+
+
Shares

कतिसम्म महँगो चामलको भात खान्छन् नेपाली ?

 सयदेखि डेढ सय रुपैयाँ किलोको चामल उपभोग गर्ने उपभोक्तालाई ८ सय रुपैयाँ किलोको चामल उपभोग सोचभन्दा बाहिरको हुनु अस्वाभाविक पनि होइन ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ जेठ २ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बजारमा महँगोदेखि सस्तो चामलका उपभोक्ता छन् । अहिले बजारमा नेपाली ब्रान्डदेखि विदेशी ब्रान्डका सस्तादेखि महँगासम्म मूल्यका चामल किन्न पाइन्छ ।
  • नेपालका मिलहरूले पनि अहिले लोकल चामल बनाइ आफैं सामाजिक सञ्जालमा विज्ञापन गर्दै आइरहेका छन् । लोकल चामलका विषयमा गरिएका त्यस्ता विज्ञापन सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ ।
  • नेपालमा चर्चित बनेको जुम्लाको मार्सी चामलको मूल्य प्रतिकिलो १ सय ७० देखि ३ सय रुपैयाँसम्म रहेको छ । यस्तै अनदी चामल एक किलोको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।

२ जेठ, काठमाडौं । नेपाली उपभोक्ताले कतिसम्म मूल्यको चामल उपभोग गर्छन् होला ? किलोको ९०, १ सय, २ सय वा ३ सय रुपैयाँ । तर, नेपाली बजारमा किलोको अधिकतम ८ सय रुपैयाँसम्म पर्ने चामल पनि किन्न पाइन्छ ।

यति महँगो चामल विदेशबाट आयात गर्ने त होला भन्ने स्वाभाविक प्रश्न उठ्छ । तर, तपाईं गलत सोच्दै हुनुहुन्छ किनकि यतिविधि महँगो चामल नेपालमै उत्पादन हुने गर्छ । जसको उपभोग गर्न सर्वसाधारण उपभोक्ताले ‘दुई पटक सोच्नुपर्ने’ हुन्छ ।

१ सयदेखि डेढ सय रुपैयाँ किलोको चामल उपभोग गर्ने उपभोक्तालाइ ८ सय रुपैयाँ किलोको चामल उपभोग सोचभन्दा बाहिरको हुनु अस्वाभाविक पनि होइन ।

काठमाडौं नयाँ बानेश्वरकी सुष्मा थापा सकेसम्म आफ्नै देशमा उत्पादन हुने चामलको भात खान्छिन् । उनको परिवारमा श्रीमान्, एक छोरा र एक छोरी छन् । उनले घर नजिकै रहेको एउटा मार्टबाट अधिकांश बेला चामल किनेर लैजान्छिन् ।

यसै साता सोही मार्टमा भेटिएकी थापाले आफू र परिवारले आफ्नै देशमा उत्पादन भएको चामल खाने गरेको सुनाइन् । उनले किलोको २ सय ३० रुपैयाँ पर्ने ‘लोकल बासमती’ चामल खाने गरेको बताइन् ।

‘आफ्नै देशको उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ भनेर पनि हामी घरमा नेपालमै उत्पादन भएको लोकल बासमती चामल खाने गर्छौं,’ थापाले अनलाइनखबरसँग भनिन्, ‘विदेशी चामल महँगो हुन्छ भन्ने मेरो बुझाइ थियो तर पछिल्लो पटक मैले के थाहा पाएँ भने नेपाली बजारमा सबैभन्दा महँगो चामल त नेपालमै फलेको पो हुने रहेछ ।’

उनले चामल र अन्य दैनिक उपभोग्य सामान खरिद गर्ने सोही मार्टले भर्खरै ‘कालो चामल’ पनि बेच्न राखेको छ । मार्टमा नयाँ चामल देखेपछि उनले त्यसबारे सोधीखोजी गरिन् । मार्टले कालो चामलको भाउ किलोको ६ सयदेखि ८ सय रुपैयाँ भनेपछि उनी तीनचित खाइन् ।

‘बाफरे बाफ, यस्तो महँगो चामल पनि नेपालमै उत्पादन हुने रहेछ,’ थापाले भनिन्, ‘म त विदेशी चामल महँगो होला भन्ठानेकी थिएँ, होइन रहेछ । अब एक पटक यो कालो चामलको भात खाने रहर लागेको छ ।’

नेपाली खाना

सोही मार्ट सञ्चालक पछिल्लो समय काठमाडौंमा लोकल (स्थानीय) चामलको माग बढेको सुनाउँछन् ।

उनका अनुसार अहिले सीमित वर्गले महँगो पर्ने भए पनि लोकल चामल नै खरिद गर्ने गरेका छन् । ‘पछिल्लो समय माग बढेपछि मैले भक्तपुरको एक मिलबाट लोकल चामल मगाउने गरेको छु,’ उनले भने, ‘अहिले लोकल बासमती, मेलम्ची जिरा मसिनो र पोख्रेली चामल धेरै बिक्री हुन्छ । केही उपभोक्ताले माग गरेको भएर मैले ब्ल्याक राइस (कालो चामल) पनि राखेको छु । त्यसको एक किलोको मूल्यमा त अर्को खालको तीन किलो चामल किन्न पुग्छ ।’

यस्तै काठमाडौं टोखा बस्ने रमेश पौडेलले पनि टोखामै रहेको गणेश राइस मिलबाट लोकल चामल किनेर ल्याउने गरेका छन् ।

पौडेलले खाने गरेको चामल पनि लोकल बासमती हो । उनले लोकल चामलको भात स्वादिलो हुने हुँदा आफूले मिलबाटै किनेर ल्याउने गरेको सुनाए । ‘मलाई पोलिस गरेको चामलको भात खानभन्दा पनि लोकल चामलको भात नै खान मन पर्छ,’ उनले भने, ‘स्वादिलो पनि हुन्छ, धेरै छिटो भोक पनि लाग्दैन, अलिकति महँगो भए पनि स्वादिलै खाउँ भन्ने लाग्छ ।’

उनले ल्याउने गरेको बासमती चामलको मूल्य १ किलोलाई १ सय ४४ रुपैयाँ पर्छ ।

चामलका उपभोक्ता थरीथरी

बजारमा महँगोदेखि सस्तो चामलका उपभोक्ता छन् । अहिले बजारमा नेपाली ब्रान्डदेखि विदेशी ब्रान्डका सस्तादेखि महँगासम्म मूल्यका चामल किन्न पाइन्छ ।

किराना पसलमा बिक्रीमा राखिएका चामल र अन्य खाद्यवस्तु

बुद्धनगरस्थित भट्टराई किराना स्टोरका सञ्चालक सुनिता भट्टराई पछिल्लो समय उपभोक्ताको रुचि पोलिस गरेका चामलभन्दा पनि पोलिस नभएका चामलमा रहेको बताउँछिन् ।

उनका अनुसार अहिले उपभोक्तामा लोकल चामलप्रति बढी आकर्षण रहेको देखिन्छ । ‘लोकल चामलको माग भएपछि हामीले पनि भक्तपुरको एक मिलबाट चामल ल्याएर बेच्न थालेका छौं,’ उनले सुनाइन्, ‘हामीले बेच्ने चामल किलोको ९० रुपैयाँदेखि २ सय ६० रुपैयाँसम्म छ ।’

नेपालका मिलहरूले पनि अहिले लोकल चामल बनाइ आफैं सामाजिक सञ्जालमा विज्ञापन गर्दै आइरहेका छन् । लोकल चामलका विषयमा गरिएका त्यस्ता विज्ञापन सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ ।

ती विज्ञापनमा ‘देशका विभिन्न भेगमा उत्पादन गरिएका रैथाने र लोपोन्मुख धानको अर्गार्निक चामल र स्वास्थ्यलाई गर्ने फाइदा’ बारे समेत उल्लेख गरिएका छन् । सोही विज्ञापन देखेर चामल मगाउने र सोधपुछ गर्ने उपभोक्ता पनि प्रशस्तै देख्न सकिन्छ ।

 लोकल चामलको माग अत्यधिक

लामो समयदेखि बौद्धमा ‘लेकाली कोसेली मिल’ सञ्चालन गरिरहेका विकास जमरकट्टेल पोखरा, झापा, नुवाकोट, रुपन्देही, मेलम्ची, धादिङ लगायत स्थानबाट धान संकलन गरेर कुटानी पिसानी गरी लोकल चामल बेच्दै आएको सुनाउँछन् ।

उनले ५ देखि ७ प्रकारको चामल बेच्दै आएका छन् । उनले बेच्ने चामलमा लोकल बासमती, मेलम्ची बासमती, मेलम्ची जिरा मसिनो, मेलम्ची पोख्रेली, खुमल–४, स्पेसल समुद्र फिनी, कालनमक/नुनिया, पोख्रेली जेठो बुढो र ब्ल्याक राइस छन् ।

‘हामीले मेलम्ची, पोखरा लगायत विभिन्न स्थानबाट धान संकलन गरेर कुटानी पिसानी गरी चामल तयार पार्छौं,’ उनले भने, ‘हामीले बेच्ने यी सबै लोकल चामल स्वास्थ्यका लागि फाइदाजनक छन् । हामीले तयार पारेको चामलमा कुनै स्टिम र पोलिस हुँदैन ।’

भक्तपुरमा धानको बिस्कुन

मूल्य अलिकति महँगो पर्ने भए पनि उपभोक्ताको माग बढी भएको उनी बताउँछन् ।

उनले बिक्री गरिरहेको चामलको मूल्य प्रतिकिलो १ सय ३५ रुपैयाँदेखि ६ सय रुपैयाँसम्म छ । उनका अनुसार पोख्रेली जिरा मसिनो चामल प्रतिकिलो १ सय ३५, बासमती १ सय ८०, जिरा मसिनो १ सय ४४, खुमल–४ को १ सय ६०, पोख्रेली जेठोबुढो ३ सय र कालानमक ३ सय रुपैयाँमा किन्न पाइन्छ ।

यस्तै ब्ल्याक राइसको मूल्य प्रतिकिलो ६ सय रुपैयाँ, ब्राउन राइस २ सय ४० रुपैयाँ र स्पेसल समुद्र फिनी २ सय ४० रुपैयाँ रहेको छ ।

कुन चामलको भाउ कति ?

अहिले बजारमा प्रतिकिलो ६३ देखि ८ सय रुपैयाँसम्मको चामल बिक्री भइरहेको पाइन्छ । बजारमा पाइने सबैभन्दा कम मूल्यको चामल अरुवा मोटा चामल हो । यसको मूल्य किलोको ६३ रुपैयाँ रहेको छ ।

अरुवा सोना मन्सुली चामलको मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेको छ । यस्तै स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९५ रुपैयाँमा किन्न पाइन्छ । पोख्रेली चामल एक किलोको १ सय १० देखि १ सय २० रुपैयाँसम्ममा किन्न पाइन्छ ।

मार्सी चामल

बजारमा किन्न पाइने सबैभन्दा महँगो चामल ब्याल्क राइस (कालो चामल) हो । यसलाई विभिन्न मार्ट, डिपार्टमेन्ट स्टोर तथा अनलाइन सपिङ प्लेटफर्मबाट खरिद गर्न पाइन्छ । यो चामलको मूल्य प्रतिकिलो ६ सयदेखि ८ सय रुपैयाँ तोकिएको छ ।

नेपालमा चर्चित बनेको जुम्लाको मार्सी चामलको मूल्य प्रतिकिलो १ सय ७० देखि ३ सय रुपैयाँसम्म रहेको छ । यस्तै अनदी चामल एक किलोको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै ताइचिन चामल प्रतिकिलो १ सय ८० देखि २ सय ४० रुपैयाँसम्म किन्न पाइन्छ । सिरौँला चामल एक किलोको मूल्य २ सय ८० र कालानमक चामल ३ सय ४० रुपैयाँ पर्छ । लोकल बासमती चामल किलोको २ सय ३० रुपैयाँ पर्छ ।

यस्तै भारतीय ब्रान्डका चामल पनि नेपाली बजारमा महँगो मूल्यमा किनबेच हुन्छ । भारतको इन्डिया गेट बासमति राइस, दावत ट्रेडिसनल, कोहिनुर, प्राइड इन्डिया, गोल्डेन ग्रेन, फर्च्युन, लाल किल्ला र रोयल जस्ता ब्रान्डका चामल पनि नेपाली बजारमा १ सय ५० देखि ४ सय रुपैयाँ किलोसम्म किन्न पाइन्छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?