
६ साउन, काठमाडौं। कवि प्रकाश सापकोटाको कविताकृति ‘सन्नाटाका सुस्केरा’ लोकार्पण गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा मंगलबार उक्त कृति लोकार्पण गरिएको हो ।
कवि एवं गीतकार दिनेश अधिकारी, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकाली लगायतले संयुक्त रूपमा कृति लोकार्पण गरेका थिए ।
कार्यक्रममा कवि अधिकारीले सापकोटाका कवितामा सरलपन भएको बताउँदै कवि आफैंले आफ्नोपन खोजेर आफैंलाई परिमार्जन गर्नुपर्ने उल्लेख गरे । उनले भने, ‘कवितामा सरलपन भएन भने पाठकले बुझ्दैन, पाठकले बुझेन भने कविता सफल नहुन सक्छ।’
साहित्यकार रोदनले सिर्जनामा आफ्नोपन जरुरी भएको बताए । उनले भने, ‘सापकोटा सिर्जनामा आफ्नोपन छ । डेनमार्कलाई कर्मथलो बनाएका सापकोटाले आफ्नो माटो भुल्न सकेका छैनन् । देश दुखेको छ । बेथितिमा दु:खी भएका छन् ।’
‘सन्नाटाका सुस्केरा’सापकोटाको पाँचौ कृति हो । यो कृति सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
प्रतिक्रिया 4