
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जुन घिमिरे 'पाँडे'ले निर्देशन गर्ने फिचर फिल्म 'झरीपछिको इन्द्रेणी'को छायांकन बागबजारबाट सुरु भएको छ।
- फिल्मको मुख्य भूमिकामा गणेश उप्रेती छन्, जो ९ वर्षपछि फिल्ममा फर्किएका हुन्।
- फिल्मको पटकथा अर्जुन घिमिरे र विशाल घिमिरेले लेखेका हुन् र निर्मातामा सुशील कडरिया छन्।
काठमाडौं । टिभी सिरिज ‘भद्रगोल’ निर्माण तथा निर्देशन गरेका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले कथानक फिल्म निर्देशनमा डेब्यू गरेका छन् ।
उनले निर्देशन गर्ने फिचर फिल्म ‘झरीपछिको इन्द्रेणी’को छायांकन विहिबार बागबजार क्षेत्रबाट सुरु भएकोे छ । ४५ दिनसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा छायांकन हुनेछ ।
विहिबार यो फिल्मको मुहूर्तपूजा ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा गरियो । फिल्म टिम नै शुभसाइत पूजामा सहभागी भएका तस्वीर र भिडियो प्राप्त भएका छन् ।
पाँडे गतवर्षको हिट फिल्म ‘लाज शरणम्’को निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख तथा अभिनेता पनि हुन् । त्यसअघि उनी ‘सक्किगो नि’ सिरिजका कलाकार थिए ।
उक्त सिरिजकी एकमात्र कलाकार प्रियाना आचार्य ‘मुन्नी’ यो फिल्ममा कलाकारको रुपमा सहभागी छिन् । ‘कथाले मागेको खण्डमा अन्य कलाकार पनि भित्रिन सक्नुहुन्छ’ पाँडेले भने ।
यो फिल्मको शीर्ष भूमिकामा गणेश उप्रेती छन् । पछिल्लो फिल्म ‘होमवर्क’ प्रदर्शनमा आएको ९ वर्षपछि उनी फिल्ममा फर्किएका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी यही फिल्मको लागि अहिले काठमाडौंमा छन् ।
कमब्याकपछि आफू उत्साहित रहेको उप्रेतीले अनलाइनखबरलाई बताए । यो फिल्ममा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतको अभिनय कलाकार पनि छन् ।
पारिवारिक कथावस्तुमा समेटिएको फिल्मको पटकथा गणेश कार्की, अर्जुन घिमिरे र विशाल घिमिरेको छ । कुमार व्यञ्जनकारको कथा छ ।
पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्मातामा सुशील कडरिया छन् । फिल्मको एक गीत बालेनले गाउने जनाइएको छ । अर्को एक गीत नेपाल भाषाका गायक रोजमाज महर्जनको हुनेछ ।
मुहूर्त पूजामा बालेन पत्नी सविना काफ्ले पनि सहभागी भएर सफलताको शुभकामना दिएकी थिइन् ।
प्रतिक्रिया 4