+
+
Shares

अनलाइनखबरकर्मीलाई घुस दिन खोज्ने कम्पनी रजिस्ट्रारलाई स्पष्टीकरण, मन्त्रालय तानियो

उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार घुस दिने प्रयास गर्ने तीनै जना अधिकारीलाई विभागबाट मन्त्रालय तानिएको छ । ऐनको दफा ६६ र नियमावली बमोजिम उनीहरूलाई स्पष्टीकरण पनि सोधिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १९:४४
क्रमश: कम्पनी रजिष्ट्रार ईश्वरकुमार गिरी, सहायक रजिष्ट्रारद्वय रविन कार्की र भीम प्रसाद पराजुली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग मन्त्रालयले कम्पनी रजिस्ट्रार ईश्वरकुमार गिरी र सहायक रजिस्ट्रार कार्की र पराजुलीलाई घुस दिने प्रयासमा स्पष्टीकरण सोधेको छ।
  • मन्त्रालयले निजामती सेवा ऐनको दफा ६६ अनुसार छानबिन समिति गठन गरी विभागीय कारबाहीका लागि तीनै जनालाई स्पष्टीकरण सोधेको सचिव कृष्णबहादुर राउतले बताए।
  • कम्पनी रजिस्ट्रार गिरीले अनलाइनखबरका पत्रकारलाई घुस दिने प्रयास गरेको र समाचार प्रकाशन रोक्न दबाब दिएको विषयमा मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ।

७ साउन, काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन सिस्टममा चलखेल गरी खुलेआम घुस उठाइरहेको विषयमा निरन्तर समाचार लेखिरहेको अनलाइनखबरका पत्रकार घुस दिने प्रयास गर्ने कम्पनी रजिस्ट्रार ईश्वरकुमार गिरी र सहायक रजिस्ट्रारद्वय रविन कार्की र भीमप्रसाद पराजुलीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छानबिन समितिले स्पष्टीकरण सोधेको छ ।

सहसचिवस्तरका रजिस्ट्रार गिरी र शाखा अधिकृत स्तरका सहायक रजिस्ट्रार कार्की र पराजुलीलाई विभागीय कारबाही गर्ने प्रयोजनका लागि निजामती सेवा ऐनको दफा ६६ अनुसार छानबिन समितिले स्पष्टीकरण सोधेको उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अनलाइनखबरलाई जानकारी दिए ।

‘घुस दिने प्रयास गर्ने तीनै जना अधिकारीलाई विभागबाट मन्त्रालय तानिएको छ । ऐनको दफा ६६ र नियमावली अनुसार उनीहरूलाई स्पष्टीकरण पनि सोधिएको छ,’ सचिव राउतले भने ।

निजामती सेवा ऐनको परिच्छेद ९ को दफा ५९ मा उचित र पर्याप्त कारण भए निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सक्ने व्यवस्था छ ।

तर, त्यसरी विभागीय कारबाही गर्दा कारबाही गर्नुपर्ने सरकारी कर्मचारीलाई सफाइ पेस गर्ने मौका दिनुपर्ने व्यवस्था ऐनको दफा ६६ मा छ । सोही अनुसार मन्त्रालयले गठन गरेको छानबिन तथा कारबाही सिफारिस समितिले उनीहरूलाई स्पष्टीकरण सोधेको सचिव राउतले जानकारी दिए ।

कम्पनी रजिस्ट्रार गिरीले कार्यालयको भित्री सूचना दिने भन्दै अधिकृतस्तरका दुई कर्मचारी कार्की र पराजुलीलाई पठाएर मंगलबार अनलाइनखबरकर्मी जनार्दन बराललाई घुस दिने प्रयास गरेका थिए । ती दुई अधिकृतलाई आफूले पठाएको कम्पनी रजिस्ट्रार गिरीले स्वीकार गरेका थिए ।

अनलाइनखबरले कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीहरूले सेवाग्राहीसँग खुलेआम घुस खाने गरेको विषयमा निरन्तर समाचार प्रकाशित गरेपछि त्यसलाई प्रभावित पार्न रजिस्ट्रार गिरीले अनलाइनखबरकर्मीलाई नै घुस दिने प्रपञ्च रचेका थिए ।

यस विषयमा समाचार प्रकाशन हुने थाहा पाएपछि कम्पनी रजिस्ट्रार गिरी लगायत केही उच्च पदस्थ सरकारी अधिकारीहरूले फोन गरेर समाचार प्रकाशित नगर्न समेत दबाब दिएका थिए ।

यो कुरा सार्वजनिक भएपछि मन्त्रालयले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको सचिव राउतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?