
१ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी प्रणाली बुझेकोले उनी प्रणालीबाटै आउने बताएका छन् ।
पार्टी सचिवालय बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले पार्टी प्रणाली अन्तर्गत नै भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्ने बताए ।
भण्डारीले पार्टीमा फर्किनुको उद्देश्य र गन्तव्य पार्टीमा प्रष्ट पार्ने उनले बताए । ‘उहाँको फिर्तीको गन्तव्य के छ र के चाहनुभएको छ, किन र केका लागि आउन खोज्नुभएको छ, त्यो पार्टीमा उहाँले प्रस्ट बनाउनु होला,’ उनले भने ।
एमाले पार्टी स्थापनामा भण्डारीको भूमिका ठूलो रहेकोले उनले बताए । ‘एमाले स्थापनामा उहाँको ठूलो भूमिका छ। उहाँ जत्तिको मान्छेले पार्टीको प्रणालीबाटै जानुहुन्छ‘ उनले भने, ‘हामी यसलाई सम्मानजनक ढंगले सेटल गर्छौं, एमालेसँग त्यो क्षमता छ।‘
भण्डारीले पार्टीमा फर्किन्छु भनेर सबै सेवा सुविधाहरू त्यागेर आइसकेपछि अब यो पार्टीको मामिला भएको उनले बताए । ‘पार्टीमा छलफल गर्छौं। उहाँ आउनुहुन्छ पार्टीमा सक्रिय हुनलाई भने उहाँलाई उचित स्थान पनि दिनुपर्ला। उहाँको सम्मानजनक ठाउँ हामीले खोज्नुपर्ला,’ उनले भने ।
भण्डारीको राजनीतिमा फिर्तीबारे अध्यक्षले नै बढी संवाद गरेर मिलाऊन् भन्ने एमाले नेताहरूको चाहना रहेको भट्टराईले बताए ।
‘अध्यक्षले त्यस विषयमा पार्टीभित्र आवश्यक पर्यो छलफल गरौं भन्नुभएको छ। अब आजको बैठकमा भ्याइएन भने पनि कुनै न कुनै बैठकमा छलफल हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4