+
+
Shares

स्थलगत निरीक्षणमा नखटिएका बस्नेतले कर्णाली डेभलपमेन्टको कैफियत लुकाउन कसरी गरे ‘डिल’ ?

राष्ट्र बैंकको सुपरीवेक्षण विभागमा सरुवाका लागि हुने रस्साकस्सीको मुख्य उद्देश्य भनेको व्यक्तिगत लाभका लागि वित्तीय क्षेत्रलाई प्रयोग गर्नु हो ।

भुवन पौडेल भुवन पौडेल
२०८२ साउन १६ गते २१:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली डेभलपमेन्ट बैंकमा नक्कली सुन कर्जा, बचतकर्ताको निक्षेप मार्फत संस्थापक सेयरधनीले हकप्रद सेयर भर्न प्रयोग गरेको, करिब ३ दर्जन नक्कली कम्पनी खडा गरी कर्जा अपचलन गरेको विषय सीआईबीले बाहिर ल्याएको छ ।
  • राष्ट्र बैंकका पूर्वकर्मचारी भुवनसिंह बस्नेतलाई कर्णाली बैंक घोटालामा संलग्नताका कारण मुद्दा दायर गरिएको छ।
  • बस्नेतले स्थलगत अनुगमन नगरी कर्णाली बैंकका उच्च व्यवस्थापनसँग मिलेमतो गरी अनियमितता ढाकछोप गरेको प्रहरीले दाबी गरेको छ।

१६ साउन, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको १ खर्ब ३३ करोड रुपैयाँ अनियमिततामा नेपाल राष्ट्र बैंकका कर्मचारीको सहयोगी भूमिका पुष्टि भए पनि स्थलगत अनुगमनमा नगएका कर्मचारीले कैफियत ढाकछोप गर्ने जिम्मा कसरी लिए भन्ने प्रश्न पेचिलो बनेको छ ।

राष्ट्र बैंकको सुपरीवेक्षण विभागलाई तुलनात्मक रूपमा ‘मालदार’ विभागका रूपमा व्याख्या हुँदै आएको छ । केन्द्रीय बैंकका कर्मचारीबीच पनि सुपरीवेक्षण विभागमा सुरुवा हुन शक्ति संघर्ष हुने गर्छ ।

उक्त विभागमा सरुवाका लागि हुने रस्साकस्सीको मुख्य उद्देश्य भनेको व्यक्तिगत लाभका लागि वित्तीय क्षेत्रलाई प्रयोग गर्नु हो ।

राष्ट्र बैंकका पूर्वकर्मचारीले पैसा कमाएको/नकमाएको प्रसंगमा आफू सुपरीवेक्षण विभागमा काम गर्न नपाएको भन्दै चोखिने गर्छन् । पूर्वकर्मचारीका कुराले पनि सुपरीवेक्षण विभागमा काम गर्दा वाह्य आम्दानी हुने प्रष्ट हुन्छ ।

केन्द्रीय बैंकको सुपरीवेक्षण विभागबारे टिकाटिप्पणी हुने गरे पनि ठोस प्रमाण भने जुटेको थिएन । तर, कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकणबाट केन्द्रीय बैंकका कर्मचारीको वाह्य आम्दानी स्रोत र उनीहरूले गर्ने कामका विषय सप्रमाण बाहिरिएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकमा नक्कली सुन कर्जा, बचतकर्ताको निक्षेप मार्फत संस्थापक सेयरधनीले हकप्रद सेयर भर्न प्रयोग गरेको, करिब ३ दर्जन नक्कली कम्पनी खडा गरी कर्जा अपचलन गरेको विषय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाहिर ल्याएको छ ।

सीआईबीले अनुसन्धान क्रममा पत्ता लगेका र केन्द्रीय बैंकका कर्मचारीले निश्चित लाभमा लुकाएका विषय बाहिर ल्याएको हो ।

प्रहरीले केन्द्रीय बैंकका एक पूर्वकर्मचारी सहित कर्णालीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत भइसकेका राजेन्द्रवीर राय लगायत अपचलनमा संलग्न १ सय ९ जनाको विरुद्धमा मुद्दा दायर गरेको छ ।

प्रहरीले केन्द्रीय बैंकका पूर्वकर्मचारी भुवनसिंह बस्नेतलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । बस्नेत काम गर्ने क्रममा अनियमिततामा सहभागी भएका कारण पक्राउ पर्ने केन्द्रीय बैंकका कर्मचारी हुन् ।

उनले प्रहरीलाई दिएको बयान अनुसार उनी स्थलगत अनुगमनमा नगएको दाबी गरेका छन् । स्थलगत अनुगमनमा नजाँदा पनि उनले कसरी कर्णालीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरूसँग सूचना लुकाउने र आवश्यक कारबाहीबाट बचाउने डिल गरे ?

बस्नेतले प्रहरीलाई दिएको बयान अनुसार कर्णाली डेभलपमेन्ट बैंक तथा त्यससँग सम्बन्धित व्यक्तिहरूबाटै करिब २० लाख रुपैयाँ उनलाई भुक्तानी भएको छ । उक्त रकममध्ये करिब १ लाख ५० हजार कर्णाली डेभलपमेन्ट बैंकका कर्मचारीलाई तालिम दिएको शुल्क दाबी गरेका छन् भने करिब ८ लाख कार बिक्री गरेको भनेका छन् । तर, बाँकी रहेको १० लाखको विषयमा बस्नेत पनि जानकार छैनन् के शीर्षकमा बैंकले ट्रान्स्फर गर्‍यो भन्नेमा ।

बस्नेतले प्रमाण तथा बहाना बनाउन नसक्दा उक्त १० लाखको कारण खुल्न सकेको छैन । त्यसका साथै उनले प्रहरीलाइ बैंक घोटालामा सघाउने पुग्ने कुनै काम नगरेको दाबी गरेका छन् ।

राष्ट्र बैंकले बस्नेतलाई सुपरीवेक्षण टोलीको सुपरभाइजर तोकेको थियो । उनले केन्द्रीय बैंकको कार्यालयमै बसेर स्थलगत अनुगमनमा गएका साथीहरूको प्रतिवेदनका आधारमा कर्णालीका गलत गतिविधि ढाकछोप गर्ने जिम्मा लिएको देखिन्छ ।

स्थलगत अनुगमन जानेमा सहायक निर्देशक टेकराज भण्डारी र सहायक निर्देशक राजनप्रसाद रेग्मी थिए । उक्त सुपरीवेक्षण टोलीको प्रमुख भण्डारी थिए भने रेग्मी सदस्य । दुवै सहायक निर्देशकले बैंकको अनुगमन गरेर पत्ता लगाएका विवरणको प्रतिवेदन सुपरभाइजर भएका बस्नेतले बुझ्थे ।

तर, बस्नेतले उक्त प्रतिवेदन अनुसार कारबाही नहुने अवस्था सिर्जना गर्ने गरी कर्णाली बैंकको उच्च व्यवस्थापनसँग मिलेमतो गरेका थिए । सोही बापत रकम बैंकका तर्फबाट उनलाई भुक्तानी भएको प्रहरीको दाबी छ ।

बस्नेतले संस्थापक सेयरधनीले बैंकको बचत प्रयोग गरेर हकप्रद सेयरमा लगानी गरेको विषयलाई लुकाएका थिए । त्यसैगरी उनले नक्कली कम्पनी तथा सुन कर्जाको विषयलाइ पनि ढाकछोप गरेको प्रहरीले औंल्याएको छ ।

बस्नेतले सुपरीवेक्षण टोलीलाई समेत व्यवस्थापन गर्ने जिम्मा दिएको शंका प्रहरीको छ । स्थलगत सुपरीवेक्षणमा गएका राष्ट्र बैंकका कर्मचारीले रिपोर्टिङ गरेर विषय अनुसार बैंकलाइ कारबाही नहुँदा स्थलगत अनुगमनमा गएका कर्मचारी आफूले पहिचान गरेको कैफियत अनुसार काम नभएको विषयमा बोलेको देखिँदैन ।

प्रहरी स्रोतका अनुसार स्थलगत निरीक्षेणमा गएका व्यक्ति सबै नमिलेको भए पनि सूचना लुकाउन सम्भव हुदैनथ्यो ।

‘अर्कोलाई नफसाउने भन्दै राष्ट्र बैंकका अन्य कर्मचारीलाई नजोडेको हुन सक्छ,’ ती प्रहरी अधिकारीले भने, ‘भण्डारी र रेग्मीको प्रतिवेदनलाई बस्नेतले केन्द्रीय बैंकमै बसेर सुपरभाइजर भएकै आधारमा कर्णालीसँग डिल गरेको हुन सक्ने शंका गर्ने ठाँउ छ ।’

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?