
१८ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको म्याद आज सकिँदैछ ।
विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधान निष्कृय हुने भाषा समेत प्रयोग भएको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन विशेष समिति गठन गरेको थियो ।
उक्त समितिका सदस्यहरू आज बिहानैबाट छलफलमा जुटेका छन् ।
बिहान साढे ७ बजेबाट छलफलमा जुटेका सदस्यहरू दिउँसो करिब १२ बजेसम्म निरन्तर छलफल गरेका थिए ।
त्यसपछि खाना खानका लागि भन्दै समितिका सदस्यहरूले छलफल रोकेका थिए ।
उनीहरू करिब दुई घण्टापछि पुन: छलफलका लागि सिंहदरबारस्थित राज्य, व्यवस्था तथा सुशासन समितिको बैठक हलमा जम्मा भएका छन् ।
यो बीचमा सत्तापक्षका सांसदहरू सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेर छलफल गरेको स्रोतले बतायो ।
सत्तापक्षका सांसदहरू डेढ घण्टासम्म पनि बैठकमा नआएपछि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू कुरेर बसेका थिए ।
स्रोतका अनुसार, प्रतिवेदनमा कस्ता विषय समावेश गराउने र कस्तो बनाउने भन्नेबारे उनीहरू छलफलमा जुटेका थिए ।
गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो । पछि एक साता थपिएको थियो । थपिएको म्याद आज सकिँदैछ ।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।
कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
आजसम्म काम गरेर छानबिन समितिले भोलि प्रतिनिधि सभाको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।
विधेयकमा कुलिङ पिरियडको भाषा कसरी राखियो, भाषामा कोको संलग्न भए, संलग्न व्यक्तिलाई कारबाही गर्ने वा के गर्ने ? आगामी दिनमा कानुन निर्माणमा यस्तो हुन नदिने के गर्ने लगायतका विषयमा छलफल भइरहेको सहभागी सांसदहरूले अनौपचारिक जानकारी गराएका छन् ।
प्रतिक्रिया 4