
१५ साउन, काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पताल भर्ना भएका छन् ।
उनी काठमाडौंस्थित ग्राण्डी अस्पताल भर्ना भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए ।
चिकित्सकहरूको सल्लाह अनुसार भर्ना भई उपचार गर्नुपर्ने भएकाले अस्पताल भर्ना भएको प्रवक्ता सापकोटाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
प्रदेश प्रमुख देवकाेटा आज बिहीवार बिहानै हेटाैंडाबाट उपचारका लागि काठमाडाैं गएका थिए । उनकाे पिसाबमा रगत देखिएपछि आकस्मिक उपचारका लागि काठमाडाैं गएकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ ।
प्रमुख देवकाेटा बुधवार दिउसाे हेटाैंडामा व्यक्तिगत भेटघाटमा व्यस्त थिए । उनी भेटघाट सकाएर रातकाे ९ बजे प्रदेश प्रमुख कार्यालयस्थित निवासमा पुगेकाे जनाइएकाे छ ।
आजै बागमती प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीकाे प्रदेश प्रमुखकाे कार्यालयमा दिउसाे १ बजे शपथ ग्रहण राखिएकाे थियाे । प्रदेश प्रमुख देवकाेटा बिहानै काठमाडाैं हिँडेपछि प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गरेर आज दिउँसो १ बजेका लागि तय भएको भएको मन्त्रीहरूको शपथ ग्रहण समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।
मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गाेविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई बुधबार मन्त्री नियुक्त गरेका थिए । उनीहरूकाे बुधबार बिहान ९ बजे शपथ गराउने तयारी रहेपनि सत्तासाझेदार दल नेकपा एमालेकाे असहमतिमा राेकिएकाे थियाे ।
हिजाे बुधबार नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरूको शपथग्रहण बुधबार नगरी बिहीबार गर्ने तय भएको थियो ।
संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । निर्वाचनमा बानियाँले २२ र लामाले १४ मत पाए । १ मत बदर भएकाे थियाे । बानियाँले कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरू आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् ।
तर लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजीनामा दिनु नपर्ने बताइरहेका छन् ।
प्रतिक्रिया 4