
५ साउन, धनगढी । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ ।
शनिबार शल्यक्रिया मार्फत नवजात शिशु (छोरा) लाई जन्म दिएकी भजनी नगरपालिका–२ को रजबाराकी ३० वर्षीया चाँदनीदेवी डगौराको सोमबार दिउँसो मृत्यु भएको हो ।
मृतककी देउरानी नाता पर्ने नैनादेवी चौधरीले चिकित्सकको लापरबाहीले प्रसुती भएको तेस्रो दिनमै डगौराको मृत्यु भएको बताइन् ।
उनले सुरुमा शल्यक्रियाका लागि भन्दै पेटको एउटा भागमा चिरेको तर शिशु ननिस्किएपछि फेरि अर्काे ठाउँमा चिरेर निकालिएको बताइन् ।
पाठेघरमा रगत जमेको भन्दै तेस्रो पटकको शल्यक्रियामा पाठेघर नै झिकेर फालिएको उनी बताउँछिन् ।
पाठेघर निकालेर फाल्दा समेत रक्तश्राव नरोकिएपछि १७ पिन्ट रगत चढाउदा समेत डगौरालाई बचाउन नसकिएको परिवारको भनाइ छ ।
उनीहरूले शल्यक्रिया र उपचारमा गम्भीर लापरबाही भएको भन्दै सम्बन्धित चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
आमाको मृत्यु भएपनि शिशुको अवस्था समान्य रहेको छ ।
अस्पतालले भने सुत्केरीको मृत्यु भएको विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन् । सूचना अधिकारी किशोर श्रेष्ठले यो विषयमा बुझेर मात्र धारण व्यक्त गर्ने बताए ।
प्रतिक्रिया 4