
९ साउन, काठमाडौं । किरण विकले रुपन्देही-३ मा चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले उम्मेद्वारी घोषणा गरेका हुन् ।
आफू विगत ११ वर्ष देखि राजनीति, फिल्ममेकिंग र लेखनमार्फत रुपन्देही र काठमाडौंमा सक्रिय रहको उनले बताएका छन् ।
उम्मेदवारी घोषणा गर्दै ३१ वर्षीय विकले आफूले विगतमा जनआन्दोलन, गणतन्त्रको स्थापना, धर्म निरपेक्षताको स्थापना लगायतका कार्यमा आफ्नो ठाउँबाट योगदान पुर्याएको बताएका छन् ।
संविधान निर्माण र संघीयताको कार्यान्वयनजस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रमहरूको साक्षी पुस्ता भएको भन्दै उनले भनेका छन्, ‘मेरो उम्मेद्वारी पुरानालाई लखेट्न मात्र होइन, नयाँहरूलाई सुधार्न पनि हो ।’
आफू उदार लोकतन्त्रवादी, खुला समाजको समर्थक, महिला, मधेसी , जनजाति , मुस्लिम , दलित , थारू , अपाङ्ग र अन्य अल्पसंख्यक तथा सीमान्तकृत समुदायको पक्षधर रहेको उनको भनाइ छ ।
भैरहवालाई क्रिप्टो भ्याली, आर्थिक राजधानी, अन्तर्राष्ट्रिय मनोरन्जन पर्यटकीय सहर र लुम्बिनी महानगरको अवधारणालाई लागू गर्न व्यवस्थित सहरीकरण गर्ने लगायतका उनका प्रतिबद्धताहरु छन् ।
रुपन्देही-३ लाई नेपालकै शैक्षिक हब बनाउने, रुपन्देही-३ लाई नेपालकै सबभन्दा गुणस्तर र सस्तो स्वास्थ्य सेवा प्रवाह गर्ने सहर बनाउने र स्वास्थ्य क्षेत्रमा देखिएको बढ्दो व्यवसायीकरण निजीकरणलाई रोक्ने काम भैरहवाबाट सुरु गर्ने पनि उनको प्रतिबद्धता छ ।
रूपन्देही–३ मा मा आगामी कातिक १७ गते उपनिर्वाचन हुँदैछ ।
४ मंसिर २०७९ मा सम्पन्न चुनावमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित भएका थिए ।
बोहराको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया 4