News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा नयाँ सिजनको धान भित्रिएपछि चामलको मूल्य २५ किलो बोरामा २५ देखि २०० रुपैयाँसम्म घटेको छ।
- भारतले धान र चामलमा लगाएको २० प्रतिशत निर्यात शुल्क हटाएपछि नेपाली बजारमा चामलको मूल्यमा गिरावट आएको हो।
- चामलको मूल्य घट्नुमा नयाँ धानको आपूर्ति बढ्नु र आयात लागत घट्नु मुख्य कारण रहेको नेपाल चामल, तेल, दाल उद्योग संघले जनाएको छ।
६ पुस, काठमाडौं । बजारमा नयाँ चामल आएसँगै मूल्य घट्न थालेको छ । अहिले उद्योगीदेखि खुद्रा व्यवसायीसम्मले चामलको मूल्य घटेको बताएका छन् । व्यवसायीले पुरानो चामलको भाउ २५ किलो बोरामा २५ रुपैयाँदेखि नयाँमा २ सय रुपैयाँसम्म घटेको बताएका छन् ।
व्यवसायीका अनुसार अहिले मोटा, जिरा मसिनो र लङग्रेन चामलको मूल्य घटेको हो । नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवाल नयाँ चामलको मूल्यमा १ सय ५० देखि २ सय रुपैयाँसम्म कमी आएको बताउँछन् । यो मूल्य प्रति २५ केजी बोराको आधारमा गणना गरिएको हो ।
‘पुरानो धानबाट उत्पादित चामलको तुलनामा नयाँ धानबाट उत्पादित चामल स्वाभाविक रूपमा सस्तो हुन्छ,’ उनी भन्छन्, ‘पुरानो धान गोदाममा लामो समयसम्म भण्डारण गर्दा ब्याज र अन्य व्यवस्थापकीय खर्च लाग्ने भएकाले यसको मूल्य बढी पर्छ ।’
अहिले बजारमा नयाँ सिजनको धान भित्रिएसँगै नयाँ चामलको उपलब्धता बढेको छ, जसले गर्दा समग्र मूल्यमा गिरावट आएको हो । उनले यसअघि उद्योगबाट १ हजार ९ सय ५० रुपैयाँमा बिक्री भइरहेको पुरानो चामल अहिले १ हजार ८ सय रुपैयाँमा बेचिँदै गरेको स्पष्ट पारे । जसमा प्रतिबोरा १ सय ५० रुपैयाँ फरक परेको छ ।
अग्रवालका अनुसार मोटा, जिरा मसिनो र लङग्रेन लगायत सबै ब्रान्डका चामलको मूल्य घटेको छ । ‘नयाँ धान आएसँगै उपभोक्ता नयाँ चामलतर्फ आकर्षित छन्,’ अग्रवाल भन्छन्, ‘त्यसकारण उद्योगीहरूलाई पुरानो चामलको पनि मूल्य घटाएर बेच्नुपर्ने बाध्यता छ ।’
उनकाअनुसार चामलका विभिन्न प्रकारमध्ये नयाँ सोना मन्सुली (मोटो) २५ केजी यसअघि १ हजार ५ सय रुपैयाँमा बेचिँदै आएकोमा अहिले १ हजार ३ सय रुपैयाँमा उपलब्ध छ । ‘पुरानो सोना मन्सुली १ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेकोमा नयाँ सोना मन्सुली १ हजार ३ सय रुपैयाँमा हामीले उपलब्ध गराएका छौं,’ उनले भने।
बजारमा स्टिम जिरा मसिनो चामल पनि १ हजार ८ सयदेखि २ हजार रुपैयाँ कायम भएको छ । यसअघि यो चामलको मूल्य २ हजार ३ सयदेखि २ हजार ४ सय रुपैयाँ थियो ।
लङग्रेन (कृष्ण भोग) चामल २ हजार ८ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । अग्रवालका अनुसार भारतमा लङग्रेनको मूल्य बोरामा ८ रुपैयाँ बढेकाले यसको वास्तविक मूल्य २ हजार ९ सय हुनुपर्ने भए पनि उद्योगीहरूले २ हजार ८ सय ५० रुपैयाँमा बेचिरहेको उनको भनाइ छ ।
अग्रवालका अनुसार चामलको मूल्य घट्नुमा दुई प्रमुख कारण छन् । पहिलो, कात्तिक–मंसिरमा नेपालमा नयाँ धान भित्रिएको छ, जसले बजारमा चामलको आपूर्ति बढाएको छ ।
दोस्रो, भारतले धानमा लगाएको २० प्रतिशत निर्यात शुल्क र चामलमा लगाइएका अन्य सबै शुल्कहरू हटाइसकेको छ । यसले भारतबाट धान र चामल आयात गर्दा लाग्ने लागत घटेको छ, जसको सिधा प्रभाव नेपाली बजारमा देखिएको छ । अहिले पनि भारतबाट सस्तो धान आयात गरेर नेपालका मिलहरूले चामल उत्पादन गरिरहेका छन् ।
यद्यपि, अग्रवालले दाल र चामलमा सरकारले लिँदै आएको ५ प्रतिशत कृषि सुधार शुल्क (एग्रिकल्चर इम्प्रुभमेन्ट ट्याक्स) हटाइदिनुपर्ने माग गरेका छन् । यो शुल्क हटाइएमा उद्योगीहरूलाई व्यवसाय सञ्चालन गर्न थप सहज हुने र चामलको मूल्य अझै घटाउन सकिने उनको तर्क छ ।
काठमाडौं बुद्धनगरस्थित एक मार्टका सञ्चालक कृष्णहरि दुवाल पनि चामलको मूल्यमा १ सय ५० देखि २ सय रुपैयाँसम्मको गिरावट आएको बताउँछन् ।
‘मैले स्टिम जिरा मसिनो २ हजार रुपैयाँमा बेचिरहेको छु,’ उनले भने, ‘यसअघि त २ हजार ३ सयदेखि २ हजार ४ सयसम्म बेचेको हो ।’
बजारमा ब्रान्डअनुसार चामलको मूल्य फरक फरक छ । होलसेलमा मूल्य घटेर आए पनि खुद्रामा भने उपभोक्ताले घटेको मूल्यमा सहजै चामल पाउँदैनन् ।
चामलको मूल्य घटेर आएकाले नयाँ र पुरानो मिलाएर बेच्नुपर्ने अवस्था रहेको उनले बताए । ‘मेरो पसलमा त नयाँ चामल खोज्ने ग्राहक धेरै छैनन्,’ उनले भने, ‘मैले पुरानै चामल बेचिरहेको छु ।’
नयाँ चामलको भाउ धेरै नबढ्ने भएकाले स्टक (भन्डारण) सक्काउनकै लागि महँगोमा किनेको पुरानो चामल सस्तोमै बेच्न थालेको उनको भनाइ छ ।
भारतले धान चामलमा लगाएको कर हट्नासाथ नेपाली बजारमा धान, चामल आयातमा व्यापारीबीच प्रतिस्पर्धा छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा मात्रै १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको धान, चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत आवको ४ महिनाको तुलनामा यो आवको ४ महिनामा ३ अर्ब रुपैयाँ बढीको धानचामल आयात भइसकेको छ ।
गत आव २०८१/८२ मा ६ अर्ब ९६ करोड ६७ लाख रुपैयाँको धान, चामल आयात भएको थियो । भारतले धान र चामलमा लगाएको भन्सार शुल्क घटाएपछि धान, चामल आयात बढेको भन्सारको तथ्यांकले देखाउँछ ।
काठमाडौं बुद्धनगरस्थित भट्टराई किराना स्टोरका सञ्चालक रामप्रसाद भट्टराई पनि पुरानो चामल २५ किलोको बोरामा २५ रुपैयाँ र नयाँमा १ सय ५० देखि २ सय रुपैयाँसम्म घटेको बताउँछन् ।
यद्यपि, उनले लङ्ग्रेन चामलको मूल्य भने घटाउन नसकिएको बताए । लङ्ग्रेन चामल २ नम्बरको मूल्य केही घटेको भए पनि १ नम्बरको भने मूल्य भने बढेर आएकाले घटाएर बेच्न नसकिएको उनको भनाइ छ ।
उनका अनुसार अहिले बजारमा चामलको बिक्री बढेको छैन । ‘मूल्य घटे पनि चामल बिक्री खासै छैन,’ उनी भन्छन्, ‘अहिले धेरै चामल उपभोग गर्ने जनशक्ति पनि विदेशिएको छ, तर तथ्यांक हेर्दा आयात पनि घटेको देखिँदैन ।’
नेपाल खुद्रा व्यापार संघको तथ्यांकले पनि पछिल्लो अवधिमा स्टिम जिरा मसिनो र लङ्ग्रेन बासमती २ नम्बर चामलको मूल्य प्रतिकिलो १० देखि २० रुपैयाँ घटेको देखाउँछ ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर चामलको मूल्यमा आएको यो गिरावट नयाँ धान भित्रिएका कारण भएको बताउँछन् ।
‘धान र चामल कृषिजन्य उत्पादन भएकाले यसको मूल्य उत्पादनको मात्रा अनुसार परिवर्तन भइरहन्छ,’ महासचिव तुलाधर भन्छन्, ‘यदि उत्पादन बढी भएमा मूल्य अझै घट्न सक्ने र स्टक सकिँदै गएपछि मूल्यमा फरक आउनु सामान्य हो ।’
अहिले बजारमा दाल तथा गेडागुडीको मूल्य पनि घटेको छ ।
प्रतिक्रिया 4