+
+
Shares

एमाले सांसद : समानुपातिकबाट पदाधिकारी, प्रत्यक्षबाट युवा

संसदीय इतिहासमै ठुलो पराजय बेहोरेको एमालेले समानुपातिकतर्फको नाम टुंग्याएसँगै २५ सांसदको सूची तयार भएको छ । सूची हेर्दा प्रत्यक्षतर्फ जितेर आउनेहरू युवा नेता र समानुपातिक कोटाबाट सांसद बन्नेहरू पदाधिकारीजस्तो बन्न पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते २१:४५

३० फागुन, काठमाडौ । नेकपा एमालेले समानुपातिकतर्फ पाउने १६ जना सांसदको नाम टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले बन्दसूचीमा रहेका नामहरूबाट १६ जना सांसदको नाम टुंगो लगाएको हो ।

नेताहरूका अनुसार बन्दसूचीमा रहेका नामहरूमध्ये समावेशी सिद्धान्तका आधारमा अन्तिम नाम टुंगो लगाएको हो । ‘बन्दसूचीमा भएका नाममध्ये छान्नुपर्ने थियो, थोरै सिट भएकाले धेरै छलफल गरिरहनु परेन,’ बैठक स्रोतले भन्यो, ‘बैठकमा प्रस्तुत नामहरूमा लगभग सबैको सहमति थियो ।’

मधेशी क्लस्टरको पुरुषतर्फको नाम छनोटमा उपमहासचिव रघुवीर महासेठले असहमति जनाएका थिए । तर उनको असहमतिबिच चण्डेश्वर मण्डलकै नाम सिफारिस भयो ।

खस-आर्य, आदिवासी-जनजातिजस्ता बढी प्रतिस्पर्धा हुने क्लस्टरमै एमालेका हाई-प्रोफाइल नेताहरू भएकाले पनि धेरै छलफल नभएको स्रोत बताउँछ ।

‘सूचीको पहिलो नम्बरमै पार्टीका पदाधिकारीहरू बस्नुभएको छ,’ स्रोत भन्छ, ‘उहाँहरू आफै भएको बैठकमा विकल्पबारे कुरा हुने भएन ।’

शनिबार गुण्डुमा बसेको नेकपा एमालेको सचिवालय बैठक

आदिवासी-जनजाति पुरुषतर्फ पहिलो नम्बरमा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ थिए । त्यसैले उनी सांसद सिफारिस भए । ०७७ मा तत्कालीन नेकपा विभाजन हुँदा ओलीलाई रोजेका बादलले त्यसयता लाभको पद पाएका थिएनन् । यसपटक पनि प्रत्यक्षतर्फ निर्वाचन लड्ने मनस्थिति नबनाएपछि बादललाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखिएको थियो । एमालेले उनीसहित कुलभक्त शाक्यको नाम समानुपातिक सांसदमा सिफारिस गरेको छ ।

खस-आर्य पुरुषतर्फ एमालेका पूर्वउपाध्यक्ष गुरु बरालको नाम एक नम्बरमा थियो । लगातार २६ वर्षदेखि निर्वाचन हारिरहेका बराल ओलीको विश्वास पात्र भएकाले उनको नाम पनि समानुपातिक सांसदमा सिफारिस गरिएको छ ।

यो क्लस्टरबाट अर्का उच्च तहका पदाधिकारी नै सांसद बन्दैछन् । एमाले लेखा आयोगका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पुष्प कँडेलको नाम समानुपातिक सांसदमा सिफारिस गरिएको छ ।

खस-आर्य महिलातर्फ पार्टीका सचिव पद्या अर्याल सांसद बन्ने भएकी छन् । दोहोरिएर सचिवको भूमिकामा रहेकी उनको नाम यो क्लस्टरको एक नम्बरमा थियो । त्यसैले उनी सांसद बन्दैछन् । यो क्लस्टरबाट अर्यालसँगै टुकाभद्र हमालको नाम सिफारिस छ ।

९ जना जित्ने मध्येका बाँकी सांसद पनि तुलनात्मक कम उमेरका छन् ।

आदिवासी–जनजाति महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठको नाम टुंग्याइएको छ । सुब्बा जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष हुन्, भने श्रेष्ठ एमाले बागमती प्रदेश कार्यालय सचिव हुन् ।

एमालेले थारु पुरुषबाट कृपाराम राना, दलित महिलाबाट बिष्णुमाया बिके र नीता घतानी, मधेशी महिलाबाट रिङ्ला यादव र यशोधाकुमारी यादव र मुस्लिम महिलाबाट साजिदा सिद्दीकीको नाम छनोट गरिएको छ ।

संसदीय इतिहासमै ठुलो पराजय बेहोरेको एमालेले समानुपातिकतर्फको नाम टुंग्याएसँगै २५ सांसदको सूची तयार भएको छ । उक्त सूची हेर्दा प्रत्यक्षतर्फ जितेर आउनेहरू युवा नेता र समानुपातिक कोटाबाट सांसद बन्नेहरू पदाधिकारीजस्तो बन्न पुगेको छ ।

प्रत्यक्षतर्फ निर्वाचन लडेका सबै पदाधिकारी पराजित हुँदा केन्द्रीय सदस्यहरू सुहाङ नेम्वाङ, क्षितिज थेबे, ऐन महर र मोहम्मद इस्तियाक राईले जितेका छन् । उमेरले सुहाङ ३६, क्षितिज ३८, ऐन ४१, इस्तियाक ४६ वर्षका छन् ।

९ जना जित्ने मध्येका बाँकी सांसद पनि तुलनात्मक कम उमेरका छन् । यज्ञबहादुर बोगटी ५०, गणेशसिंह ठगुन्ना ५७, राजेन्द्र राई ५९, अर्जुनकुमार कार्की ६२ र लक्ष्मीप्रसाद पोखरेल ६३ वर्षका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?