
१३ साउन, काठमाडौं । राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा आगामी भदौ ३० गते नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण हुने भएको छ । सन् २०१९ बाट सुरुवात भएको सम्मेलनको चौथो संस्करण आयोजनासम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको हो ।
पहिलो संस्करणदेखि नै राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्ष्टिच्युटले सो सम्मेलन आयोजना गर्दै आएका छन् । मंगलबार एक समारोहबीच सम्मेलन आयोजना सम्बन्धी समझदारी पत्रमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस् इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्दै तिनै तहका सरकारले गरेका प्रयासवारे जानकारी दिने उदेश्यले सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको बताए ।
युवाहरूलाई उद्यमी वन्न प्रोत्साहित गर्न र स्टार्टअप उद्यमहरुलाई वित्तीय सहजीकरण गर्न सम्मेलन उपलब्धिमुलक हुने उपाध्यक्ष बस्नेतको भनाइ छ ।
एनबीआईका कार्यकारी अध्यक्ष विशाल गैरेले सम्मेलनमा सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायले युवा उद्यमशीलता प्रवर्द्धनमा हालसम्म गरेका नीतिगत र कार्यक्रमगत उपलब्धीको लेखाजोखा गरिने बताए ।
गैले सम्मेलनमा युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरू, उद्यम गरिरहेका युवाहरू र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ता, उच्चपदस्त सरकारी अधिकारी र अन्य सरोकारवालासहित देशभरका ५ सय प्रतिनिधिहरु सहभागी हुने जानकारी दिए ।
‘युवा उद्यमशीलता : नीति , कार्यक्रम र कार्यान्वयन’ भन्ने मुल नारा सहित हुन लागेको सम्मेलनको उद्घाटन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्ने उनले वताए। सम्मेलनमा पूर्व प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, दात्रृ संस्था र निजी क्षेत्रका उच्चपदस्त अधिकारीहरूको सहभागिता र साझेदारी रहनेछ ।
युवाहरूमा वित्तीय पहुंच अभिवृद्धि, सरकारी नीति, कर नीति, स्टार्टअप कार्यक्रम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टार्टअप विजनेस सम्वन्धमा युवा उद्यमीहरूको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा सम्मेलन महत्वपुर्ण हुने आयोजकले बताएका छन् ।
प्रतिक्रिया 4