
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका रवीन्द्र ढाँटले भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन बनेका छन्।
- प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्रलाई पहिलोपटक नेपाललाई उपाधि दिलाएकोमा हार्दिक बधाई दिनुभएको छ।
- रवीन्द्रले बलिउड अभिनेता ज्याकी श्राफलाई एमएफएनमा आउन सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ।
काठमाडौं । भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएफए १७) बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई अहिले बधाईको ओइरो छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकार, सर्वसाधारणले सामाजिक संजालमार्फत बधाई दिइरहेका छन् ।
प्रधानमन्त्री ओली लेख्छन्, ‘भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।”
खेलप्रेमी गायिका रचना रिमालले फेसबुकमा उक्त प्रतियोगिताबारेका ४ पोस्ट गरेकी छन् । खेल सुरु हुनुअघि ढाँटलाई ‘नेपालको बाघ’ भन्दै उनले ‘हैट, रियल नेपाली टाइगर । अ च्याम्पियन’ लेख्दै फोटो सेयर गरेकी छन् ।
पछिल्लो पोस्टमा पुनः लेखेकी छन्, ‘हिजोको खेल लाइभ हेरेर पनि आज फेरि बारम्बार खोजीखोजी हेर्ने म बाहेक कोको हुनुहुन्छ ?’
निर्माता सन्तोष सेन बधाई दिँदै लेख्छन्, ‘जब बिहान नेपाल आमाको झण्डा ओडेर युद्ध मैदानतिर जाँदै थिएँ, मनभित्र एउटै भावना थियो । आज हाम्रा वीर योद्धाको बलिदानीले यो झण्डाको शिर उचो बनाउनेछ ।’
फिल्मकर्मी, संगीतकर्मीसहित विभिन्न विधाका कलाकारले सामाजिक संजालबाट बधाई दिएको देख्न सकिन्छ ।
विजेता घोषित भएलगत्तै रवीन्द्रले भारतीय मिडियासँग कुराकानी गरेका थिए । आफूलाई एमएफएनमा आउन बलिउड अभिनेता ज्याकी श्राफले मद्दत गरेको रवीन्द्रले बताएका छन् ।
उनी भन्छन्, ‘एमएफएनमा आउनका लागि ज्याकी श्राफलाई धन्यवाद । उहाँले मेरो फाइट हेर्नुभयो, बोलाउनुभयो । म ३ वर्षदेखि यहाँ आउन प्रयास गरिरहेको थिएँ । सबैलाई धन्यवाद । नेपालबाट यहाँ आइदिनु भएकाहरूलाई धन्यवाद । जय नेपाल । जय हनुमान ।’
रवीन्द्रले भारतीय प्रतिद्धन्द्धीसँग रिङमा भीडन्त गरिरहँदा दर्शक दीर्घामा अभिनेता श्राफ र अर्का कलाकार गुल्सन ग्रोवर पनि एकसाथ थिए । विजयी रवीन्द्रलाई ज्याकी श्राफकी पत्नी तथा ‘म्याट्रिक्स फाइट नाइट’की प्रवर्धन आयशा श्राफले पुरस्कृत गरेकी थिइन् ।
रवीन्द्रले भ्लगर सिसन बानियाँदेखि आफूलाई मेन्टरको रुपमा सहयोग गर्ने दिविजलाई पनि धन्यवाद दिएका छन् । उनको जितसँगै सामाजिक संजालमा नेपाली फ्यानले बधाई दिइरहेका छन् भने कतिपयले व्यंग्य समेत हानिरहेका छन् ।
सामाजिक संजालमा एकजना नेपाली फ्यानले रवीन्द्रको जितमा बलिउड अभिनेता अक्षयकुमारले बायोपिक फिल्म बनाउन सक्ने भन्दै कटाक्ष गरेका छन् ।
प्रतिक्रिया 4