
१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर अभिव्यक्ति दिएको बताएका छन् ।
आइतबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव पुनले यस्तो बताएका हुन् ।
उनका अनुसार, आजको बैठकमा उपमहासचिव शर्माले आफ्ना कुरा राखेका थिए ।
सो क्रममा यो पार्टी कुनै हालतमा नछाड्ने र पार्टीमै आफ्ना कुरा बताएको पुनले बताए ।
‘कतिपय मेरा पनि कमजोरी थिए, कति अध्यक्षका कति साथीभाईका थिए,’ शर्माको भनाइ उद्धृत गर्दै पुनले भने, ‘म यो पार्टी छाड्नेवाला छैन, म यो पार्टीमै रहने हो, यो पार्टीमा आफ्ना कुरा भन्छु ।’
शर्माले खुला रुपमा पार्टीका समस्याबारे भनाइ राखेको पुनले बताए ।
उनका अनुसार, स्थायी समिति बैठक भोलि सकिनेछ । वरिष्ठ उपाध्यक्ष र महासचिवले आफ्ना कुरा राखिसकेपछि प्रचण्डले भोलि जवाफ दिने उनले जानकारी दिए ।
केन्द्रीय समिति बैठक बस्नेबारे कुनै मतभेद नभएको उनले बताए । दशैंपछि पहाडी लोकमार्ग अभियान पूरा गर्ने र केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी गराए ।
बैठकमा खुला र स्पष्ट रुपमा छलफल भएको उनको भनाइ थियो ।
प्रतिक्रिया 4