News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली यू-२० महिला फुटबल टोलीले साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ।
- हाल बंगलादेश ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ जित र १ हारसहित १२ अंकसहित दोस्रो स्थानमा छ।
- नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ।
४ साउन, काठमाडौं । नेपाली यू-२० महिला फुटबल टोली साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको थियो ।
अब नेपालले घरेलु टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ र यो नेपालका लागि फाइनल जस्तै हुनेछ । राउण्ड रोविन लिगको अन्तिम खेल भएपनि नेपालका लागि भने यो अघोषित फाइनल नै हुनेछ ।
किनभने बंगलादेशलाई पछि पार्दै च्याम्पियन बन्नका लागि नेपाललाई जितको विकल्प छैन । बंगलादेश भने बराबरीले मात्र पनि च्याम्पियन बन्नेछ ।
हाल बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले खेलेको पाँचवटै खेल जितेको छ । यस्तै नेपालले ४ जित र १ हराबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलंकालाई दुई-दुई खेलमा पराजित गर्दा बंगलादेशसँग भने पराजित भएको थियो ।
अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले ३ अंक बढी जोडेको छ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ । त्यसो भएमा नेपालले बंगलादेशलाई भेट्टाउने छ । यस्तोमा च्याम्पियन बन्न गोल अन्तर निर्णायक हुनेछ ।
५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले २४ गोल गरेको छ । दुवै टिमले समान ४ गोल व्यहोरेका छन् । नेपाल र बंगलादेशबीच हेड टु हेडमा बंगलादेशले पहिलो खेल ३-२ ले जितेको थियो । अहिलेसम्म बंगलादेश हेड टु हेडमा पनि अघि छ र हेड टु हेड गोलअन्तरमा पनि एक गोलले अघि छ ।
यदि नेपालले अन्तिम खेलमा बंगलादेशलाई दुई गोल अन्तरले पराजित गर्न सकेमा स्वत: च्याम्पियन बन्नेछ । यदि नेपालले एक गोल अन्तरले बंगलादेशलाई हराएमा दुवैको अंक बराबर हुनेछ भने हेड टु हेडमा पनि गोल अन्तर बराबर हुनेछ । यस्तोमा गोल अन्तर हेरिनेछ ।
नेपालले एक गोल अन्तरले मात्र जितेपनि समग्रमा नेपालको गोल अन्तर धेरै हुनेछ । त्यसैले अन्तिम खेल नेपालका लागि ‘डु अर डाई’ (गर या मर) नै हुनेछ ।
नेपालले यसअघि भुटानलाई पहिलो खेलमा ६-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । त्यसयता नेपालले लगातार तीन खेल जित्दा कुनै गोल बेहोरेको छैन । श्रीलंकालाई दुवै खेलमा ७-० ल पराजित गरेको नेपालले पछिल्लो खेलमा भुटानलाई ८-० ले हराएको थियो ।
उता बंगलादेशले श्रीलंकालाई पहिलो खेलमा ९-१ ले हराउँदै सानदार सुरुवात गरेको थियो । बंगलादेशले तीनवटै विपक्षीसँग गोल खाएको छ । दोस्रो खेलमा नेपाललाई ३-२ ले र तेस्रो खेलमा भुटानलाई ४-१ ले हराउँदा बंगलादेशले गोल खाएको हो । त्यसपछि बंगलादेशले भुटानलाई ३-० र श्रीलंकालाई ५-० ले पराजित गरेको थियो ।
नेपाली टोलीका कप्तान बिर्सना चौधरीले च्याम्पियन बन्नकै आएको र च्याम्पियन बनेर नै नेपाल फर्कने लक्ष्य रहेको सुनाएकी छन् । ‘टिमवर्कले जित्ने हो । मिहिनेत गरेर खेले जितिन्छ, बिर्सनाले भुटान विरुद्धको पछिल्लो खेलमा ८-० को जित हात पारेपछि भनिन्, ‘हाम्रो लक्ष्य भनेकै च्याम्पियन बनेर जाने हो ।’
बिर्सनाले बंगलादेश विरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताइन् । ‘हामीले उनीहरूलाई कमजोर नठानी प्रतिस्पर्धा गर्नुपर्छ । यसअघि उनीहरूले २ गोल गर्दा पनि हामीले फर्काउन सक्यौँ । भुटानसँग जस्तै खेल्न सके हामीले बंगलादेशलाई जित्न सक्छौँ ।’
बंगलादेशविरुद्ध बदला लिने लक्ष्य
यसअघि लिग चरणमा नेपाल बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । उक्त खेलमा नेपालले पहिलो हाफमै दुई गोल बेहोरेको थियो । तर दोस्रो हाफमा रातो कार्डले खेल परिवर्तन गर्दा नेपालले दुई गोल फर्काएको थियो । दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएपछि खेलको अवस्था फेरियो । नेपालले लगातार दुई गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएको थियो ।
तर अन्तिम समयमा नेपाल सम्हालिन सकेन । इन्जुरी टाइमको पनि अन्तिम मिनेटमा नेपालले गोल खाएपछि हार बेहोर्न बाध्य भएको थियो । त्यसबेला ७ मिनेटको इन्जुरी टाइम थप गरिएपनि ११ मिनेटको खेल भएको थियो ।
नेपाली यू-२० महिला टिमका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले बंगलादेशविरुद्धको पहिलो खेलको विश्लेषण गरेर अन्तिम खेलमा रणनीति बनाउने बताएका छन् ।
‘अन्तिम खेल महत्वपूर्ण छ । यसअघि बंगलादेशसँग दुई गोल कसरी खायो । के गल्ती भयो त्यो अध्ययन गरेर नयाँ रणनीति बनाउनेछौं’ गुरुङले भनेका छन् । गुरुङले स्ट्राइकिङ लाइनमा केही परिवर्तन गर्ने संकेत देखाएका छन् ।
विशेषगरी नेपालका लागि पूर्णिमा राई र मिना देउबाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यस्तै सेनु परियार, वर्षा ओली, सुक्रिया मियाले पनि उनीहरूलाई राम्रो साथ दिइरहेका छन् ।
नेपाली टोलीका कप्तान मिडफिल्डर बिर्सना चौधरीले पनि नेपालको बलियो पक्ष स्ट्राइकर रहेको र अन्य क्षेत्रमा केही सुधार गर्नुपर्ने बताएकी छन् । ‘हाम्रो स्ट्राइकर राम्रो छ । मिडफिल्डमा डिफेन्समा अली काम गर्नुपर्नेछ’ बिर्सनाले भनेकी छन् ।
कप्तान बिर्सनाले पनि प्रशिक्षकले भनेजस्तै यसअघि बंगलादेश विरुद्ध खेल्दा भएको गल्तीलाई सुधार गर्दै अन्तिम खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने बताएकी छिन् ।
नेपाल र बंगलादेशबीच अन्तिम खेल सोमबार ढाकास्थित बसुन्धरा किंग्स एरेनामा साँझ पौने ७ बजे हुनेछ ।
प्रतिक्रिया 4