
१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्षबाट निलम्बन गरेपछि रञ्जिता श्रेष्ठले निकटस्थसँग छलफल थालेकी छन् ।
बिहीबार नाउपाको राष्ट्रिय भेलाले पार्टी अध्यक्षमा लालवीर चौधरीलाई चयन गरेपछि निलम्बनमा परेकी रञ्जिताले आफू निकटका नेताहरुसँग छलफल थालेकी हुन् ।
बिहीबार साँझ काठमाडाैंको महाराजगञ्जस्थित पार्टी केन्द्रीय कार्यालयमा जिल्लाका नेताहरुसँग छलफल गरेकी छन् । रञ्जिताले कैलालीका पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र केही प्रदेश सांसदहरुलाई महाराजगञ्ज डाकेकी थिइन् ।
उनले कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी, कैलालीको भजनी नगरपालिकाकी उपाध्यक्ष राजु तिरुवा, जानकी गाउँपालिकाकी उपाध्यक्ष लालमती देवी कठरिया तथा केही प्रदेश सांसद र वडाअध्यक्षहरुसँग परामर्श गरेको बताइन् ।
उनले भनिन्, ‘आज भेट भएका पार्टीका साथीहरुले पनि अवैधानिक तरिकाले अध्यक्ष चयन गरेको मान्दैनौं भन्नुभएको छ ।’
रञ्जिताको प्रश्न छ– ‘मैले कुनै कानूनी कदम चाले नवअध्यक्ष लालवीर चौधरीको सांसद पद धरापमा पर्यो भने जवाफदेही को हुन्छ ?’
बिहीबार नाउपाको अध्यक्षमा चयन भएका लालवीर, रेशम चौधरीका पिता हुन् ।
नाउपाका संरक्षक रहेका रेशम चौधरीले श्रीमती रञ्जितालाई हटाएर आफ्ना पितालाई अध्यक्ष बनाएपछि रञ्जिता क्रुद्ध छिन् ।
लालवीरलाई अध्यक्ष नबनाए रेशम चौधरीले ‘झुन्डिएर मर्दिन्छु’ भन्दै ‘इमोश्नल ब्ल्याकमेलिङ’ गरेको रञ्जिताको आरोप छ ।
‘बुवालाई अध्यक्ष नबनाउने भए झुन्डेर मर्दिन्छु भनेर रेशम चौधरीले इमोश्नल ब्ल्याकमेलिङ गर्नुभयो’, रञ्जिताले अनलाइनखबरसँग भनिन् ।
महाराजगञ्जमा नेताहरुसँग भेटपछि रञ्जिताले सामाजिक सञ्जाल फेसबुकमा एक संस्कृत श्लोक लेख्दै कटाक्ष गरेकी छन् ।
उनले लेखेको संस्कृत श्लोक :
मूर्खस्य पञ्च चिह्नानि —
गर्वो दुर्वचनं तथा ।
क्रोधश्च दृढवादश्च
परवाक्येषु अनादर: ।।
यसलाई नेपालीमा अर्थ्याउँदा मूर्ख व्यक्तिका पाँच लक्षणहरू वर्णन गर्ने प्रसिद्ध नीति श्लोक हो ।
जस्तो :
घमण्ड (आफूलाई धेरै ठान्ने) ।
खोइचो वा अपशब्द बोल्ने बानी ।
सधैं रिसाउने स्वभाव ।
आफ्नो कुरा मात्रै ठीक ठान्ने र अडिग रहने ।
अरूका विचारप्रति अनादर गर्ने ।
रञ्जिताले यो श्लोकद्वारा कसलाई कटाक्ष गरेको भनेर नबताएपनि उनले भनिरहेको ‘विधानविपरीत’ पार्टी निर्णय गर्नेहरुप्रति लक्षित भएको बुझ्न सकिन्छ ।
प्रतिक्रिया 4