
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले विद्युतीय वित्तीय सेवामा नयाँ प्रडक्ट परीक्षण र सञ्चालन अनुमति दिने नियामकीय स्यान्डबक्स तयार गरेको छ।
- केन्द्रीय बैंकले स्यान्डबक्सको मस्यौदा सार्वजनिक गरी सरोकारवालाबाट सुझाव मागेको छ।
- स्यान्डबक्सले नयाँ प्रडक्टको सुरक्षा, गोपनीयता र विश्वासनीयता परीक्षण गरेर मात्र अनुमति दिने व्यवस्था गर्नेछ।
१५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय वित्तीय सेवामा नयाँ ‘प्रडक्ट’ सञ्चालन गर्न चाहने संस्थाका लागि आवश्यक नीतिगत व्यवस्था तयार गरेको छ ।
केन्द्रीय बैकले प्रविधिमा आधारित वित्तीय कारोबार गर्ने नयाँ सफ्टवेयर तथा एप परीक्षण गरेर सञ्चालन अनुमति दिने नियामकीय ‘स्यान्डबक्स’ तयार गरेको हो ।
केन्द्रीय बैंकले नियामकीय स्यान्डबक्सको मस्यौदा तयार गरी छलफलका लागि सार्वजनिक गरेको छ । साथै, केन्द्रीय बैंकले सरोकारवालाबाट सुझाव समेत मागेको छ ।
कुनै पनि नयाँ प्रणाली परीक्षण गर्ने संयन्त्रका रूपमा स्यान्डबक्स रहने केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले बताए । यसले कुनै पनि प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने संस्थाले ल्याउने नयाँ प्रडक्ट परीक्षण गर्ने पद्धति विकास गरेको उनको भनाइ छ ।
‘केन्द्रीय बैंकले कसैले नयाँ सर्भिस दिन्छु अनुमति दिनपर्यो भनेर आएको खण्डमा त्यसलाई परीक्षण गर्ने पद्धति छैन,’ उनले भने, ‘त्यस्तो नयाँ प्रडक्टलाई अध्ययन, परीक्षण गरेर योग्य छ भन्ने स्पष्ट भएपछि अनुमति दिने प्रक्रिया हो ।’
यसरी परीक्षण गरिसकेपछि नियामकलाई चित्त बुझेको खण्डमा सञ्चालन अनुमति दिने आधारका रूपमा यो स्यान्डबक्स रहने उनले बताए ।
यो मस्यौदा लागु भएपछि परिवर्तनकारी वित्तीय सेवा प्रमोट गर्ने योजना सहित तयार गरिएको उनको भनाइ छ । त्यसका लागि नीतिगत तयारी पूरा भए पनि केन्द्रीय बैंकले नयाँ योजना भएका संघसंस्थालाई परीक्षणका लागि आउन आह्वान गर्ने छ ।
आवेदनमध्येबाट ‘की पर्फर्मेन्स इन्डिकेटर्स’ का आधारमा परीक्षण गर्ने प्रडक्ट छनोट गरेर काम अघि बढाइने पण्डितले बताए ।
विद्युतीय वित्तीय सेवामा नयाँ प्रडक्ट इन्ट्रोड्युस गराउन खोजेकालाई रेगुलेटरी संयन्त्रभित्र राख्न स्यान्डबक्स विकास गरेको पण्डितले बताए । जस्तै, कसैले नयाँ प्रडक्ट ल्याइरहेको छ, अहिले हाम्रा लाइसेन्स प्राप्त संस्थाहरूले नै नयाँ प्रडक्ट ल्याउन राष्ट्र बैंकलाई सोध्नुपर्छ वा देखाउनुपर्छ ।
यसरी कुनै संस्थाले अनुमति लिन आउँदा केन्द्रीय बैंकका तर्फबाट हुने चेकजाँच पद्धति विकास गर्न उक्त मस्यौदा तयार गरेको उनको भनाइ छ ।
केन्द्रीय बैंकले थुप्रै पेमेन्ट सर्भिस प्रोभाइडरलाई अनुमति दिएको छ । तर, ती सबै सफल भएनन् । यसको कारण भनेको उनीहरूले ल्याएका प्रडक्ट कस्तो थियो, उनीहरूको सोचे अनुसारकै थियो त ? लगायत पक्ष परीक्षण गर्न यस्तो व्यवस्था आवश्यक रहेको उनले बताए । उनका अनुसार संसारभरि नै पहिला स्यान्डबक्समा टेस्ट भएर अनुमति दिनु भन्ने चलन छ ।
स्यान्डबक्सको मस्यौदा अनुसार सुरक्षित र जिम्मेबार वित्तीय प्रडक्ट प्रमोट गर्ने उद्देश्य छ । यसले प्रडक्ट सञ्चालन तथा नियन्त्रण र सुरक्षाका सन्दर्भमा पनि परीक्षण हुने भएकाले विश्वास गर्न सकिने अवस्था बन्ने मस्यौदामा उल्लेख छ ।
त्यसैगरी उक्त प्रडक्टको गोपनीयता, सुरक्षा, उपभोक्ताले सेवा पाउने क्षेत्र, सेवाको विश्वासनीयता लगायत पक्ष परीक्षण गरेरमात्र सञ्चालनमा ल्याउने संयन्त्र विकासका लागि यो स्यान्डबक्स तयार गरिएको पण्डितको भनाइ छ ।
प्रतिक्रिया 4