
News Summary
Generated by OK AI. Editorially reviewed.- बरुण बेभरेजले नेपाली कार्बोनेटेड सफ्ट ड्रिंक्स बजारमा आफ्नो हिस्सा ३९ प्रतिशतबाट ४५-४६ प्रतिशतमा बढाएको छ।
- माउन्टेन ड्यु कम्पनीको कुल आम्दानीको ८० देखि ८५ प्रतिशत हिस्सा ओगट्ने र सञ्चालन मुनाफा मार्जिन २२.२ प्रतिशतबाट २८.४ प्रतिशत पुगेको छ।
काठमाडौं । ‘माउन्टेन ड्यु’ को लोकप्रियताका कारण बहुराष्ट्रिय कम्पनी पेप्सिकोका उत्पादन र बिक्री गर्दै आएको बरुण बेभरेज (नेपाल) को बजार हिस्सा बढेको छ ।
बरुण बेभरेजले नेपालमा पेप्सी, मिरिन्डा, सेभेन अप, आक्वाफिना पानी लगायत उत्पादन गर्दै आएको छ । तर, माउन्टेन ड्यु मात्रै कम्पनीको कुल आम्दानीको ८० देखि ८५ प्रतिशत हिस्सा ओगट्ने इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा उल्लेख छ ।
बरुण बेभरेज भारतीय कम्पनी बरुण बेभरेजेज लिमिटेडको शतप्रतिशत सेयर हिस्सा भएको सहायक कम्पनी हो ।
यही ब्रान्डको बलियो उपस्थितिले कम्पनीको नाफा र बजार हिस्सा दुवै बढाउन महत्त्वपूर्ण भूमिका खेलेको इक्राको प्रतिवेदनमा उल्लेख छ ।
इक्रा नेपालले हालै सार्वजनिक गरेको रेटिङ प्रतिवेदन अनुसार बरुण बेभरेजले नेपाली कार्बोनेटेड सफ्ट ड्रिंक्स बजारमा आफ्नो हिस्सा उल्लेखनीय रूपमा बढाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा सफ्ट ड्रिंक्स बजारमा बरुणको हिस्सा लगभग ३९ प्रतिशत रहेकोमा चालु आव ९ महिनामा बढेर करिब ४५–४६ प्रतिशत पुगेको छ ।
यो वृद्धिको मुख्य श्रेय माउन्टेन ड्युको बढ्दो लोकप्रियतालाई दिइएको छ । प्रतिवेदनमा छ, ‘नेपाली बजारमा माउन्टेन ड्युको कुनै निकट प्रतिस्पर्धी उत्पादन नहुनु कम्पनीका लागि सुखद पक्ष हो ।’
नेपालमा पेप्सीको अर्को प्रतिस्पर्धी खेलाडी कोकाकोला हो ।
विगतमा बरुण बेभेरज कम्पनीको कुल बिक्रीको ९० प्रतिशतसम्म हिस्सा माउन्टेन ड्युको रहने गरेकोमा त्यसमा थारै घटेर ८५ प्रतिशतमा झरेको इक्राले जनाएको छ ।
माउन्टेन ड्युको एकलौटी बजारले कम्पनीको सञ्चालन मुनाफामा समेत सकारात्मक प्रभाव पारेको छ । आव २०७९/८० मा कम्पनीको सञ्चालन मुनाफा मार्जिन २२.२ प्रतिशत रहेकोमा चालु आव साढे आठ महिनामा बढेर २८.४ प्रतिशत पुगेको इक्रा नेपालले जनाएको छ ।
सञ्चालन मुनाफा मार्जिनमा भएको यो वृद्धिले कम्पनीको वित्तीय स्वास्थ्यलाई थप बलियो बनाएको इक्रा नेपालको विश्लेषण छ ।
इक्रा नेपालले बरुण बेभरेजलाई अल्पकालीन कर्जाका लागि ‘इक्राएनपी एवान प्लस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको अल्पकालीन वित्तीय दायित्व पूरा गर्ने क्षमता अत्यन्तै बलियो रहेको संकेत गर्दछ ।
माउन्टेन ड्युको सफलताका साथै कम्पनीका अन्य वित्तीय सूचक पनि सकारात्मक रहेको इक्राको प्रतिवेदनले देखाएको छ । कम्पनी ऋणमा कम निर्भर रहेकाले वित्तीय जोखिम न्यून रहेको पनि इक्राले जनाएको छ ।
कम्पनीसँग अहिले २ अर्ब २० करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेकाले कुनै पनि तत्कालको दायित्व पूरा गर्न सहज हुने पनि रेटिङ एजेन्सीले जनाएको छ ।
एउटै उत्पादन ‘माउन्टेन ड्यु’ मा अत्यधिक निर्भर रहँदा कम्पनीको आम्दानीमा जोखिम आउन सक्ने भन्दै इक्राले सचेत पनि गराएको छ । त्यसो हुँदा भविष्यमा दिगो वृद्धिका लागि उत्पादन विविधीकरण र अन्य जोखिम व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको पनि इक्राले जनाएको छ ।
प्रतिक्रिया 4