
News Summary
Generated by OK AI. Editorially reviewed.- सीटीईभीटी अन्तर्गत जिरी प्राविधिक शिक्षालयको मिडवाइफी कार्यक्रममा ६० अंकको प्रयोगात्मक मूल्याङ्कन ४० अंकमा गरिएको त्रुटिका कारण १७ विद्यार्थी अनुत्तीर्ण भएका छन्।
- प्रिन्सिपल कर्मा शेर्पाले मूल्याङ्कनमा मानवीय त्रुटि भएको स्वीकार गर्दै परीक्षा बोर्डलाई नतिजा सुधार गर्न पत्र लेखेको बताए।
- अखिल (क्रान्तिकारी) बहुमतले विद्यार्थीको नतिजा सुधारको माग राखेर सीटीईभीटी सदस्य सचिव महेश भट्टराईलाई कार्यालय प्रवेशमा रोक लगाएको छ।
११ साउन, काठमडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको मिडवाइफी कार्यक्रमको मूल्याङ्कनमा गम्भीर त्रुटि हुँदा विद्यार्थी अनुत्तीर्ण भएको पाइएको छ ।
सीटीईभीटी अन्तर्गतको जिरी प्राविधिक शिक्षालयको पीसीएल पहिलो वर्षका १७ जना विद्यार्थीको ६० अंकमा मूल्याङ्कन गर्नुपर्नेमा ४० अंकमा मूल्याङ्कन गर्दा अनुत्तीर्ण भएका हुन् ।
‘फाउन्डेसन अफ मिडवाइफी विषयको ६० अंकको प्रयोगात्मक र ४० अंकको सैद्धान्तिक हो । तर प्रयोगात्मकको पनि ४० अंकमा मूल्याङ्कन गर्दा अनुत्तीर्ण भएका हौँ,’ पीडित विद्यार्थीहरूले गुनासो गरे ।
अनुत्तीर्ण भएका विद्यार्थीहरूको मार्कसिटमा २९, २८, २५ नम्बर आएको छ । यो नम्बर ४० अंकमा मूल्याङ्कन गर्दाको हो । ६० अंकको प्रयोगात्मकमा उत्तीर्ण हुन ३० अंक आए हुन्छ । तर ४० अंकलाई ६० अंकमा कन्भर्ट गरी मूल्याङ्कन गर्ने हो भने उनीहरू उत्तीर्ण हुन्छन् ।
गत ११ जेठमा नतिजा प्रकाशित भएको थियो । ३० जना विद्यार्थी सहभागी भएकोमा १३ जना मात्र उत्तीर्ण भएका थिए ।
त्यसपछि विद्यार्थीहरूले सोही दिन आफ्नो मार्कसिट हेर्दा १७ जनालाई नै फाउन्डेसन अफ मिडवाइफी विषय लागेको भेटियो ।
‘अनुत्तीर्ण भएका सबैको व्यवहारिकमा लागेको छ । किन यस्तो भयो भनेर विषय शिक्षकलाई भनेका थियौं । उहाँले कलेजको र विद्यार्थीको कारण होइन । कम्प्युटर इन्ट्रीमा त्रुटि भएको भन्नुभयो । उहाँले त्रुटि सच्चिने भन्नु भएको थियो । तर नतिजा आएको १५ दिनसम्म पनि सच्चिएन । त्यसपछि आवाज उठाउन लागेका हौँ,’ पीडित विद्यार्थीहरूले भने ।
विद्यार्थीहरूले प्रिन्सिपल कर्मा शेर्पालाई पनि समस्या सुनाए । तर विषय शिक्षक, प्रिन्सिपलले समस्या समाधान गर्न चासो नदिएको पीडित विद्यार्थीहरूको गुनासो छ ।
त्रुटि सच्याउनुको सट्टा फेरि परीक्षा दिनुपर्ने भनेर खबर आएको विद्यार्थीहरू बताउँछन् । ‘सुरुमा इन्ट्रीमा त्रुटि भएको भनियो । अहिले परीक्षा दिनुपर्छ भनिएको छ,’ विद्यार्थीहरूले भने ।
शिक्षालयका प्रिन्सिपल कर्मा शेर्पा भने विद्यार्थीहरूको मूल्याङ्कनमा त्रुटि भएको स्वीकार गर्छन् । ‘मूल्याङ्कनमा विज्ञबाट मानवीय त्रुटि भएको हो । सच्याउनका लागि परीक्षा नियन्त्रण कार्यालयमा पत्र लेखेका छौँ,’ शेर्पाले भने ।
उनका अनुसार ४० अंकमा गरेको मूल्याङ्कनलाई ६० अंकमा मूल्याङ्कन गरेर विद्यार्थीको नतिजा सुधार गर्न पत्र लेखिएको बताए । सोही अनुसार परीक्षा बोर्डबाट पनि पत्र आइसकेको उनले बताए ।
‘विद्यार्थीको नतिजा संशोधन गर्न परीक्षा बोर्डलाई भनेका छौँ । ६० अंकमा मूल्याङ्कन गरेर नतिजा सुधार गर्ने प्रयास भइरहेको छ । बोर्ड पनि सोही अनुसारको पत्र आएको छ,’ शेर्पाले भने ।
सीटीईभीटीका सदस्य सचिवलाई प्रवेशमा रोक
यही विषयलाई लिएर अखिल (क्रान्तिकारी) बहुमतले सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।
विद्यार्थीको नतिजा सुधारको माग राखेर शुक्राबारदेखि अखिल (क्रान्तिकारी) बहुमतले सदस्य सचिव भट्टराईलाई प्रवेशमा रोक लगाएको हो ।
प्रयोगात्मक परीक्षामा शिक्षालय र प्रशिक्षकको लापरबाहीका साथ मूल्याङ्कन गरी फेल गराइएकाले विद्यार्थीलाई न्याय प्रदान गर्नुको सट्टा पुनः परीक्षा सञ्चालन गर्न लागेको भन्दै क्रान्तिकारीले प्रवेशमा रोक लगाएको संगठनका सचिव डीबी शाहीले बताए ।
‘विद्यार्थीमाथि सीटीईभीटीले गम्भीर लापरबाही गरेको छ । ६० मा मूल्याङ्कन गरेर नतिजा सुधार गर्नुको सट्टा पुनः परीक्षा गर्न खोजिएकाले प्रवेशमा रोक लगाएका हौँ,’ उनले भने ।
प्रतिक्रिया 4