
News Summary
Generated by OK AI. Editorially reviewed.- माइकल चन्दले निर्देशन गर्ने फिल्म 'राम नाम सत्य'मा चर्चित कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीले डेब्यु गर्ने भएका छन्।
- निर्देशक चन्दले आयुषलाई एक्सन तालिम दिइरहेका छन् र उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन्।
- फिल्म साउन २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ र यसमा विराज भट्ट, सुशिल श्रेष्ठ लगायतका कलाकारहरू छन्।
काठमाडौं । माइकल चन्दले निर्देशन गर्ने फिल्म ‘राम नाम सत्य’मा अहिलेका चर्चित कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीले अभिनय गर्ने भएका छन् ।
यो उनको डेब्यु फिल्म हुनेछ । निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीले ठकुरीसँग कागजी सम्झौता गरे ।
फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने- ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि डेब्यू गर्ने निर्णय लिएको हुँ ।’
यो फिल्मको कथा र आफ्नो भूमिका सशक्त रहेको उनले बताए । यो फिल्मको लागि उनले केही महिनादेखि मिहेनत गरिरहेका छन् ।
निर्देशक चन्दले यसबारे भने- ‘आयुष र हामीबिच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले फिल्मका लागि निकै मिहिनेत गरिरहेका छन् ।’
साउन २९ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माताको छ ।
यो फिल्ममा यसअघि विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी अनुबन्धित भैसकेका छन् । एकजना अभिनेत्री फाइनल गरेपछि कलाकारको लाइनअप पुरा हुने जनाइएको छ ।
उपेन्द्र शाही र श्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको छायांकन रहने फिल्मलाई चितवन, काठमाडौंमा खिचिनेछ ।
तेजविक्रम केसी हेड अफ प्रोडक्सन रहेको फिल्मका कास्टिङ डिरेक्टर नविनजंग शाह हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्मलाई माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गर्न लागिएको हो ।
केही दिनअघि निर्माता किरण नेपालीले पनि आयुष र उनकी पत्नी तथा कन्टेन्ट क्रिएटर एलिजेलाई फिल्मको अफर गरेका थिए । यद्यपि, यसबारे अपडेट आउन बाँकी छ ।
प्रतिक्रिया 4