
२ असार, काठमाडौं । समाज डेण्टलले गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा गरेको छ ।
समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको पहुँच भन्ने उद्देश्यसहित सो घोषणा गरेको बताए ।
उनले संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै विशिष्टिकृत स्वास्थ्य सेवा प्रदानमा प्रतिबद्ध रहेको पनि बताए ।
उनका अनुसार विसं २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरी कूल १० स्थानमा सेवा दिइरहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा उपचार सेवा विस्तार गर्ने लक्ष्य लिएको जानकारी गराए ।
यो रकम बराबरको उपचार सेवाले गरिब तथा विपन्न नागरिकको दन्त उपचारका लागि सहयोग गरिने उनको भनाइ छ ।
यस्तै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ को विकास र प्रवर्द्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनुपर्नेमा जोड दिए ।
आइतबार वार्षिकोत्सव उद्घाटन गर्ने क्रममा मन्त्री पौडेलले मेडिकल टुरिजमलाई आकर्षित गर्नका निम्ति आँखा, दाँत उपचारको विश्वसनियता अझ बढी बढाउनुपर्ने खाँचो औंल्याए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेलेले अस्पतालको सेवालाई देशभर विस्तार गर्ने योजना रहेको बताए ।
प्रतिक्रिया 4