+
+
Shares

भन्सारको बेथिति : कागजमा चामल, बोरामा चिनी

खुला सीमानाका कारण तस्करहरूले त्यसकै फाइदा उठाउँदै अन्न र मलको बोरामा धान, चामल र लत्ताकपडा भन्दै दिनहुँ चिनी तस्करी गरिरहेका छन् । भन्सारकै अधिकारीहरूका अनुसार नवलपरासी, भैरहवा, नेपालगञ्ज, कृष्णनगर, कञ्चनपुरका नाकाबाट यस्तो अवैध आयात बढी हुने गरेको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ साउन १५ गते ७:३३

१५ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ असार पहिलो साता चामलको बिल देखाएर चिनी ढुवानी गरेको अवस्थामा सशस्त्र प्रहरीले रुपन्देहीमा दुुई वटा ट्रकसहित ठूलो परिमाणमा चिनी बरामद गर्‍यो ।

त्यसपछि राजस्व अनुसन्धान कार्यालय बुटवल कार्यालयले अनुसन्धान गर्दा  नवलपरासी रामग्राम नगरपालिका–८ परासीस्थित नवज्योती ट्रेडर्सले ३ करोड ४७ लाख रुपैयाँ बराबरको चिनीलाई चामल उल्लेख गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाउने गरेको फेला पर्‍यो । उक्त ट्रेडर्सले नवलपरासीका विभिन्न सीमानाका हुँदै भन्सार छलेर चिनीलाई चामल भनेर ल्याएको थियो ।

ट्रेडर्स सञ्चालक सौरभ यादवले सुर्खेतमा रहेको आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मालाई चामलको बिल बनाइ ११ लाख ७१ हजार बराबरको चिनी पठाउँदै गर्दा ट्रकसहित पक्राउ परेपछि चिनी तस्करीको अवैध धन्दा बाहिरिएको थियो ।

राजस्व कार्यालयको अनुसन्धान क्रममा यसअघि पनि यादवले तीन पटकसम्म चामलको बिल बनाएर चिनी पठाएको खुलेको थियो ।

यस्तै भदौ २०८१ मा भैरहवा भन्सार कार्यालयले भारतबाट चामल भनेर पोखरा लैजाँदा गरेको ४ सय २० बोरा अवैध चिनी बरामद गरेको थियो ।

असोज २०८० मा पनि रुपन्देही सिद्धार्थनगरबाट सशस्त्र प्रहरी बलले चामलको बोरामा ओसारपसार भएको चिनी बरामद गरेको थियो । उक्त समय सावा मन्सुली, स्टिम राइस लगायत ३ दर्जन बढी बोरामा चिनी प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टिमले नियन्त्रणमा लिएको थियो ।

नेपाली चामल उत्पादकको बोरामा २५ किलो र ५० किलो प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा अवैध रूपमा भित्रिएको २२ क्विन्टल चिनी सिद्धार्थनगर–८ मायादेवी बजार नजिकैबाट नियन्त्रणमा लिइएको थियो ।

यी त सार्वजनिक भएका केही प्रतिनिधि घटनामात्र हुन् । बाहिर नआएका, भन्सार कार्यालयहरूले चेकजाँच नगर्दा सिधै भन्सार पास भएर ठूलो परिमाणमा धानचामलका नाममा चिनी तस्करी हुँदै आएको जानकारहरू बताउँछन् ।

खुला सीमानाका कारण तस्करहरूले त्यसकै फाइदा उठाउँदै अन्न र मलको बोरामा धान, चामल र लत्ताकपडा भन्दै दिनहुँ चिनी तस्करी गरिरहेका छन् ।

भन्सारकै अधिकारीहरूका अनुसार नवलपरासी, भैरहवा, नेपालगञ्ज, कृष्णनगर, कञ्चनपुरका नाकाबाट यस्तो अवैध आयात बढी हुने गरेको छ ।

भन्सार इन्स्पेक्टरलाई कुनै–कुनै आयातित सामानमा शंका लागे मात्रै चेकजाँच हुने गर्छ । भन्सार कार्यालयमा काम गर्ने एक भन्सार एजेन्टका अनुसार शंका लागेर चेकजाँच गर्दा धानचामलका बोरामा चिनी तस्करी भइरहेको भेटिन्छ ।

व्यवसायीले माथिसम्मै पहुँच बनाएका छन् । त्यही पहुँचका आधारमा धेरैको चेकजाँच नै हुँदैन । चामल भनेर चिनी आयात गर्दा व्यापारीलाई पनि फाइदा हुने र माथिल्ला तहका कर्मचारीलाई पनि फाइदा हुने हुँदा यस्ता धेरै घटना बाहिर नै आउँदैनन् ।

ती एजेन्ट १० देखि १५ प्रतिशत रेसियोमा धानचामलका नाममा चिनी तस्करी भइरहेको दाबी गर्छन् ।

‘एक त ठूला भन्सारमा चेकजाँच गर्ने जनशक्ति नै कम छ, जनशक्ति नै कम हुँदा व्यवसायीले भन्सार चेकजाँच छल्ने अवसर पाउँछन्,’ ती एजेन्टले अनलाइनखबरसँग भने, ‘व्यवसायीले माथिसम्मै पहुँच बनाएका छन् । त्यही पहुँचका आधारमा धेरैको चेकजाँच नै हुँदैन । चामल भनेर चिनी आयात गर्दा व्यापारीलाई पनि फाइदा हुने र माथिल्ला तहका कर्मचारीलाई पनि फाइदा हुने हुँदा यस्ता धेरै घटना बाहिर नै आउँदैनन् ।’

यदि शंका लागेर चेकजाँच गर्न परे पनि धेरै झन्झट हुने ती एजेन्ट बताउँछन् । ‘ट्रक रोकेर चेकजाँच नै गर्न थालियो भने पनि एक–एक बोरा बाहिर निकाल्नुपर्छ । ती सबै बोरा केलाउँदा अन्य गाडीको भन्सार पास हुँदैन । ती सबै रोकिन्छन् । त्यसैले यस्तो झन्झटिलो काम कोही पनि गर्न चाहँदैनन्,’ उनी भन्छन् ।

व्यापारीले भारतबाट चिनी आयात गर्दा सस्तो पर्ने र नेपाली बजारमा महँगो मूल्यमा बिक्री गर्न पाइने भएपछि चिनी तस्करी गर्ने गरेको उनले बताए ।

कृषिजन्य वस्तुका नाममा अरू नै आयात

सरकारी अधिकारीहरूका अनुसार भन्सारबाट कृषिजन्य वस्तुका नाममा अन्य धेरै वस्तु आयात भएको भन्ने गुनासो कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइरहन्छ ।

तर, यस्तो गुनासो नयाँ भने होइन । विगतमा पनि धानचामलका नाममा चिनी लगायत अन्य वस्तु आयात भइरहेका घटना बाहिरिएका थिए ।

यसमा कृषि मन्त्रालयको क्वारेन्टिन शाखा र भन्सारबीच एउटै सामान आयो कि आएन भन्नेमा पटक–पटक मतभेद हुने गरेको छ ।

क्वारेन्टिनका कर्मचारीहरूले नै धानचामलका नाममा चिनी, कपडा लगायत वस्तु आयात भएको भनेर मन्त्रालयमा नै गुनासो गर्ने गरेका छन् ।

यो भन्सार विभाग अन्तर्गतका कार्यालयले चेकजाँच र जाँचपास गर्ने हो । तर, नाकामा नै राम्रोसँग चेकजाँच नहुँदा कृषिजन्य वस्तुका नाममा अन्य वस्तु भित्रिएका छन् । यसबाट राज्यलाई धेरै राजस्व हानि पनि भइरहेको छ । एक वस्तुका नाममा अर्को वस्तु आयात हुँदा आयात तथ्यांक बढी देखिएको उनीहरूको भनाइ छ ।

पछिल्लो समय स–साना तस्करीका घटना एकाध बाहिर आए पनि ठूला र संगठित रूपमा दिनहुँ भइरहेका तस्करीका घटना बाहिर पनि आउँदैन । र, त्यसरी संगठित रूपमा तस्करी गर्ने पनि पक्राउ पर्दैनन् ।

चिनी उद्योगीहरू सीमा सुरक्षा प्रशासनले बलियोसँग अनुगमन नगर्दा तस्करी नियन्त्रण हुन नसकेको बताउँछन् । सीमामै सरकारले ध्यान दिएर कडा अनुगमन र नियन्त्रण गर्ने हो भने तस्करी मौलाउन नपाउने उनीहरूको भनाइ छ ।

चामलका नाममा चिनी आयात पुष्टि

कृषि मन्त्रालयले धान उत्पादनको बढ्दो तथ्यांक प्रस्तुत गरिरहँदा भारतबाट अर्बौं रुपैयाँको ठूलो परिमाणमा धानचामल आयात हुनुले पनि चामलका नाममा चिनी आयात भएको पुष्टि हुन्छ ।

मन्त्रालयले नै गत आव २०८१/८२ मा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको तथ्यांक सार्वजनिक गरेको छ । र, सोही वर्ष भारतबाट ४० अर्ब १८ करोड रुपैयाँको ७ लाख ७५ हजार २ सय ६८ टन धानचामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

कृषि मन्त्रालयका अनुसार मुलुकमा वार्षिक ६५ देखि ७० लाख टन धान चामल खपत हुन्छ । यो हिसाबले नेपाललाई अपुग धान चामल १० देखि ११ लाख टन हो ।

यस्तै आव २०८०/८१ मा भने २२ अर्ब २३ करोड रुपैयाँको ४ लाख ९ हजार टन धानचामल आयात भएको थियो । सोही वर्ष ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो ।

नाकामा नै राम्रोसँग चेकजाँच नहुँदा कृषिजन्य वस्तुका नाममा अन्य वस्तु भित्रिएका छन् । यसबाट राज्यलाई धेरै राजस्व हानि पनि भइरहेको छ ।

गत वर्ष आयात भएको धानचामलको परिमाणले यसका नाममा अरू नै वस्तु आयात भएको हो कि भन्ने पनि शंका उब्जाएको छ । धान उत्पादन बढी भएकै वर्ष धानचामलको ठूलो परिमाण आयात हुँदा यो शंकालाई पुष्टि गर्ने आधार बन्छ ।

यस्तै अघिल्ला वर्षहरूमा पनि धानचामल आयात सामान्य वृद्धिको तुलनामा तीव्र देखिएको थियो ।

२०७९–८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको थियो । सोही वर्ष ३६ अर्ब ६५ करोड रुपैयाँको धानचामल आयात भएको थियो ।

आव २०७८/७९ मा ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको १ अर्ब १३ करोड किलो धानचामल आयात भएको थियो । सोही वर्ष ५१ लाख ३० हजार ६ सय २५ टन धान उत्पादन भएको थियो ।

यस्तै २०७७/७८ मा ५० अर्ब ७८ करोड रुपैयाँ बराबरको १ अर्ब ३३ करोड किलो चामल तथा धान आयात भएको थियो । उक्त वर्ष ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ ।

तथ्यांक केलाउँदा धान उत्पादन बढी भएकै वर्ष भारतबाट पनि आयात बढी भएको छ ।

चामलको बोरामा चिनी भेटिनु सेटिङको धन्दा : चिनी उद्योगी

भारतसँगको खुला सीमानाबाट हुने तस्करी र भन्सार नाकाबाट अनधिकृत आयातले समस्या खेप्दै आइरहेको चिनी उद्योगीहरू बताउँछन् ।

नेपाल चिनी उद्योग संघ अध्यक्ष शशिकान्त अग्रवाल चामलको बोरामा चिनी तस्करी हुनु सेटिङको धन्दा भएको बताउँछन् ।

‘खुलेआम चिनी तस्करी हुँदा नाकामा चेकजाँच हुँदैन, माथिसम्मै सेटिङ हुने हुँदा त्यस्तो चिनी नाकाबाट सहजै जाँचपास हुन्छ,’ अध्यक्ष अग्रवाल भन्छन्, ‘तस्करी गर्नेलाई धमाधम कारबाही गर्ने हो भने सरकारको राजस्व पनि बढ्थ्यो, नेपाली चिनी पनि सहजै बिक्री हुने र किसानलाई पनि राहत हुन्थ्यो । तर, यसमा कसैले सोच्नै चाहेका छैनन् ।’

उनका अनुसार भारतमा चिनी उत्पादन लागत कम पर्छ । ‘त्यहाँ सरकारले भ्याट छुट गरेको छ, उखुको लागत कम पनि पर्छ,’ उनी भन्छन्, ‘हाम्रोमा उत्पादन लागत नै धेरै पर्ने हुँदा बजार मूल्य पनि धेरै पर्न जान्छ । भारतको चिनी सस्तो पर्न जाने हुँदा चिनी तस्करी भइरहेको छ ।’

महोत्तरी रामनगरस्थित एभरेस्ट चिनी मिलका बित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुर अवैध रूपमा आयात भएको चिनीका कारण नेपाली चिनी उद्योग धराशायी बन्दै गइरहेको बताउँछन् ।

उनका अनुसार तस्करीको चिनीले गर्दा मुलुकमै उत्पादन भएको चिनीको भाउ घटाएर बेच्नुपर्ने र उत्पादन लागत पनि नउठ्ने अवस्था आएको छ ।

‘भारतबाट अवैध रूपमा बजार भित्रिएको चिनीका कारण हामी धेरै मर्कामा छौं, यो हाम्रो आजको समस्या होइन, वर्षौंदेखिको हो,’ उनी भन्छन्, ‘हामीले उत्पादन गरेको चिनी लागतभन्दा कममा बिक्न थाल्यो । घाटामा कारोबार भइरहेको छ ।’

चालु आवको बजेटले नै चिनीको भन्सार महसुल ३० बाट १५ प्रतिशतमा झारेपछि अझै ठूलो समस्या थपिएको उनको भनाइ छ ।

‘गोदामभरि चिनी छ, तर ऋण लिएर उखु किसानलाई भुक्तानी गर्‍यौं,’ वित्तीय महाप्रबन्धक ठाकुर भन्छन्, ‘हामीले बेच्दा मूल्य घटाएर बेच्नुपर्‍यो, ब्याज कसरी तिर्ने भन्ने समस्या छ ।’

उनका अनुसार उद्योगमा ८४ हजार ८ सय टन चिनी स्टक छ । एक किलो चिनीमा ३ रुपैयाँसम्म घाटा पर्न गएको छ । यस्तै बजारमा चिनीको मूल्य पनि ५ रुपैयाँसम्म घट्न पुगेको उनी बताउँछन् ।

नेपालमा चिनीको माग कति हो ?

चिनी उद्योगहरूले अघिल्लो आव २०८०/८१ मा २ करोड ३८ हजार क्विन्टल उखु क्रसिङ गरेका थिए । गत सिजनमा १ लाख ७८ हजार ७ सय १७ टन चिनी उत्पादन भएको थियो । गत आव २ करोड १४ लाख क्विन्टल उखु क्रसिङ भएको थियो ।

चालु आव २०८२/८३ को बजेटमा यसअघि चिनी आयातमा लाग्दै आएको ३० प्रतिशत भन्सार शुल्क घटाएर १५ प्रतिशतमा झारिएको छ । सरकारको यो निर्णयले चिनी आयात बढ्ने र आयातित चिनीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उद्योगीहरू चिन्तित छन् ।

नेपालको वार्षिक चिनी माग करिब २ लाख ५० हजार टन हो । तर, उत्पादनभन्दा माग धेरै भए पनि नेपाली उद्योगीले बजार पाउन मुस्किल भएको उद्योगी बताउँछन् ।

मंसिर २०८१ मा चिनी उद्योगीले पत्रकार सम्मेलन नै गरेर चिनी तस्करी हुँदा स्वदेशी चिनी उद्योगी मारमा परेको र यसलाई अविलम्ब रोक लगाउन माग गरेका थिए ।

उनीहरूले खुला सीमाका कारण हाल अत्यधिक मात्रामा भइरहेको चिनीको अनधिकृत पैठारीका कारण चालु क्रसिङ सिजनमा उत्पादन हुने चिनीसमेत समयमा नै बिक्री नभई मौज्दात रहन जाने भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने माग राखेका थिए ।

भारतले त्यहाँ चिनीमा भ्याट छुट गरेको छ, उखुको लागत कम पनि पर्छ । नेपालमा उत्पादन लागत नै धेरै पर्ने हुँदा बजार मूल्य पनि धेरै पर्न जान्छ । भारतको चिनी सस्तो पर्न जाने हुँदा चिनी नेपालतिर तस्करी भइरहेको छ ।

भारतबाट अवैध रूपमा चिनी आयात हुँदा पनि बजारमा चिनीको मूल्य घटेको छैन । उपभोक्ताले एक किलो चिनी खरिद गर्न १ सय १० रुपैयाँ तिर्नुपर्छ ।

यस्तो हिसाबले एक किलो चामलभन्दा एक किलो चिनीलाई महँगो मूल्य तिर्नुपर्छ । व्यापारीहरूले भारतबाट सस्तो चिनी किनेर ल्याई उपभोक्तालाई महँगो मूल्यमा बेचेर धेरै फाइदा लिने गरेका छन् ।

सरकारले चिनीको अवैध आयात भइरहेको र यसको प्रत्यक्ष मार नेपाली उद्योगले खेपिरहेको भन्दै चिनी उद्योगलाई संरक्षण गर्न अघिल्लो आवसम्म आयातित चिनीको भन्सार महुसल दोब्बर बढाएर ४० प्रतिशतसम्म पुर्‍याएको थियो ।

फेरि, १० प्रतिशत घटाएर ३० प्रतिशत बनाइएकोमा चालु आवको बजेटमा १५ प्रतिशत बनाइएको छ । संगठितदेखि खुद्रासम्म चिनी तस्करी हुँदा नेपाली उद्योगीले उत्पादन गरेको चिनी गोदाममा थन्किएको गुनासो बारम्बार गरिरहेका छन् ।

यसअघि धानचामल आयातमा ५ प्रतिशत कृषि सेवा शुल्क र २.५ प्रतिशत अग्रिम आयकर लाग्ने गरेकोमा चालु आवको बजेटले अग्रिम आयकर हटाएको छ ।

चिनी आयात गर्नुभन्दा धानचामल आयात गर्न सस्तो पर्ने हुँदा यसले पनि चिनी तस्करी भइरहेको पुष्टि हुन्छ ।

भारतको भन्सार नीतिको प्रभाव

कृषि मन्त्रालयका वरिष्ठ कृषि विज्ञ तथा सूचना अधिकारी महानन्द जोशी भने नेपालमा धानचामल आयातमा घटबढ हुनुमा भारतको निर्यात भन्सार नीतिले प्रभाव पार्ने बताउँछन् ।

भारतले धानचामल निर्यात खुकुलो गर्दा नेपालमा उक्त वस्तुको आयात बढ्ने उनी बताउँछन् ।

‘भारतले निर्यात भन्सार नीति अनुसार जुन दर लगाउँछ, त्यो अनुसार फरक पर्छ,’ उनी भन्छन्, ‘अघिल्लो वर्ष भारतले चामल निर्यातमा कडाइ गर्दा आयात कम भएको थियो । गत वर्ष चामल निर्यात खुला गर्दा नेपालमा पनि चामलको आयात वृद्धि भएको हो ।’

नेपालका व्यवसायीले सस्तोमा भारतबाट धानचामल खरिद गरेर ल्याई यहाँ स्टोर गरेर राखेको हुँदा आयात बढी भएको हो कि भन्ने जस्तो देखिएको उनको भनाइ छ ।

नेपालमा पछिल्ला वर्ष धान उत्पादन क्षेत्र घट्दै गए पनि उत्पादन भने बढ्दै गएको छ । सूचना अधिकारी जोशीका अनुसार उत्पादन कम हुनु आयात बढी हुनुको कारण नभई भारतले धानचामल निर्यात खुला छाड्दाको प्रभाव हो ।

‘भारतमा पनि फ्ल्यास सिजनको धान उत्पादन भएको हुँदा यहाँका व्यापारीले एकै पटक ठूलो परिमाणमा ठेक्का हाने,’ उनी भन्छन्, ‘सोही अनुसार यहाँ धानचामल आयात गरेजस्तो पनि देखिन्छ । विशेषगरी भारतको भन्सार नीतिकै कारण आयात घटबढ हुन्छ ।’

उनका अनुसार भारतले हरेक ३ वर्षमा आफ्नो बफर स्टक क्लियर गर्छ । सोही अनुसार भारतले गत वर्ष पुरानो स्कट क्लियर गरेर नयाँ खाद्यान्न भण्डारण गरेको भन्ने पनि सुनिएको छ । सस्तो मूल्यमा भारतले धान चामल बिक्री गर्दा व्यापारीले ठूलो परिमाणमा उठाएका हुन् ।

स्वदेशीभन्दा भारतीय चामल सस्तो पर्न जाने हुँदा आन्तरिक उत्पादन बढे पनि आयात नघट्ने देखिन्छ ।

वार्षिक १० देखि १२ लाख टन धानचामल अपुग

कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी नेपाललाई वार्षिक १० देखि १२ लाख टन धानचामल अपुग हुने हुँदा आयात गर्नुपर्ने बताउँछन् । उनका अनुसार नेपालमा एक व्यक्तिले औसतमा १ सय ३३ किलो चामल खपत गर्ने सर्वेक्षणले देखाउँछ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । सरकारले नै नेपालको कुल जनसंख्याममा ३० देखि ३५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । जबकि, भात खाने धेरै जनशक्ति विदेशमा हुँदा नै धेरै ठूलो परिमाणको धानचामल आयात भइरहेको छ ।

केही मदिरा उद्योगले रक्सी उत्पादनको कच्चापदार्थका रूपमा चामल प्रयोग गर्ने भएकाले नेपालमा चामल आयात बढेको तर्क गरिए पनि मदिरामा टुक्रा चामल (कनिका) मात्रै प्रयोग हुन्छ ।

‘नेपालमा आयात हुने धानचामलको आँकडामा हामीले भारतको निर्यात नीति हेर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘मुख्य हाम्रो ९९.९ प्रतिशत धानचामल भारतबाटै आयात हुने हो । अघिल्लो वर्ष भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाउँदा आयात स्वत: घटेको थियो ।’

उनका अनुसार नेपालमा धानचामल उत्पादन र आयातको तथ्यांक छ । तर, उद्योगी–व्यापारीले कति स्टकमा राखेका छन् त्यो यकिन तथ्यांक छैन ।

‘बजारमा कहाँ–कहाँ कति बोरा धान चामल आयात गरेर भण्डारण गरिएको छ भन्ने खोजीको विषय हो, एउटा धानचामल व्यापारीले गोदाममा १ लाख टन स्टोर गरेर राखेका छन् वा १० लाख टन राखेका छन्, यो खोजीको नै विषय हो,’  तथ्यांक अधिकृत रेग्मी भन्छन्, ‘नेपालमा धानचामलको ठ्याक्कै स्टक कति हो भन्ने तथ्यांक सार्वजनिक गर्नु कठिन विषय हो ।’

धान उत्पादन बढी भएको वर्ष आयात पनि बढी भएको तथ्यांकले देखाउने हुँदा यही सत्य हो भनेर जवाफ दिन गाह्रो भएको उनको भनाइ छ ।

तथ्यांकले आन्तरिक मागको अपुग परिमाणभन्दा पनि धानचामल आयात बढी देखाउँछ ।

यो विषयमा सम्बन्धित निकायले अध्ययन गर्न आवश्यक रहेको विज्ञहरू बताउँछन् । मागभन्दा बढी धानचामल आयात हुनुको कारण विनाअध्ययन भन्न सकिने अवस्था नरहेको उनीहरूको भनाइ छ ।

भारतबाट आयात नगरी भात खान पुग्दैन : व्यवसायी

नेपाल चामल, तेल, दाल उद्योग संघ सदस्य बिभोर अग्रवाल भने धानचामल आयातको तथ्यांक सही भएको दाबी गर्छन् ।

अघिल्लो आर्थिक वर्ष भारत सरकारले धान निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएको र चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । गत वर्ष धान उत्पादन राम्रो भएको हुँदा धानचामल निर्यातमा लगाएको भन्सार शुल्क र प्रतिबन्ध भारतले हटायो । सोही कारण नेपालमा धानचामल आयात बढेको उनी बताउँछन् ।

‘हामीले जति धानचामल खपत गर्छौं, त्यति हाम्रो देशमा फल्दैन,’ उनी भन्छन्, ‘कृषि मन्त्रालयले वर्षेनि ५८ देखि ५९ लाख टन धान फल्छ भने पनि नेपालीलाई भारतबाट धानचामल आयात नगरी खान पुग्दैन ।’

संघ सदस्य अग्रवाल सरकारले वर्षेनि सार्वजनिक गर्ने धान उत्पादनको तथ्यांक गलत भएको दाबी गर्छन् ।

‘सरकारको तथ्यांकले अघिल्लो आर्थिक वर्ष ५४ लाख टन र गत आर्थिक वर्ष ६९ लाख टन धान उत्पादन भएको तथ्यांक सार्वजनिक गरेको छ, तर यो सही तथ्यांक होइन,’ उनी भन्छन्, ‘यदि नेपालमा ५९ लाख टन धान उत्पादन भइरहेको भए धान चामलको आयात किन बढ्थ्यो ? आयात त प्रत्येक वर्ष बढिरहेको छ नि !’

अग्रवाल भने सरकारको यो निर्णयले आयातित धानचामल अझ सस्तो हुने र स्वदेशी उद्योगलाई भारतबाट आयात हुने अनुदान प्राप्त चामलसँग प्रतिस्पर्धा गर्न समस्या पार्ने बताउँछन् ।

उद्योगीले चालु आर्थिक वर्षको बजेटमा कृषि सेवा शुल्क ५ बाट २ प्रतिशतमा झार्न भने पनि सरकारले सम्बोधन नगरेको उनको भनाइ छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?