
३ साउन, नारायणगढ (चितवन) । सतह सिंचाइको व्यवस्था नभएको ९ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक व्यवस्थामार्फत सिंचाइ पुर्याइएको छ ।
जिल्ला भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजनाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा र मकवानपुरमा वैकल्पिक व्यवस्थामार्फत सिंचाइ पुर्याइएको हो ।
आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीका अनुसार चितवनमा चार सय हेक्टर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा चार सय हेक्टर र मकवानपुरमा एक सय हेक्टर क्षेत्रफलमा डिपट्युबेल निर्माण सिँचाइको व्यवस्था गरिएको हो ।
‘गत आर्थिक वर्षमा सिँचाइका लागि ५० वटा डिपट्युबेल निर्माण सुरु गरिएको थियो । तीमध्ये ४६ वटा निर्माण सम्पन्न भएका छन् भने बाँकी निर्माणाधीन छन् । यी आयोजनाहरू सम्पन्न गर्न हालसम्म ३५ करोड खर्च भइसकेको छ’, उनले भने ।
निर्माण गरिएका ट्युबेलमध्ये नवलपरासीमा १८, चितवन २३ र मकवानपुरमा पाँच वटा रहेका इञ्जिनियर केसीले जानकारी दिए ।
चितवनमा २९ वटा ट्युबेल निर्माण गर्ने योजनाअनुसार काम गरिएको भन्दै केही निर्माणाधीन रहेका उनले बताए । ‘सतह सिँचाइको सुविधा नभएका ठाउँमा भूमिगत सिँचाइको व्यवस्था गरिएको हो,’ उनले भने ।
कार्यालयले अघिल्लो आर्थिक वर्षसम्म चार हजार ३०० हेक्टर क्षेत्रफलमा सिंचाइको व्यवस्था गरेको थियो । गत आर्थिक वर्षको उपलब्धिसँगै हालसम्म पाँच हजार २०० हेक्टर क्षेत्रफलमा सिंचाइको सुविधा पुर्याइएको कार्यलयले जनाएको छ ।
प्रतिक्रिया 4