
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको एक विकट गाउँमा जन्मिएका युवकले कठिनाइ पार गर्दै १२ कक्षा उत्तीर्ण गरी विदेश जानको लागि साइप्रस पुगे।
- साइप्रसमा वैध–अवैध आप्रवासीको भीड र रोजगारको प्रतिस्पर्धा हुँदा उनी अनौपचारिक क्षेत्रमा न्यून वेतनमा काम गर्न बाध्य भए।
- अदालतले उनलाई नेपाल फर्काउने निर्णय गरेपछि उनी जेल गए र अनुभवले आत्मबोध गराए, अहिले पुनः युरोप यात्राको तयारी गर्दैछन्।
नेपालको एक विकट गाउँमा जन्मिएँ जहाँ आधारभूत पूर्वाधारहरू अत्यन्त सीमित थिए। बाल्यकालदेखि नै कठिनाइबीच हुर्किएँ। विद्यालय जान लामो दूरी पार गर्नुपर्ने हुन्थ्यो। बाटोघाटो पनि खासै राम्रो थिएन। पहाडको उकाली-ओराली पार गर्दै विद्यालय पुग्थें। कठोर परिस्थितिहरूका बीच मैले जसोतसो १२ कक्षा उत्तीर्ण गरें।
मध्यमवर्गीय परिवारमा जन्मिएकाले बाल्यकालमा मलाई ठूला सपना देख्ने आँट थिएन। तर समयसँगै चेतना र आकांक्षाहरूले आकार लिन थाले। एकदिन म गाउँ नजिकको एउटा चिया पसलमा बसेको थिएँ। त्यहाँ पाखा-पखेराका केही वृद्ध मानिसहरू चिया खाँदै गफ गरिरहेका थिए। उनीहरू कसैको छोरा विदेशमा बसेर धेरै पैसा कमाएको, ठूलो घर बनाएको, शहरमा जग्गा किनेको जस्ता कुरा गरिरहेका थिए। ती कुराहरूले मेरो मनलाई गहिरो प्रभाव पार्यो। मलाई पनि लाग्यो, ‘म पनि विदेश जानै पर्छ।’
उही सोच बोकेर म साँझतिर घर फर्किएँ। घर आइपुग्दा आमाले भान्सामा बोलाउनुभयो। खाना खाँदै गर्दा मैले बाबुआमासँग विदेश जाने इच्छा व्यक्त गरें। बाबु अलमल्ल परे जस्तो देखिनुभयो भने आमाले भन्नुभयो, ‘किन जानुपर्यो विदेश? यहीं काम गरे पनि त हुन्छ नि!’ तर मेरो मनमा त विदेश जानुपर्ने कुरा खट्किसकेको थियो।
भोलिपल्ट बिहान बाबुले मलाई बोलाउनुभयो, ‘सुइके, एता आइज। भन त, के भनेको रे?’ मैले भनें, ‘बुवा, म पढ्न विदेश जान्छु।’ बुवाले तुरुन्तै भन्नुभयो, ‘जा न त!’ त्यो छोटो वाक्यले मेरो हृदयमा गहिरो उत्साह र आशा भरिदियो। मलाई लाग्यो, अब मेरो जीवनले नयाँ मोड लिनेछ।
गाउँको कठोर जीवन, अभाव र मानसिक दबाबहरूले मलाई जीवनमा केही गरौं भन्ने दृढ निश्चय दिलाएको थियो। यही प्रेरणाले म राजधानी काठमाडौंतिर लागें। त्यहाँ म मेरो सपना साकार पार्ने र परिवारको जीवनमा परिवर्तन ल्याउने लक्ष्य सहित पुगेको थिएँ। काठमाडौंको जीवन मेरो लागि नयाँ भए पनि त्यहींबाट मैले सम्भावनाहरू खोज्न थालें।
बागबजार, डिल्लीबजार, बानेश्वर लगायतका विभिन्न कन्सल्टेन्सीहरूमा परामर्श लिन थालें। विभिन्न विकल्पहरूको खोजी गर्दै थिएँ। त्यही क्रममा मैले साइप्रस देशको बारेमा जानकारी पाएँ।
मैले गुगल मार्फत साइप्रसबारे खोजी गरें, साथीभाइहरूलाई सोधें, अनुभवहरू संकलन गरें। आश्चर्यजनक रूपमा साइप्रसमा मेरा नाता पर्ने एक जना आफन्त पनि सम्पर्कमा आउनुभयो। उहाँसँग सम्पर्क भएपछि मेरो सम्भावित यात्राले ठोस रूप लिन थाल्यो। उहाँकै सहयोगमा मैले आवश्यक सबै कागजातहरू तयार पार्न थालें। यसरी मेरा सपना, संघर्ष र प्रयत्नको परिणामस्वरूप मेरो साइप्रस यात्राको ढोका खुल्यो।
स्नातक पढ्न भनी सन् २०१८ को जून महिनामा साइप्रस उत्रिएँ। युरोप पुग्ने अधिकांश नेपाली विद्यार्थीको जस्तै हाम्रो पनि पढाइ कम तर काम गरी कमाइ गरेर यता आउँदा लागेको खर्च तिर्नुपर्ने बाध्यता थियो। तर विडम्बना यस मुलुकमा वैध–अवैध आप्रवासीको यति ठूलो भीड थियो कि यहींका रैथाने नागरिकहरूभन्दा आप्रवासीहरूको जनसङ्ख्या धेरै थियो।
देशमा म जस्ता लाखौं युवा छन् जसले सपना देख्छन् तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी कसैले चिन्दैन। यस्तो अवस्थामा यस मुलुकले कति विदेशीलाई रोजगारी दिन सक्छ र! त्यसैले यहाँ रोजगारीका अवसरहरूमा असाध्यै ठूलो प्रतिस्पर्धा छ। त्यसमाथि त्यस मुलुकले युरोपेली युनियन बाहेकका तेस्रो देशहरूबाट आउने विदेशी विद्यार्थीलाई अत्यन्त कठिन र फालिएका कामहरू मात्रै गर्ने अनुमति दिएको थियो। तर त्यसमै पनि चर्को शोषण र मारामारी छ।
नेपाललगायत दक्षिणएशियाबाट आउने अधिकांश विद्यार्थी अनौपचारिक क्षेत्रको‚ विना रोजगार सम्झौताको‚ विना श्रम करारको र विना रोजगार बीमाको दयनीय काम गर्न बाध्य थिए।रोजगार शर्तनामा विनाको काम गर्नुपर्ने हुनाले जतिखेर पनि जागिर खुस्किने भयले अत्यन्त न्यून वेतनमा पनि काम गर्नुपर्ने बाध्यता थियो।
हुन त यहाँको श्रम कानूनले तेस्रो मुलुकका विदेशी विद्यार्थीलाई दैनिक चार घण्टाभन्दा बढी काम गर्ने अनुमति दिंदैन तर शोषक साहुहरूले दैनिक चौध-पन्ध्र घण्टा काम लगाएर बढीमा बीस-पच्चीस युरो मात्र दिन्छन्। फेरि काम पाएको खुशीमा कलेजको पढाइ समेत माया मारेर हामी नेपाली बहादुरहरू हौसिंदै काम गर्न बाध्य छौं।
पर्यटकीय सिजनमा यहाँ यति धेरै अल्पकालीन कामदारहरू आवश्यक हुन्छन् कि सामान्य अङ्ग्रेजी जान्ने मान्छेले पनि पर्यटकीय शहरहरूमा दिनको चालीसदेखि पचास युरो मजाले कमाउँछ भनेर हामीले धेरै हल्ला सुनेका थियौं। धेरैका मुखबाट त्यही सुनिन्थ्यो‚ ‘निकोसिया बसेर तिमीहरू काम पाउँदैनौं, जाओ पाफोस आयनापा पारालिम्नी लिमासोल।
कामै काम खुल्छ त्यहाँ अब।’ त्यसैले हामी एकाबिहानै निकोसियाको सोलोमस बस टर्मिनलमा एक-एक युरोमा बेच्न राखिएका स्यान्डविच झोलामा कोचेर कामको यात्रामा हिंडेका थियौं। यहाँ बसमा खानेकुरा खाने अनुमति हुँदैन। सानो टापु भएको हुनाले राजधानी निकोसियादेखि टाढा भनिएका शहरहरूसम्म पनि दुई साढे दुई घण्टा जतिमै पुगिहालिन्छ। तर नयाँ शहरमा खानेकुरा पाइने ठाउँहरू भेट्न गाह्रो हुन्थ्यो। यात्राका क्रममा स्यान्डविचहरू निकोसियामै किनेका थियौं।
नेपालमा जस्तो हरेक गल्लीमा घरैपिच्छे खानेकुरा बेच्चे पसलहरू हुँदैनन् यहाँ। हामी चढेको बस राजधानी निकोसियाबाट लार्नाकासम्म सिधै दक्षिण गुड्यो र अहिले भने भूमध्य सागरसँगै समानान्तर रहेको तर सागरभन्दा केही पर लमतन्न पसारिएको भव्य राजमार्गमा पूर्वतर्फ सोझियो।
राजमार्गको दुवैतर्फ सम्म जमिनको विस्तृत फैलावट छ। बस बाहिर गर्मी चर्को छ। उफ्! यस देशमा गर्मी कहिलेकाहीं त ४५ डिग्रीभन्दा माथि पनि पुग्छ। गर्मीका दिन आइसके। किसानलाई खेती बाली थन्क्याउने चटारो हुन्थ्यो। त्यो दूरी पार गरिसकेपछि त्यही पर समुद्र छ जहाँबाट फाँटतिर हेरिरहन मन लाग्छ। किनकि समुद्र यात्रा पहिलो थियो र त्यहाँ सबै जना नुहाइधुहाइ गरेर हाम्रो योजना काम खोज्नु थियो जुन कामको लागि होटल र पसलमा गैर कामको बारेमा सोधपुछ गरेको आजै जस्तो लाग्छ।
त्यो देश र हाम्रो देश तुलना गरिरहन मन लाग्छ। धेरैजसो खेतबारीमा गहुँ काटिइसकेका छन्। मेसिनले गहुँका नल यति राम्रोसँग रोल गरेर थुपारिएको छ कि त्यसकै फोटो खिचुँखिचुँ लाग्ने। कतैकतै ठूल्ठूला ग्रीन हाउसभित्र तरकारी खेती गरिएको पनि देखिन्छ। फार्ममा काम गर्न भनेर साथीहरू कुद्थे सायद यतै पो हो कि म सम्झिन्छु।
विचरा एक जना साथीले फार्ममा काम गर्ने भनेर तरकारी खेतीकै काम त होला भनी हिंडेर निकोसियाबाट गएछ तर भेडाको ठूलो फार्ममा काम पाएछ, त्यो पनि एकलास ठाउँमा। चर्को गर्मी‚ भेडा चराउन जाँदा पानी समेत नापी नापी पिउनुपर्ने।
जङ्गली कुकुर वा स्यालले भेडा खाइदियो भने साहुको गोदाइ खानुपर्ने। भेडाका पछि लाग्दालाग्दै गर्मीले पसिनै सुक्ने। साहुले शहरबाट ल्याइदिएको खानेकुराले हप्तादिन पुर्याउनुपर्ने। बिचरा त्यहाँबाट भागेर प्रलय गर्मीमा चार–पाँच घण्टा हिंडेर लार्नाका निस्केर बस पक्रेर निकोसिया आइपुगेको थियो।
म बुझ्दछु, जिन्दगी हारजितको खेल मात्र होइन, अर्थको खोज पनि हो। मन भित्र अनेकौं सपना बोकेका भारीले कहाँ सुत्न दिन्थ्यो र! ती यात्राहरूमा अनेकौं दुःख–सुख भोग्दै पाइला पाइलामा ठेस लाग्दै, लड्दै, उठ्दै, कहिले हौसिंदै, कहिले निराश हुँदै यात्राहरू पार गरेका थिए।
कति अचम्मको छ यो जिन्दगी पनि! जबसम्म सास छोडिंदैन तबसम्म यी यात्रा गरिरहनुपर्ने, चाहे दुःखमा होस्, चाहे सुखमा जसरी पनि जीवन बिताउनुपर्ने हुन्छ। न त समयबाट टाढा जान सकिन्छ, न त यो जीवनबाट नै। कति अजीव छ है जीवन! जीवन हो, हार मान्नुहुँदैन भनेर साथीभाइसँग जागिरको लागि सम्पर्क गरेको थिएँ।
एकदिन साथीले घरको छानोमा काम गर्छौ भन्दा ‘हुन्छ’ भनें। मेरा लागि सबै जना नौला थिए तर काम गर्ने नै हो के भो र भन्दै मन बुझाएँ। जीवन सास रहुन्जेल सिकाइ नै त हो भनेर काम गर्न गएँ। यसरी कहिले घर बनाउने, कहिले गाई फार्म, कहिले बगैंचा सफा गर्ने, यस्तै उस्तै जेसुकै काम गरेर जीवन जसोतसो चलिरहेको थियो। केही समयको अन्तरालपछि मैले एउटा पसलमा काम पाएँ, जहाँ मैले नेपाल फर्कनुभन्दा अघिसम्म गरेको थिएँ।
हामी परदेशीका यहाँ सुखका भन्दा दुःखका कथा धेरै छन्। त्यो मुलुक युरो जोनमा सहभागी नहुँदै, जतिबेला यहाँ पाउण्ड मुद्रा चल्थ्यो, त्यतिखेर साइप्रस पसेका नेपालीहरूले समेत त्यस्तो उल्लेख्य प्रगति गरेको देख्दिनँ यहाँ।
बरु न नेपाल जान सक्थे, न खुलेर आफ्नो अवस्था कसैलाई सेयर गर्नसक्ने अवस्थामा बसेको देख्छु। कोही नेपाली फिलिपिनो हाउसमेडसित माया जालमा परेछ‚ बिहे गरेछ‚ बच्चा जन्मेछ‚ फिलिपिनो केटी अर्कैसँग हिंडिदिइछ‚ त्यो बच्चा एकल पितासँग हुर्केछ।
न ऊ बाबुको नेपाली भाषा जान्दछ, न त आमाको फिलिपिनी भाषा सिक्न पायो। हुर्किंदै जाँदा पितापुत्रबीच सञ्चारको यति ठूलो खाडल देखिन्छ कि त्यसलाई अब कुनै पनि सांस्कृतिक कुराले पुर्न सक्दैन। यस्ता विरक्त लाग्दा कहानी यत्रतत्र छन् साइप्रसमा बसेका नेपालीका।
काम मिल्यो र म पनि भूमध्य सागरकै हावापानीमा रत्तिएँ भने मेरो जिन्दगी पनि यस्तै त हुने होइन! मलाई बसबाट देखिएका लमतन्न खेतका फाँटहरू, गाई, भेडा पाल्ने फार्महरू हेर्दा यस्तै कुरा मनमा खेल्छ। एकचोटि किन नेपालमा नगरेको होला?
हाम्रो बस्ने घर सडकको छेउमै थियो, जहाँ हामीभित्रका प्रत्येक आवाजहरू सडकमै सजिलै सुनिन्थे। म सधैं जस्तै रातको १२ बजे कामबाट फर्किएर कोठामा आइपुग्थें। जीवन दिन प्रतिदिनको नियमिततामा थलिएर बगिरहेको थियो।
एक साँझ, थकित शरीर लिएर म पल्टिएको थिएँ र मोबाइलमा ‘पब्जी’ खेलिरहेको थिएँ। खेलमा मडारिएको उन्मादमा म अंग्रेजीका ‘सुटआउट’, ‘किल हिम’ जस्ता शब्दहरू बोलिरहेको थिएँ। ती शब्दहरू मेरो चेतनाबाट नभई, खेलको आवेगबाट निस्किएका थिए।
त्यसबेला घरको छेउबाट हिंडिरहेको एक अपरिचित व्यक्तिले ती आवाजहरू सुनेछन् र प्रहरीलाई खबर गरिदिएछन्। त्यस घडी म गर्मीले थलिएको शरीर लिएर बनियान र कट्टु लगाएर पल्टिरहेको थिएँ। केही समयमै करिब १०-१२ जना प्रहरीहरू एक्कासी हाम्रो कोठामा पस्न आइपुगे। प्रहरी अधिकृतको स्वर चिसो र कठोर थियो, ‘तिमीहरूसँग लागूपदार्थ र बन्दुक छन् भन्ने सूचना आएको छ, के तिमीहरू त्यसको कारोबारमा संलग्न हौ?’
त्यो प्रश्नले हामी सबै स्तब्ध भयौं। डरले अनुहार मलिन भएको थियो, एकअर्कासँग नजर जुधाउँदै हामी चुप लाग्यौं। प्रहरीले सम्पूर्ण कोठाको खानतलासी गर्यो तर केही भेटिएन। त्यसपछि उनीहरूले हाम्रा कागजात मागेर जाँच गर्न थाले। सबै प्रक्रिया पूरा भएपछि हामीलाई तल झारियो।
हामी एकअर्कासँग कानेखुसी गरिरहेका थियौं, के भयो, कसले गर्यो? केहीबेरपछि प्रहरीले फेरि आएर भने, ‘तपाईंहरू प्रहरी चौकी जानुपर्छ।’ हामीलाई त्यही रात प्रहरी चौकी लगियो र सोधपुछ गरियो। हाम्रो शरीरमा केवल चप्पल र कट्टु मात्र थियो, लाज र विवशताको आवरणमा बस्न बाध्य थियौं।
त्यसपछि हामीविरुद्ध कानूनी प्रक्रिया प्रारम्भ भयो। हामी निकोसियामा बस्दथ्यौं तर हाम्रा पाइलाहरू लिमासोलको जेलसम्म पुर्याइए। जेल पठाउनु अघि हामीलाई फेरि निरीक्षण गरियो, हातमा एउटा ब्लाङ्केट र सिरानी थमाइयो। जेलभित्र पस्नासाथ समयको घडी जस्तै जीवन स्थिर भयो, न निद्रा, न आराम, न आत्मशान्ति! त्यहाँ पुगेर मैले पहिलोपटक जेलको हावा अनुभूत गरें, जहाँ मान्छेले आफ्ना पापहरूको गन्ध आफैंमा महसुस गर्छ। ऐनामा झल्किएको अनुहार जस्तै, म आफ्नो दोष र निर्णयहरूको परिणामसँग आमनेसामने उभिएको थिएँ।
त्यहाँ मैले केही नेपालीलाई भेटें। कोही भर्खरै आएका, कोही पुरानैदेखि थुनामा थिए, कोही शरणको आशामा पर्खिरहेका थिए। सबैका अनुहारहरूमा एउटै कथा थियो, बेरोजगारी, पारिवारिक आशा, परदेशी जीवनको तनाव र आत्मसम्मानको संघर्ष। ती प्रत्येक अनुहारहरूमा मैले आफ्नो प्रतिविम्ब देख्न थालें, म पनि त तीमध्ये एक हुँ, केवल बच्नका लागि बाहिर निस्केको एउटा सपना !
यद्यपि म आफूलाई निर्दोष ठान्थें तर नियति र कानून दुवै मेरो विपक्षमा थिए। मेरा कागजात अधुरा थिए र त्यो अधुरो कागजले मेरो सम्पूर्ण पहिचानलाई अयोग्य घोषित गरिदियो। केही सातापछि अदालतले मलाई नेपाल फर्काउने निर्णय गर्यो। त्यो निर्णय कुनै छुटकारा थिएन, त्यो एक किसिमको अस्वीकृति थियो जसले मलाई मेरो विफलताको कठोर यथार्थमा फर्काइदियो।
निर्णय आएको दिन, हामी सबैका अनुहारमा मौन आँसुहरू थिए। त्यही बन्द कोठामा, जहाँ न शब्द थिए, न त सम्झाउन सकिने भाषा, केवल पश्चात्तापका छायाँहरू थिए। भोलिपल्ट बिहान आठ बजे प्रहरीको भ्यान आयो। हामीलाई त्यही पुरानै लुगा लगाएर गाडीमा राखियो, एउटा अगाडि, एक हामी बीचमा र अर्को पछाडि। गाडीको सावधानी जस्तै, हाम्रो मन पनि त्रस्त र थिचिएको थियो।
लारानाका विमानस्थलको ढोका खोलिंदा म केही क्षण स्तब्ध भएँ। म नेपाल फर्किन लागेको थिएँ तर कुनै विजयको घोषणासँग होइन, बरु पराजय र मौनतासँग। वर्षौंको संघर्षपछि म मातृभूमिमा फर्किंदै थिएँ, आशाहरूका चोइटाहरू बोकेर, लाज र ग्लानिसहित। मसँग केही लुगा, एउटा पासपोर्ट थियो र साथमा बाँकी थियो एउटा गहिरो विश्वास, कि शायद पुनरुत्थान सम्भव छ।
यद्यपि मैले हार स्वीकारें तर त्यो हारमा एउटा बोध थियो। त्यो अनुभवले मलाई आत्मा ऐना जस्तै देखाउने बनायो, जहाँ म केवल गल्ती होइन, परिवर्तनका सम्भावनाहरू पनि देख्न थालें। जेल मेरो लागि अन्त्य थिएन, त्यो आत्मबोधको सुरुवात थियो।
अहिले पनि जब त्यो रात सम्झन्छु, त्यो तातो गर्मी, त्यो एउटा पब्जीको आवाज, त्यो प्रहरीको आगमन र त्यो अन्त्य नदेखिने यात्रा, म महसुस गर्छु, परमेश्वर कतै टाढा हुनुहुन्न। उहाँ मसँगै हुनुहुन्छ, चुपचाप। शायद उहाँले यही अवसर खोजिरहनुभएको थियो जहाँ म बोल्न बन्द गरूँ र उहाँ बोल्न थाल्नुहोस्।
जीवनका गोरेटाहरू कहिल्यै सजिला हुँदैनन्। जीवनको यात्रामा कहिले घाम, कहिले पानी, आँधी र हुरीसँगै अगाडि बढ्नुपर्छ। जसरी सूर्य बिहान उदाउँछ र साँझपख अस्ताउँछ, त्यसरी नै जीवनमा उतारचढावहरू आउँछन् र जान्छन्। यहाँ हरेक मानिसले आफ्ना सपनाहरू पूरा गर्न जीवनका बाधाहरूलाई पार गर्नुपर्छ। त्यसका लागि साहस मात्र होइन, धैर्य र संयम पनि आवश्यक हुन्छ। जीवनको एउटा बाटो बन्द भए पनि नयाँ मार्गहरू खुल्छन्। जीवन भनेकै अनुभवहरू सँगाल्दै, तीता–मिठा पलहरूसँगै अगाडि बढ्नु हो। जीवनका गोरेटाहरूमा निरन्तर संयमित र सकारात्मक भएर यात्रा गर्नुपर्छ।
जबसम्म सास रहन्छ, तबसम्म धैर्य, इमानदारी र लगनशीलताका साथ संघर्ष गर्नुपर्छ। यदि एउटा सपना विफल भए पनि समय र परिस्थितिको महत्त्व बुझेर जीवनलाई अगाडि बढाउनुपर्छ। जीवनका कठिनाइ, चुनौतीका खुड्किला र भर्याङहरू पार गर्नुपर्छ। सुन्दर भविष्यका लागि निरन्तर प्रयास आवश्यक छ, किनभने जीवनमा साना–ठूला समस्याहरू आइरहन्छन्।
आफ्ना सपना र योजनाहरूलाई सही समयमा कार्यान्वयन गर्न सकियो भने मात्र सफलता प्राप्त हुन्छ। त्यसैले म साइप्रसबाट फर्काइएपछि पनि पुनः युरोप यात्राको तयारी गर्दैछु। जीवनको अर्थ बुझेर मनलाई सकारात्मक र शिष्ट बनाउनु नै सार्थक जीवनको आधार हो भन्ने मलाई लाग्छ।
प्रतिक्रिया 4