
१ साउन, काठमाडौं। आईएमई पे र खल्ती मर्जपछि बनेको ‘खल्ती बाई आईएमई’ ले बिहीबारदेखि कारोबार सुरु गरेको छ ।
आईएमई पे र खल्ती वालेट मर्ज भएर एक भएको कम्पनीले एकीकृत कम्पनी ‘आईएमई खल्ती’ का नामबाट कारोबार सुरु गरेको हो ।
एउटै एपमा समेटिएपछि साबिकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पूँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पूँजीले ‘खल्ती बाई आईएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।
मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने कम्पनीको अपेक्षा छ । यी दुई वालेट मर्जरमा जानुअघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।
ब्याज दिने एकमात्र वालेटका रूपमा चिनिएको आईएमई पे रेमिट्यान्स, इन्ड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो । त्यसैगरी खल्ती मुभी बुकिङ, इभेन्ट टिकेटिङ र आफ्ना इनोभेटिभ फिचरका कारण युवापुस्तामा रुचाइएको थियो ।
अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवा अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
साबिक आईएमई पे प्रयोगकर्ताका लागि खल्ती बाई आईएमई मा माइग्रेट हुने सुविधा छ । यस प्रक्रिया मार्फत आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरण नयाँ एपमा स्थानान्तरण हुनेछन् ।
खल्ती प्रयोगकर्ताले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्नेछन् । आईएमई पे आईएमई ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको थियो । अर्कातर्फ, चार जना सहसंस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्र्डलिंक, त्रिवेणी ग्रुप जस्ता कर्पोरेट लगानीकर्ता आबद्ध भएका थिए ।
आईएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्णप्रसाद शर्माले आईएमई पे र खल्तीबीचको मर्जरबाट बनेको आईएमई खल्तीले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पु¥याउने बताए ।
खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आईएमई खल्तीले देशभरि वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने बताए ।
आईएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजना रहेको जानकारी दिए ।
आईएमई पेले डिजिटल सर्भिस आइसीटी अवार्ड २०२४, एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स इन द फिनटेक क्याटागोरी २०२३ र चिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्ड प्राप्त गरेको छ ।
त्यस्तै खल्तीले डब्लूआईटीएसए ग्लोबल इनोभेसन एन्ड टेक एक्सिलेन्स अवार्ड २०२२, २०२३ र २०२४ मा देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक एनसीएचएलबाट लगातार २ वर्ष र नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा पुर्याएको योगदानको उच्च कदर स्वरूप सम्मान प्राप्त गरेको थियो ।
प्रतिक्रिया 4