
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वयन गर्दा १० अर्ब रुपैयाँ बराबर नोक्सान भएको छ।
- केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न ४२ खर्ब ५९ अर्ब निक्षेप संकलन उपकरण जारी गरेको छ।
- गत आवमा वित्तीय प्रणालीमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले करिब २१ अर्ब खर्च गरेर ब्याजदर अड्याउनु पर्ने अवस्था आएको छ।
२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वयन गर्न खोज्दा १० अर्ब रुपैयाँ बराबर नोक्सान भएको छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता समस्या व्यवस्थापन गर्न खोज्दा उक्त रकम खर्च गरेको हो ।
आर्थिक गतिविधिमा देखिएको सुस्तताले समग्र बजार माग बढ्न सकेन । त्यसले बैंक वित्तीय संस्थाको कर्जा लगानीलाई समेत असर गर्यो । वित्तीय क्षेत्रमा कर्जा माग नहुँदा अधिक तरलता समस्या जटिल बन्दै गयो ।
केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन र ब्याजदरको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न प्रणालीको पैसा खिच्ने र पठाउने गर्छ । केन्द्रीय बैंकले प्रणालीमा पैसा पठाउँदा ब्याज आम्दानी हुन्छ भने खिच्दा खर्च हुन्छ ।
गत आर्थिक वर्ष वित्तीय प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले अल्पकालीन ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम हुन नदिँदा करिब १० अर्ब खर्च भएको हो ।
वित्तीय प्रणालीको अल्पकालीन ब्याजदर तरलताको अवस्थाले निर्धारण गर्छ । अधिक तरलता भएको समयमा घट्छ भने न्यून भएको अवस्थामा बढ्छ । त्यसको आधार भनेको बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबार दर हो ।
वित्तीय प्रणालीमा अधिक तरलता हुँदा अन्तरबैंक दर घट्छ । तरलता कसिलो भएको अवस्थामा अन्तरबैंक दर बढ्छ । केन्द्रीय बैंकले अन्तरबैंकलाई आधार बनाइ ब्याजदर करिडोर कार्यान्वयन गर्छ ।
अन्तरबैंक कारोबार दरलाई ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम हुन दिँदैन । प्रणालीमा अधिक तरलता भएका कारण अन्तरबैंक दर घट्यो भने स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत तरलता खिचेर बढाउँछ ।
त्यसैगरी तरलता कसिलो भयो र अन्तरबैंक दर बढ्यो भने स्थायी तरलता सुविधा मार्फत प्रणालीमा पैसा पठाइ अन्तरबैंक दर घटाउँछ । त्यसका साथै रिपो, रिभर्स रिपोको समेत प्रयोग गरी तरलता व्यवस्थापन गर्छ ।
तरलता अवस्थामा आउने परिवर्तनले ब्याजदर समेत अस्थिर भयो भन्दै केन्द्रीय बैंकले ब्याजदर करिडोर सुरु गरेको हो । ब्याजदर करिडोरको तल्लो सीमा भनेको स्थायी निक्षेपको ब्याजदर हो भने माथिल्लो सीमा स्थायी तरलता सुविधाको ब्याजदर अर्थात् बैंक दर हो । केन्द्रीय बैंकले तरलता खिच्ने र पठाउने गरेर अल्पकालीन ब्याजदरलाई करिडोरको सीमाभित्र राख्दै आएको छ ।
केन्द्रीय बेंकले वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा ब्याजदर अस्वाभाविक घट्न सक्ने भएकाले जोखिम नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थालाई ब्याज दिने र लिने गर्ने केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
ती अधिकारीका अनुसार तरलता धेरै हुँदा केन्द्रीय बैंकको खर्च हुन्छ भने तरलता कसिलो भएको अवस्थामा आम्दानी पनि हुने गरेको ती अधिकारीले बताए ।
वित्तीय प्रणालीमा गत आव जस्तै अधिक तरलता भएको खण्डमा चालु आव केन्द्रीय बैंकले करिब २१ अर्ब खर्च गरेर ब्यादजर अड्याउनु पर्ने अवस्था आउने ती अधिकारीको भनाइ छ ।
गत वर्ष केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता खिच्न ४२ खर्ब ५९ अर्बको निक्षेप संकलन उपकरण जारी गरेको थियो । त्यसमध्ये बैंक तथा वित्तीय संस्थाले ३१ खर्ब ४२ अर्ब ९५ करोड निक्षेप केन्द्रीय बैंकलाई दिएका छन् ।
त्यसैगरी गत आव केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन मार्फत २ सय १५ खर्ब ८ अर्ब ४० करोड रुपैयाँ खिचेको छ । यी दुवै उपकरण मार्फत प्रणालीको अधिक तरलता खिच्दा केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदर दिएको छ । चालु आव यस्तो ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाइ २.७५ प्रतिशत कायम गरेको छ ।
गत आव अन्तिममा वित्तीय प्रणालीको ६ खर्ब ९२ अर्ब रुपैयाँ अधिक तरलता केन्द्रीय बैंकमा जम्मा भएको थियो । चालु आव लागेपछि यस्तो बक्यौता रकममा केही कमी आएको केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले बताए ।
‘अहिले केन्द्रीय बैंकमा तरलता थुप्रिने क्रम कम भएको छ,’ पण्डितले भने, ‘अर्थतन्त्रमा केही सुधार देखिएकाले गत वर्षजस्तो अधिक तरलता नहोला ।’
गत वर्षजस्तो अधिक तरलता रहेको अवस्थामा केन्द्रीय बैंकको खर्च दोब्बर नै पनि हुन सक्ने बताउदै उनले वित्तीय प्रणालीको तरलता र ब्याजदरका सन्दर्भमा अनिवार्य गर्नुपर्ने काम गरेको तर्क गरे ।
केन्द्रीय बैंकले गर्नैपर्ने काम गर्दा आम्दानी र खर्चभन्दा पनि तरलता र ब्याजदर व्यवस्थापन भयो कि भएन भन्ने मुख्य विषय रहेको उनको तर्क छ ।
प्रतिक्रिया 4