत तथा व्यवस्थापनमा पारदर्शिता आउने, सेवा गुणस्तरीय बन्ने र उपभोक्ता राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।

अन्य सामुदायिक विद्युत् सञ्चालनमा कठिनाइ भोगिरहेका उपभोक्ताहरूलाई पनि यही बाटो अनुकरणीय हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?