+
+
Shares

प्रधानमन्त्रीज्यू, युवाहरू समयमै कसरी बिहे गरून् ?

सक्नुहुन्छ भने कहिले भूटानी शरणार्थीको नाममा, कहिले भिजिट भिसाको नाममा त कहिले म्यानपावर व्यापारको नाममा युवाहरू बेचिनबाट रोक्ने प्रयास गर्नुस्। नसके विवाह र सन्तानबारे सल्लाह दिन छाड्नुस्।

राजेश विद्रोही राजेश विद्रोही
२०८२ साउन १४ गते ९:३३

विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय जनसंख्या नीति, २०८२’ को सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट युवाहरूलाई समयमै विवाह गर्न सुझाव आयो। प्रधानमन्त्रीको सुझाव वास्तविकतामा आधारित थियो कि सस्तो लोकप्रियताका लागि, त्यो हामीले जान्ने कुरा भएन। हामीले देखेको भनेको बेरोजगारीले ग्रस्त युवालाई रोजगारी दिलाउनेतिर प्रधानमन्त्रीको ध्यान जानुपर्ने हो, न कि विवाह र तीन सन्तान जन्माउन प्रोत्साहन गर्नेतिर।

१० वर्षअगाडि गाउँको जंगलझारमा दिसा-पिसाब गर्ने खुला शौचालय थियो। युवाहरू स्कूलमा थिए अथवा अभिभावकसँग खेतीकिसानीमा। वैदेशिक रोजगारमा पहुँच अहिलेको जस्तो थिएन। घरघरमा एसएलसी पढेकाहरू बढ्दै गएको निकै चर्चा हुन्थ्यो। अहिले शौचालय गर्ने झारमा युवाहरू अचेत अवस्थामा भेटिन्छन्। दिसा-पिसाब गर्ने शौचालय घरभित्र प्रवेश गरेको छ।

एक समय घरघरमा शौचालय अनिवार्य बनाउने अभियान नै चल्यो। यतिसम्म कि घरमा शौचालय छैन भने स्थानीय तहमा कुनै किसिमको सिफारिस वा राज्यको सुविधाबाटै वञ्चित गरियो। आर्थिक र जमिनको अभाव झेलिरहेका गरिब दलित विपन्न समुदायलाई सरकारले ऋणको भारी बोकाएर भन्यो- जेनतेन ठड्याइएको बस्ने झुप्रो वा भान्सा कोठाभित्रै किन नहोस् शौचालय बनाउनैपर्‍यो। त्यो अभियान कति सफल भयो अनुसन्धानकै विषय बनेको छ।

शैक्षिक अवस्थाको कुरै नगरे हुन्छ। पहिला-पहिला कक्षाकोठामा छात्र धेरै र छात्रा थोरै भेटिन्थे। अहिले ठिक उल्टो भएको छ। पढाइ बीच बाटोमै छाडेर युवाहरू वैदेशिक रोजगारमा हान्निएका छन्। हजारौंको संख्यामा भइरहेको यो पलायन समाज टुलुटुलु हेर्न बाध्य छ। युवाहरूको मानसिक र स्वास्थ्य अवस्था कति नाजुक छ भन्ने विदितै छ। यस्तो समाज र अभाव, गरिबी र भोकको उपचार खोज्नै दिनहुँ विदेश पलायन हुँदै गरेका नेपाली युवाले प्रधानमन्त्रीका उपदेश कसरी ग्रहण गर्लान् ?

२०७८ को जनगणना अनुसार नेपालमा २० देखि २९ वर्ष उमेर समूहका युवाहरू करिब १९.७८ प्रतिशत छन्। २०६८ मा यो उमेर समूहको जनसंख्या करिब १७.५ प्रतिशत थियो। १० वर्षको जनगणनामा करिब २ प्रतिशतभन्दा बढी त्यो उमेर समूहको युवाहरूको जनसंख्या बढेको देखिन्छ। २०८१/८२ मा ३ लाख २५ हजार ८०९ जना युवाहरू विदेशिएका छन्। यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले २० देखि ३० वर्षमै विवाह गरी तीन सन्तान जन्माउन आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली बेलाबखत यस्तै अभिव्यक्तिहरू दिएर आफू चर्चामा आइरहन्छन्। तर उनको व्यवहार भने ठिक उल्टो छ। कहिले राम नेपालकै चितवनमा जन्मेको, त कहिले भगवान् शिव खोटाङका चामलिङहरूको हलेसीमा जन्मेको, त कहिले घरघरमा ग्यास पाइप लाइन, कहिले पानीजहाजको कुरा गरेर चर्चा बटुलिरहेका छन्। तर त्यही ओली पहिलो पटक प्रधानमन्त्री हुँदा दलितसँग अन्तरजातीय विवाह गर्ने दम्पती जोडीहरूले पाउने प्रोत्साहन स्वरूप एक लाख रुपैयाँ ‘समाजमा विकृति फैलिएको’ भनेर बजेटबाटै हटाएका थिए।

बलजोड तपाईंहरूले नै गर्नुस्। तपाईंहरूबाट थपिने ती तीन सन्तानहरू बरु तपाईंहरू जस्तै सक्षम र पाको हुन्छन्। यसलाई अन्यथा नलिनुहोला। अपमान बोध नगर्नुहोला। एउटा युवाको ठाउँबाट हाम्रो पनि सकेको, बुझेको र झेलेको सुझाव हो

केही दिनअघि सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियार अनि गत वर्ष सप्तरीका मनोज राम र बबिता इसरले गरेको प्रेमविवाहलाई अपराधी करार गर्दै सकेसम्म सास्ती दिन सरकार नै लागेको घटना ताजै छ। अरू क्षेत्रको अवस्था पनि त्योभन्दा कम छैन। दिनानुदिन बेथिति र भ्रष्टाचार तथा भेदभाव र अत्याचारका घटनाहरू बढ्दै गएका छन्। युवाहरू गरिबी र बेरोजगारी, दुर्व्यसनी लगायत विकृतिमा फसेका छन्। दिनमा हजारौंको संख्यामा युवाहरू विदेश पलायन छन्। सम्बन्धविच्छेदका घटनाले प्रशासन र अदालत भरिभराउ छन्। विभिन्न घटनामा मुछिएर युवाहरू जेलमा छन्। प्रधानमन्त्रीले भनेको उमेर समूहका कति युवा उपचारै नपाई मर्नु परिरहेको छ। यतिसम्म कि अस्पतालमै शव बन्धक हुनुपरिरहेको दर्दनाक खबर आउने गरेका छन्। यस्तो अवस्थामा प्रधानमन्त्रीले भनेको जस्तै कुन युवाहरूले समयमै विवाह गरेर तीन सन्तान जन्माइदेलान् ?

अहिले भएका युवा र उनीहरूबाट जन्मेका सन्तानहरूको पालनपोषण र हेरचाह गर्न त कठिन छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको सल्लाह कतिको फलदायी हुन्छ र कति जना युवाले यो उपदेश मान्छन्? देश विदेशको अवस्था हेरेर अहिलेका धेरैजसो युवाहरू बच्चा नै नजन्माई तरुण अवस्थामा बस्न चाहन्छन्। यदि सन्तान जन्माइहाले पनि एकदेखि दुई सन्तान “ईश्वरको वरदान” भन्दै गाउँ शहरमा चित्त बुझाइरहेका छन्। तीन सन्तान कसरी सरकारका लागि जन्माउने हुन् र राज्यको जनसंख्या वृद्धिदरमा सहयोग गर्ने हुन्?

देश ७०-८० वर्षका वृद्ध नेताहरूले कब्जा गरेका छन्। गाउँघर, शहर र सरकारमा उनीहरूकै रजगज छ। देशको सारा सम्पत्ति र अर्थतन्त्र उनीहरूकै कब्जामा छ। जे भन्यो त्यही हुन्छ। चुनावमा जसलाई जिताउन चाह्यो उही जित्छन्। त्यसैले भयो, कमरेड प्रधानमन्त्रीज्यू, बरु तपाईंहरूकै पाको उमेर समूह हरेक हिसाबले सक्षम छ। बलजोड तपाईंहरूले नै गर्नुस्। तपाईंहरूबाट थपिने ती तीन सन्तानहरू बरु तपाईंहरू जस्तै सक्षम र पाको हुन्छन्। यसलाई अन्यथा नलिनुहोला। अपमान बोध नगर्नुहोला। एउटा युवाको ठाउँबाट हाम्रो पनि सकेको, बुझेको र झेलेको सुझाव हो।

देशमा कानून छँदैछ– २० वर्ष पूरा, विवाहको उमेर पूरा। तर पनि युवाहरू ४० पर्खिन विवश छन्। बरु तपाईंहरूभन्दा युवाहरू धेरै सचेत छन्। जति जिम्मेवारी निर्वाह गर्न सकिन्छ, त्यति नै उमेरमा विवाह र त्यति नै सन्तान जन्माएर परिवार, समाजको प्रतिष्ठा राखिरहेका छन्। तपाईंहरूको भाषणभन्दा आजको युवाको आफ्नै चिन्ता छ । सक्नुहुन्छ भने, युवाहरूलाई कहिले भूटानी शरणार्थीको नाममा, कहिले भिजिट भिसाको नाममा त कहिले म्यानपावर व्यापारको नाममा बेचिनबाट रोक्ने प्रयास गर्नुस्। हैन भने भविष्यको आशा नदेखेर मानसिक तनाव झेलिरहेका युवालाई विवाह गर्न र यति र उति सन्तान जन्माउ भन्न छाडिदिनुस्।

लेखक
राजेश विद्रोही

राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?