
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरु गरेको छ।
- यो परियोजना १२ महिनामा तीन चरणमा कार्यान्वयन गरिनेछ जसमा आवश्यकता मूल्यांकन, प्रयोगात्मक प्रदर्शन र कार्ययोजना विकास समावेश छन्।
- परियोजनाले भारतको सार्वजनिक वितरण प्रणालीसँग ज्ञान आदान–प्रदान गरी नेपालको खरिद प्रक्रिया, तथ्यांक संकलन र दक्ष कार्यबलका समस्या सम्बोधन गर्नेछ।
१९ साउन, काठमाडौं । भारतले नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन सुदृढ बनाउन संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको सहयोगमा नयाँ सहयोगी पहल सुरु गरेको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै भारत सरकारको विदेश मन्त्रालयले १६ साउनमा नयाँदिल्लीमा सुरु गरेको यो पहल भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहलको एक हिस्सा भएको जानकारी दिएको छ ।
नेपालमा यो परियोजनाले भारतको सफल सार्वजनिक वितरण प्रणाली (पीडीएस) सँग ज्ञान आदान–प्रदान सहज बनाएर नेपालको स्तरोन्नति गरिएको चामल आपूर्ति शृङ्खलामा विशेषगरी खरिद प्रक्रिया, तथ्यांक संकलन र दक्ष कार्यबलमा रहेका समस्या सम्बोधन गर्ने जनाइएको छ ।
यस परियोजनाले नेपालका सरोकारवालालाई कुशल खाद्य आपूर्ति शृङ्खला व्यवस्थापनका लागि डिजिटल प्रविधि उपयोगमा भारतको अनुभवबाट सिक्ने अवसर प्रदान गर्ने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार यो परियोजना १२ महिना अवधिमा तीन चरणमा कार्यान्वयन गरिने छ । पहिलो चरण आवश्यकता मूल्यांकन र सरोकारवालाको संलग्नतामा केन्द्रित हुनेछ ।
दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन र विशेषज्ञद्वारा संक्षेपीकरण सहित नेपाली अधिकारीका लागि भारतको अध्ययन भ्रमण समावेश हुनेछ । यस्तै तेस्रो तथा अन्तिम चरण कार्ययोजना विकासमा केन्द्रित हुनेछ ।
यो परियोजनाको प्रशिक्षण खण्ड भारत सरकारको भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आईटेक) कार्यक्रम मार्फत कार्यान्वयन गरिने छ । सन् २००१ यता ३ हजारभन्दा बढी नेपाली अधिकारीहरूले यसअघि आईटेक कार्यक्रम अन्तर्गत भारतमा तालिम प्राप्त गरिसकेको विज्ञप्तिमा उललेख छ ।
रष्ट्रसंघ महासभाको ७८औं सत्रको मार्जिनमा सन् २०२३ सेप्टेम्बरमा भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहलको घोषणा गरिएको थियो । यो घोषणापछि दिगो विकासका लक्ष्य (एसडीजी) को उपलब्धि तीव्र बनाउन दक्षिण–दक्षिण सहकार्यलाई बढावा दिने परियोजना पहिचान र कार्यान्वयन गर्न भारतको विदेश मन्त्रालय र भारतमा रहेको संयुक्त राष्ट्रसंघको टोलीले संयुक्त रूपमा काम गरेका छन् ।
भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत कार्यान्वयनका लागि पहिचान गरिएका चार परियोजनामध्ये विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना एक हो ।
यो परियोजनाले भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारी प्रतिविम्बित गर्ने दूतावासको भनाइ छ । यसले दक्षिण–दक्षिण सहकार्य मार्फत नवप्रवर्तन साझा गर्ने र उत्थानशील खाद्य प्रणाली निर्माण गर्ने दुवै देशको साझा प्रतिबद्धता सुदृढ बनाउने भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4