
News Summary
Generated by OK AI. Editorially reviewed.- हाल दोस्रो बजारबाट सेयर खरिद आदेश दिनुअघि कम्तीमा २५ प्रतिशत कोल्याटरल राख्नुपर्ने व्यवस्था छ।
- नेप्सेले कोल्याटरलको न्यूनतम सीमा बढाउने तयारी नगरेको प्रवक्ता मुराहरि पराजुलीले बताए।
- सेबोनका अधिकारी अनुसार ब्रोकर कम्पनीले ग्राहकलाई २ देखि ४ गुणासम्म मार्जिन सीमा दिन सक्छन्।
६ साउन, काठमाडौं । हाल दोस्रो बजारबाट सेयर खरिद आदेश दिनुअघि कम्तीमा २५ प्रतिशत कोल्याटरल हुनुपर्ने व्यवस्था छ । बाँकी ७५ प्रतिशत रकम सेयर खरिद भइसकेपछि भुक्तानी गरे हुन्छ ।
धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा प्रष्ट रुपमा लेखिएको छ ‘कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रूपमा लिनुपर्नेछ ।’
कारोबार प्रणाली टीएमएसमार्फत लगानीकर्ताले कोल्याटरल लोड गर्छन् । बैंक खाताबाट रकम कटौती भई कोल्याटरल लोड हुन्छ, अनि मात्रै टीएमएसमार्फत खरिद गर्न पाइन्छ । जति कोल्याटरल लोड हुन्छ, त्यसको ४ गुणासम्मको खरिद आदेश दिन पाइन्छ ।
पछिल्लो समय कोल्याटरलको न्यूनतम सीमा बढाएर शत प्रतिशत कायम गर्ने हल्ला बजारमा चल्दै आएको छ । कोल्याटरलको न्यूनतम सीमा बढाउनका लागि हालको धितोपत्र कारोबार सञ्चालन विनियमावली नै संशोधन गर्नुपर्ने हुन्छ । नेप्सेले सो विनियमावली संशोधन गर्ने र नियामक धितोपत्र बोर्डबाट स्वीकृति लिएर बल्ल लागू गर्ने हो ।
तर, अहिले विनियमावली संशोधन गर्ने वा न्यूनतम कोल्याटरलको सीमा बढाउने कुनै तयारी नरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले बताए ।
‘बाहिर कतिपय मुलुकमा शत प्रतिशत कोल्याटरल राखेपछि मात्रै खरिद गर्ने व्यवस्था पनि छ, तर यहाँ अहिले यसलाई बढाउने कुनै तयारी छैन,’ उनले भने ।
कोल्याटरल बढाउनुपर्ने जरुरत नरहेको धितोपत्र बोर्डका उच्च अधिकारीहरु बताउँछन् । ‘ब्रोकर कम्पनीलाई कुनै ग्राहकमाथि विश्वास नलागे अहिले पनि शत प्रतिशत कोल्याटरल लिन पाउँछन्’ सेबोनका एक उच्च अधिकारीले भने ‘केही ब्रोकरले अहिले पनि कोल्याटरलमा कतिपयलाई २ गुणा त कतिपयलाई ४ गुणाको मार्जिन सीमा दिँदै आएका छन् ।’
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले कोल्याटरल बढाउने विषय अनावश्यक हल्ला मात्रै भएको बताए । ‘यो विषयलाई संशोधन गर्नुअघि हामीसँग छलफल तथा परामर्श हुन्छ, अहिले त्यस्तो केही भएकै छैन’ उनले भने ।
यदि कुनै लगानीकर्ता वा कारोबारीले सेयर खरिद गरेर पछि रकम भुक्तानीमा कुनै जालझेल नगरोस् भन्ने उद्देश्यले पहिले नै २५ प्रतिशत कोल्याटरल राख्ने व्यवस्था गरिएको हो ।
‘कोल्याटरल र कारोबार गर्न दिने सीमा भनेको ब्रोकरले आफ्नो जोखिममा आधारित भएर गर्ने हो’ ढकालले भने ।
कारोबारी तथा लगानीकर्ताले सेयर खरिद गरिसकेपछि सो सेयर ब्रोकर कम्पनीको पुल एकाउन्टमा जम्मा हुन्छ । यदि कारोबारीले सो सेयरको भुक्तानी गरिसकेको छ भने मात्रै कारोबारीको डिम्याट खातामा जान्छ, अन्यथा पुल एकाउन्टमार्फत ब्रोकर कम्पनीले नै बेचेर असुल उपर गर्न पाउँछन् ।
कोल्याटरल नै नराखिँदा कारोबारीले सेयर खरिद गरिसकेपछि मूल्य घट्दै जाँदा पछि रकम अशुलमै समस्या आउने र ब्रोकरले पनि सो सेयर बेचेर पूरै रकम अशुल गर्न नसक्ने समस्या निम्तिन्छ ।
२५ प्रतिशत कोल्याटरल राखेपछि कारोबारी सम्पर्कविहीन भएमा पनि खरिद गरेको सेयरबाट बाँकी ७५ प्रतिशत रकम अशुल उपर हुने भएकाले २५ प्रतिशतको न्यूनतम सीमा राखिएको ढकाल बताउँछन् । यदि ब्रोकरले बढी जोखिम देखेमा कोल्याटरल राखिएको दुई गुणासम्म मात्रै कारोबारीलाई मार्जिन दिन सक्छन् ।
पछिल्लो समय ब्रोकर कम्पनीले नै सञ्चालनमा ल्याएका नयाँ टीएमएसबाट कारोबार गर्नेलाई भने कोल्याटरलको मामलामा झनै सहज छ । जति रकमको सेयर बिक्री हुन्छ, सो बिक्री भएको रकम कारोबारीको खातामा जम्मा नहुँदासम्म कोल्याटरलको रुपमा जम्मा हुने गरेको छ । बिक्री गरेलगत्तै सोही रकम तुरुन्तै कोल्याटरलको रुपमा जम्मा भएपछि थप खरिद गर्न सक्छन् ।
तर पुरानो टीएमएस सञ्चालन गरिरहेका ब्रोकर कम्पनीका ग्राहकले भने यो सुविधा पाएका छैनन् । उनीहरुले ब्रोकर कम्पनीलाई फोन गरेर बिक्री भएको रकम कोल्याटरलको रुपमा जम्मा गरिदिन भन्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया 4