
१३ साउन, धनगढी । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले वर्षौंदेखि अलपत्र बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुई देशको हितमा हुने गरी गर्न गृहकार्य भइरहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउन महत्त्वपूर्ण सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।
प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
उनले पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतबीच सम्झौता भएको २० वर्ष भएपनि अघि नबढ्दा अहिलेसम्म नेपाललाई एक खर्ब घाटा व्यहोरिसकेको बताए ।
त्यसैले पञ्चेश्वर परियोजना लगायतका आयोजनाबारे दुईपक्षीय हितमा रहेर वार्ता गर्ने र प्रधानमन्त्रीको भारत भ्रमणका क्रमका पञ्चेश्वरमा नमिलेका विषय टुंग्याउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने तयारी छ ।
नेपालको उर्जा क्षेत्रमा ठूलो सम्भावना भएपनि स्रोतसाधन, आर्थिक समस्या र कानुन अड्चनले पश्चिम सेती जस्ता महत्त्वपूर्ण परियोजना लामो समयदेखि अघि बढ्न नसकेको खड्काले बताए ।
प्रतिक्रिया 4