
१ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले प्रवेश पाएको छ ।
पार्टी सचिव योगेश भट्टराईका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो विषयमा आवश्यक छलफल हुने बताएका हुन् ।
‘अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौं भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भनेपनि कुनै न कुनै बैठकमा छलफल हुन्छ’, भट्टराईले भने ।
एमाले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई आवश्यक जिम्मेवारी दिनेबारे पनि छलफल भएको उनले बताए । ‘फर्किन्छु भनेर आफ्नो सेवा सुविधा त्यागेर आइसकेपछि यो पार्टीको मामला भयो । उहाँ आउनुहुन्छ भने उचित स्थान पनि दिनुपर्ला।’ भट्टराईले पत्रकारहरुसँग भने ।
तर भण्डारीलाई जिम्मेवारी दिनेबारे उच्च तहमै छलफल हुनुपर्ने उनले बताए । ‘हाइ लेभलमा कुरा होस् भन्ने चाहना छ । त्यसपछि आवश्यक पर्यो भने सचिवालयमा छलफल गर्छौ, केन्द्रीय कमिटीमा छलफल गर्छौ’, भट्टराईले भने ।
विधान महाधिवेशनको एजेण्डा तय गर्ने एमालेमा आजबाट बैठक सुरु भएको छ । आजको सचिवालय पछि भोलि पोलिटब्यूरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बस्दैछ ।
प्रतिक्रिया 4