+
+
Shares

मोर्गन इन्टरनेसनल स्कुलमा काठमाडौं महानगरको अनुगमन, ३ दिनभित्र आवश्यक कागजात बुझाउन निर्देशन

महानगरले विद्यालयलाई ३ दिनभित्र २२ क्षेत्रसँग सम्बन्धित कागजात पेस गर्न निर्देशन दिएको छ । अन्यथा, कानुन बमोजिम अगाडि बढ्ने झाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १८:१४

१६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ । उक्त विद्यालयमा बिहीबार महानगरभित्रका विभिन्न विभागको अनुगमन टोलीले संयुक्त अनुगमन गरेको थियो ।

शिक्षा विभागमा प्राप्त उजुरीका आधारमा गरिएको उक्त अनुगमनले विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेको सहरी योजना आयोग सदस्य शैलेन्द्र झाले बताए । महानगरले विद्यालयलाई ३ दिनभित्र २२ क्षेत्रसँग सम्बन्धित कागजात पेस गर्न निर्देशन दिएको छ । अन्यथा, कानुन बमोजिम अगाडि बढ्ने झाले बताए ।

काठमाडौं महानगरको सहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी विभाग, सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभाग र शिक्षा विभागको संयुक्त टोलीले विद्यालय अनुगमन गरेका थिए । अनुगमनको मुख्य उद्देश्य छात्रवृत्ति कार्यक्रम, शुल्क संरचना र नियामक मापदण्ड पालनाबारे जाँच गर्नु थियो ।

सहरी योजना आयोगका सदस्य झाले अनुगमन क्रममा छात्रवृत्ति कार्यक्रमको जाँचबाट सुरु गरिए पनि विद्यालयमा अन्य कयौँ समस्या फेला परेको बताए ।

‘महानगरमा प्राप्त गुनासोका आधारमा हामीले पहिले मौखिक रूपमा पनि सोधपुछ गरेका थियौं, तर गुनासो सम्बोधन नभएपछि अनुगमनमा गएका हौं,’ उनले भने, ‘संयुक्त टोलीको अनुगमनपछि विद्यालयको सञ्चालन, भौतिक पूर्वाधार र वैधानिकतामाथि नै प्रश्न उठ्यो ।’

उनका अनुसार विद्यालयले आफूलाई ‘इन्टरनेसनल’ भन्ने तर अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेको पाइएको छ । ‘इन्टरनेसनल नाम राख्ने विद्यालयले सोही स्तरको पाठ्यक्रम, शिक्षक र पूर्वाधार सुनिश्चित गर्नुपर्छ तर त्यस्तो भएको पाइएन,’ उनले भने ।

शिक्षा विभाग निमित्त प्रमुख केशव ज्ञवालीले विद्यालयमा छात्रवृत्ति पाउने विद्यार्थीबाट शुल्क लिइएको र विद्यालयले २४ हजारदेखि ३० हजारसम्मको शुल्क माग गरेको गुनासो प्राप्त गरेको बताए । अनुगमनले विद्यालयको भौतिक पूर्वाधार, क्यान्टिन सञ्चालन र सञ्चालन अनुमतिमा कमजोरी फेला परेको उनले बताए ।

शिक्षा विभागमा प्राप्त उजुरीका आधारमा गरिएको उक्त अनुगमनले विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेको सहरी योजना आयोग सदस्य शैलेन्द्र झाले बताए ।

‘यसअघि हामीले विद्यालयलाई अनधिकृत शुल्क फिर्ता गर्न निर्देशन दिएका थियौं तर गुनासो दोहोरिएपछि संयुक्त अनुगमन गर्नुपर्‍याे,’ ज्ञवालीले भने ।

विद्यालयले तीन वर्षअघि बूढानीलकण्ठबाट बसुन्धरामा स्थानान्तरण भएको र कक्षा ११ र १२ सञ्चालनका लागि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट अनुमति लिएको दाबी गरेको छ । यी दाबी पुष्टि गर्न महानगरपालिकाले कागजात माग गरेको हो ।

महानगरले विद्यालय सञ्चालन अनुमतिपत्र, शुल्क संरचना र छात्रवृत्ति सम्बन्धी विवरण, भौतिक पूर्वाधार (कक्षाकोठा, सुरक्षा, क्यान्टिन) सम्बन्धी कागजात, राजस्व र करसम्बन्धी रेकर्ड, विद्यालय स्थानान्तरण सम्बन्धी कागजात लगायतको प्रमाणित प्रतिलिपि ३ दिनभित्र शिक्षा विभागमा पेस गर्न निर्देशन दिइएको हो । तोकिएको समयमा कागजात पेस नभए कानुन अनुसार कारबाही हुने समेत ज्ञवालीले बताएका छन् ।

‘हामीले निजी विद्यालयहरूको अनुगमनलाई प्राथमिकतामा राखेका छौं, विद्यार्थी र अभिभावकहरूको गुनासो सम्बोधन गर्न र विद्यालयहरूको वैधानिकता जाँच गर्न शिक्षा विभाग सक्रिय छ,’ ज्ञवालीले कागजात प्राप्त भएपछि थप अध्ययन गरी विद्यालयको नियमन गर्ने बताउँदै थपे, ‘हामीले मागेका कागजातका आधारमा विद्यालयको वैधानिकता र अनियमितताबारे निर्णय लिन्छौं । यदि विद्यालयले समयमै कागजात पेस गर्न नसकेमा कानुनी प्रक्रिया अगाडि बढ्छ ।’

महानगरपालिकाले हालै सामुदायिक र निजी विद्यालयहरूमा छात्रवृत्ति कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि विशेष अनुगमन अभियान सञ्चालन गरेको छ । मोर्गन इन्टरनेसनलको यो घटनाले निजी विद्यालयहरूको पारदर्शिता र जवाफदेहिताको मुद्दालाई थप उजागर गरेको सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले बताए ।

हेर्नुहोस् काठमाडौं महानगरको पत्र :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?