+
+
Shares
नाउपामा अध्यक्ष फेरबदल :

बुहारीले पार्टी प्रवेश गराइन्, अहिले उनैलाई हटाएर अध्यक्ष बने लालवीर

८ पुस २०७९ काठमाडौँमा पार्टी संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारमै रहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले नै ससुरा लालवीरलाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेकी थिइन् ।

जनक विष्ट जनक विष्ट
२०८२ साउन १५ गते २२:२१
८ पुस २०७९ मा ससुरा लालवीरलाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्दै रञ्जिता ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ।
  • पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरी हटाएको र २१ सदस्यीय केन्द्रीय समिति २०१ सदस्यीय बनाएको छ।
  • लालवीरले कमिटीको सल्लाह र विधि-पद्धतिको आधारमा पार्टी अघि बढाउने प्रतिक्रिया दिएका छन्।

१५ साउन, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को बिहीबार सम्पन्न राष्ट्रिय भेलाले पार्टी अध्यक्षमा लालवीर चौधरीलाई चयन गरेको छ । बुधबार मात्र रञ्जिता श्रेष्ठलाई कारबाही गरी अध्यक्षबाट हटाएको नाउपाले उनको ठाउँमा लालवीरलाई ल्याएको हो ।

पार्टीको केन्द्रीय सदस्यको भूमिकामा रहेका लालवीरलाई अध्यक्ष बनाएर केन्द्रीय समितिको आकार समेत बढाइएको छ । २१ सदस्यीय केन्द्रीय समितिलाई २०१ सदस्यीय बनाइएको नाउपाले जनाएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका श्रीमान् पार्टी संरक्षक रेशम चौधरीबीचको विवादको पृष्ठभूमि पार्टीको अध्यक्ष बन्ने अवसर पाएका लालवीरले कमिटीले दिने सल्लाह र सुझावका आधारमा विधि तथा पद्धतिका आधारमा नाउपालाई अघि बढाउने प्रतिक्रिया दिएका छन् ।

‘म यो अध्यक्षको जिम्मेवारी पाइसकेपछि यो कमिटीले जे सुझाव सल्लाह विधि-पद्धतिको आधारमा नाउपालाई अघि बढाउनेछु,’ उनले भने ।

रञ्जिताले डेढ वर्षसम्म पनि पार्टी बैठक नबोलाएको भन्दै उनले निकास निकाल्नका लागि यो प्रक्रिया अघि बढाइएको बताएका छन् ।

बुबा लालवीरलाई पार्टी अध्यक्ष बनाएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै रेशम चौधरी ।

‘डेढ वर्षदेखि उहाँ (रञ्जिता) ले बैठक नडाकेकोले विकल्प खोजेका हौं । अहिले उपनिर्वाचन हुँदैछ, उम्मेदवारी दिनुपर्ने भएकाले पार्टीले विधानसम्मत, निर्वाचन आयोगको नीतिसम्मत जानुपर्ने भएकाले यही निकासका लागि झटपट गरेर बस्यौं । निकास निस्क्यो,’ चौधरीले भने ।

संरक्षक रेशम चौधरीको जोडबलमा अध्यक्ष बनेका लालवीर रेशमका बुवा हुन् भने बुधबारको बैठकबाट अध्यक्षबाट बर्खास्त गरिएकी रञ्जिता रेशमकी श्रीमती हुन् ।

पार्टी प्रवेश गरेको साढे २ वर्षमै अध्यक्ष बने

२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर लालवीर चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बर्दिया क्षेत्र नम्बर २ मा माओवादीका सुरेश पन्थलाई १३६ मतले पराजित गर्दै विजयी भएका थिए । २६ हजार ५२० मतसहित चौधरी विजयी हुँदा माओवादीका पन्थले २६ हजार ३८४ मत प्राप्त गरेका थिए ।

रेशम चौधरीले डिल्लीबजार कारागारबाट अध्यक्ष रञ्जिता श्रेष्ठमार्फत निर्वाचनमा होमिएका बेला बुवा लालवीर भने स्वतन्त्र उम्मेदवार थिए । बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी त्यतिन्जेलसम्म छोरा-बुहारीले स्थापना गरेको पार्टीको साधारण सदस्यसमेत थिएनन् ।

पार्टी अध्यक्ष बनेपछि सामूहिक तस्वीर खिचाउँदै लालवीर ।

८ पुस २०७९ काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा लालवीर नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए । पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारमै रहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले नै लालवीरलाई अबिर र खादा लगाउँदै पार्टीमा स्वागत गरेकी थिइन् ।

हुन त लालवीरले रेशम चौधरीको उम्मेदवारी खारेज हुने भएपछि स्वतन्त्र उम्मेदवारी दिएर नाउपाकै समर्थनमा चुनाव जितेका थिए । तर पार्टी अध्यक्ष श्रेष्ठको हातबाट खादा र टीका लगाएर पार्टीमा प्रवेश गरेको साढे २ वर्ष नबित्दै लालवीर राष्ट्रिय भेलाबाट अध्यक्ष बनेका छन् ।

रोचक कुरा के छ भने, लालवीर जसबाट पार्टी प्रवेश गरेका थिए उनै अध्यक्षलाई पार्टीले बर्खास्त गरेको पृष्ठभूमिमा अध्यक्ष बनेका छन् । पार्टीका संस्थापक नै नरहेका लालवीर केन्द्रीय अध्यक्ष बनेपछि नागरिक उन्मुक्ति पार्टीकै कतिपय मान्छे चकित परेका छन् । तर केहीले भने संरक्षक रेशम चौधरीले श्रीमतीलाई हटाएर बुवा अध्यक्ष बनाउने कुरा नौलो नभएको प्रतिक्रिया दिएका छन् ।

‘रञ्जितालाई हटाइसकेपछि राष्ट्रिय भेलाले टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुलाई अध्यक्ष बनाउँछ कि भन्ने कुरा थियो तर उहाँ परिवारवादभन्दा बाहिर निस्किन सक्नुभएन,’ नाउपाका एक नेताले भने, ‘त्यसैले पनि उहाँ (रेशम)ले लालवीरलाई अध्यक्ष बनाएकोमा धेरै आश्चर्य मान्नुपर्ने कारण छैन । उहाँ पनि कति दिनको अध्यक्ष हो थाहा छैन ।’

एमालेको टिकटमा चुनाव हारेका थिए

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को पृष्ठभूमिबाट राजनीतिमा आएका लालवीर चौधरी बर्दियाका बासिन्दा हुन् । उनी २०३१ सालपछि मात्र बसाइँसराइ गरी कैलाली आएका थिए ।

जानकी गाउँपालिका-६ को जगतपुरमा स्थायी बसोबास रहेका लालवीर चौधरी कैलाली आएपछि पनि राप्रपामै क्रियाशील थिए । तर क्षेत्र नम्बर १ का एमाले नेताहरूले उनलाई पार्टीमा भित्र्याएका थिए । झन्डै १४ वर्ष जमरा कुलोको अध्यक्ष बनेर काम गरेको चौधरी स्थानीय स्तरमा चल्दाफुर्ता नेताका रूपमा चिनिन्थे । तर केही वर्षअघि भएको रानी जमरा कुलरिया मुल नहरको चुनावमा भने उनी पराजित भएका थिए ।

लालवीर चौधरी ।

पार्टीको भूमिकामा खासै नबसेका लालवीरलाई एमालेले २०७४ सालको निर्वाचनमा आधिकारिक टिकट दिने निर्णय लिएको थियो । फलतः लालवीरलाई एमालेले कैलाली-१ को प्रदेश सभा (क) मा उम्मेदवार बनाएको थियो । तर उनले चुनाव जित्न सकनेन् । उनी राष्ट्रिय जनता पार्टीका कृष्णलाल चौधरीसँग पराजित भए ।

लालवीर एमालेबाट चुनाव लड्दै गर्दा टीकापुर घटनाको मुख्य अभियोग लागेर फरार रहेको अवस्थामा उनका छोरा रेशमलाल चौधरीले भने प्रतिनिधिसभामा वारेसमार्फत उम्मेदवारी दिएका थिए । चुनावी प्रचार समेत नगरेका चौधरीले फरार रहेकै अवस्थामा चुनाव जितेका थिए । लालवीरको स्वभावबारे जानकारहरूका अनुसार उनले क्षमतावान र आम रूपमा सबैसँग मिल्ने व्यक्तिको छवि स्थापित गरेका छन् ।

तर, नाउपाका धेरै संस्थापकलाई उछिनेर विवादित पृष्ठभूमीबीच अध्यक्षको अवसर पाएका लालवीरले पार्टीलाई कसरी नेतृत्व दिन सक्छन् भन्ने कुरा अगामी दिनमा देखिने नै छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?