
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान संशोधन मस्यौदामा पोलिटब्युरो सदस्यहरूलाई गम्भीरतापूर्वक बहस गर्न सार्वजनिक रूपमा आग्रह गरेका छन् ।
- एमालेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ।
- सचिवालयबाट पारित प्रस्ताव पोलिटब्यूरो र केन्द्रीय कमिटीबाट निर्णय भएमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशन प्रतिनिधि बन्न नपाउने देखिन्छ।
२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्न पोलिटब्युरो सदस्यहरूलाई सार्वजनिक रूपमै आग्रह गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै पोखरेलले सचिवालय बैठकमा यसबारे गम्भीरतापूर्वक छलफल भएको उल्लेख गर्दै पोलिटब्युरो र केन्द्रीय समितिमा पनि परिमार्जन गर्नेगरी छलफल गर्न आग्रह गरेका हुन् ।
‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो’ उनले भनेका छन्, ‘आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ ।’
उनले थपेका छन्, ‘पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनुहुनेछ ।’
एमालेको सचिवालय बैठक विहीबार राति मध्यरातसम्म चलेको थियो । पोलिटब्युरो बैठक सारे शुक्रबार ३ बजेका लागि बोलाइएको छ ।
विहीबार बसेको एमालेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
साथै, दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू मात्रै आगामी भदौमा हुने विधान महाधिवेशन प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ ।
बैठकमा पोखरेल लगायतका केही नेताहरूले यसमा फरक मत राखेका छन् ।
सचिवालयबाट पारित भएको यो प्रस्ताव अब पोलिटब्यूरो र केन्द्रीय कमिटीबाट पनि निर्णय भएमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशन प्रतिनिधि बन्न नपाउने देखिन्छ ।
प्रतिक्रिया 4