
News Summary
Generated by OK AI. Editorially reviewed.- कोरोना महामारीपछि बन्द भएको हुम्लाको डोन्मो थिङ–थिङ नाका ७ वर्षपछि १५ दिनका लागि पुनः खुलेको छ।
- डोन्मो थिङ–थिङ नाका खुल्दा हुम्लाका चार गाउँपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुनेछ।
- स्थानीयले सीमा पास बनाउन सदरमुकाम सिमकोट आउजाउ गर्न प्रतिव्यक्ति ७ देखि ८ हजार खर्चिनुपरेको छ।
२१ साउन, हुम्ला । कोरोना महामारीले बन्द भएको चंखेली गाउँपालिका–५ स्थित चीन र नेपाल सीमा डोन्मो थिङ–थिङ नाका ७ वर्षपछि खुलेको छ ।
कोरोना महामारीले ठप्प भएको यो नाका ७ वर्षपछि १५ दिनको लागि हाटबजार खुलेको हो ।
परम्परागतदेखि खुलिरहने डोन्मा थिङ–थिङ नाका कारोना महामारीपछि बन्द हुदाँ स्थानीय सदरमुकाम सिमकोट र अन्यत्र धाउन बाध्य थिए ।
परम्परागत रूपमा नुन, तेल, घ्यु, चिया, मैदा, चामल, च्यागा भित्रिने यो नाका बन्द हुदाँ जिल्लाका चंखेली ,सर्केगाड, अदानचुली, ताजाकोट गाउँपालिका नागरिकलाई समस्या हुने गरेको थियो । यो नाका भएर हुम्लाबासीहरू चीनको तिब्बतमा सरसामग्री लिन जाने गर्छन् ।
यस वर्ष नाका खुलेपछि स्थानीयबासीहरू दुईदिनको पैदलपछि सरदमुकाम सिमकोट आएर अस्थायी सीमापास लिएर चीनको तिब्बत जाने चाजोपाँजो गर्न थालेको चंखेली गाउँपालिका–५ नेप्का गाउँका रूपबहादुर तामाङले जानकारी दिए ।
पहिला सीमा पास (अनुमति पत्र) बिनै आउजाउ हुन्थ्यो, कोराना महामारीपछि चीनले सीमा पास खोज्न थालेको तामाङले बताए । उनका अनुसार यहाँ पुस्तौंदेखि हाटबजार लाग्दै आएको छ ।
गत वर्ष हुम्लाको डोन्मा थिङ थिङ नाका नखुलेपछि मुगु जिल्लाको नाक्चेनाग्ला हुँदै चीन गएको बताए ।
चंखेली गाउँपालिका–५ नेप्का गाउँका स्थानीयलाई यो नाकाबाट दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने गरेको अर्का स्थानीय रूपधन तामाङ बताउँछन् ।
‘सीमा पास बनाउन सदरमुकाम सिमकोट आउजाउ गर्न प्रतिव्यक्ति ७ देखि ८ हजार खर्चिनुपर्न बाध्यता छ’, उनले भने, ‘सर्केगाड गाउँपालिका केन्द्रमा इलाका प्रशासनबाट सीमापास दिने व्यवस्था भएपछि सहज हुन्थ्यो ।’
७० घरधुरीका नागरिकहरूले सीमापास बनाउनै १५/१६ लाख रुपैयाँ खर्च भएको उनले बताए । डोन्मो थिङ–थिङ नाका खुलेपछि हुम्लाको दक्षिणी भेगका चार गाउँपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुनेछ ।
प्रतिक्रिया 4