
११ साउन, काठमाडौं । डा. सीके राउत नेतृत्वमा रहेको जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चामा रहने/नरहनेमा पुनर्विचार गर्ने भएको छ । मधेश केन्द्रित सात दलको संयुक्त मोर्चामा सहकार्य निरन्तरता दिनेबारे पुनर्विचार गर्ने भएको हो ।
जनमतले मुलत: तीन विषय उठाएर मोर्चामा सहकार्यमा पुनर्विचार गर्ने भएको छ ।
जनमतले संघीय लोकतान्त्रिक मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको सहभागी हुन नसकेकोप्रति प्रश्न उठाएको छ । सात सांसद रहेको जसपा मधेशी दलहरूमा सबैभन्दा ठूलो दल हो । अशोक राई नेतृत्वको जसपालाई मोर्चामा सहभागी नगराइएको प्रति चासो रहेको जनमतका प्रवक्ता डा.शरदसिंह यादवले अनलाइनखबरसँग बताए ।
जनमतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालप्रति संशय व्यक्त गरेको छ । सत्ता गठबन्धनबाट जनमतलाई बाहिर राख्ने र त्यो ठाउँ आफूले लिने गरी जसपा नेपालले चलखेल गरेको जनमतको आशंका छ । यद्यपी, जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ ।
‘मधेशको एउटा दलले जनमतलाई बाहिर राखेर त्यो ठाउँमा आफू जान खोजेको छ । तर, सफल हुन सकेको छैन । केन्द्र र मधेशमा जनमतलाई बाहिर राख्ने प्रयत्न भएको हामीले बुझेको छौं,’ जनमतका प्रवक्ता यादवले भने ।
जनमतका नेताहरूका अनुसार मोर्चामा सहकार्यमा समस्या देखिएकोे तेस्रो विषय रुपन्देही–३ को उपनिर्वाचन छ । मधेश केन्द्रित छ दल रुपन्देही–३ मा नागरिक उन्मुक्तिबाट साझा उम्मेदवार बनाउन तयार छन् । जनमतले आफ्नै उम्मेदवार हुने भन्दै तयारी गरेको छ ।
प्रवक्ता यादव भन्छन्, ‘यो मोर्चा बनेको चुनावी गठबन्धनका लागि होइन । रुपन्देही–३ मा हाम्रो आफ्नो उम्मेदवार हुन्छ ।’ मोर्चामा रहेका दलहरूले आलोपालो बैठक बोलाउँदै आएका छन् । सोमबार जसपा नेपालले बैठक डाकेको छ । जनमतका नेताहरूका अनुसार भोलिको बैठक सहभागी नहुने सम्भावना बढी छ ।
मोर्चामा जनमत, जसपा नेपाल, नाउपा, राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराइ मधेस लोकतान्त्रिक पार्टी छन् ।
गत चैतमा सात दल मिलेर संघीय लोकतान्त्रिक मोर्चाको गठन गरिएको थियो ।
प्रतिक्रिया 4