
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले चिया बगान बाहेक श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक १ साउनदेखि लागु गरेको छ।
- नयाँ न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ, जसमा आधारभूत पारिश्रमिक र महँगी भत्ता समावेश छ।
- स्थानीय सरकार वा निकायले न्यूनतम पारिश्रमिक तोक्दा यो सूचनामा तोकिएको भन्दा कम नहुने व्यवस्था गरिएको छ।
५ साउन, काठमाडौं । नेपाल सरकारले चिया बगान बाहेक श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो नयाँ व्यवस्था १ साउन २०८२ देखि लागु भएको जनाएको छ ।
मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ बमोजिम नयाँ पारिश्रमिक निर्धारण गरेको हो । अब श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । जसमा १२ हजार १ सय ७० रुपैयाँ आधारभूत पारिश्रमिक र ७ हजार ३ सय ८० रुपैयाँ महँगी भत्ता समावेश छ ।
त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि न्यूनतम ७ सय ५४ रुपैयाँ तोकिएको छ । जसमा ४ सय ७० आधारभूत पारिश्रमिक र २ सय ८४ महँगी भत्ता छ । प्रतिघण्टा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १ सय १ रुपैयाँ निर्धारण गरिएको छ, जसमा ६३ आधारभूत पारिश्रमिक र ३८ महँगी भत्ता हो । आंशिक समय काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक भने १ सय ७ रुपैयाँ तोकिएको छ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार पारिश्रमिक निर्धारण श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र प्रचलित कानुनमा आधारित रहेको निर्धारण गरिएको हो । साथै, श्रमिकले पाउने सञ्चय कोष र उपदान लगायत सुविधा अनिवार्य रूपमा हुनुपर्ने छ ।
स्थानीय सरकार वा अन्य कुनै निकायले आफ्नो क्षेत्रमा पारिश्रमिक निर्धारण गर्दा यो सूचनामा तोकिएभन्दा कम नहुने गरी गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम हुने गरी कुनै पनि रोजगार सम्झौता गर्न पाइने छैन ।
यो नयाँ व्यवस्था लागु भएसँगै ३२ साउन २०८० मा प्रकाशित चिया बगान बाहेक मजदुरको न्यूनतम पारिश्रमिक सम्बन्धी पुरानो सूचना खारेज गरिएको छ ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया 4