
२१ साउन, काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहितले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले ३० करोड २९ लाख ३४ हजार ९७ रुपैयाँ बराबरको नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको हो ।
अदालतले १ वर्ष कैद सजाय र बिगो माग बमोजिमको ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना तोकेको छ ।
अदालतले मेयर थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ बढी देखिएको फैसला गरेको छ ।
फैसलामा भनिएको छ, ‘प्रतिवादी भरतकुमार थापा र निजका एकासगोलका अन्य प्रतिवादीहरूको समग्र आय-व्ययको सम्बन्धमा मूल्याकंन गर्दा कूल आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ ९१ पैसा र कूल व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ १४ पैसा देखिन आई कूल आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बढी देखियो।’
थापाले गैरकानुनी रुपमा आर्जन गरेको देखिन आई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज प्रतिवादी भरतकुमार थापालाई सोही दफा २० को उपदफा (२) बमोजिम १ (एक) वर्ष कैद र बिगो बराबर ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ जरिवाना हुने अदालतले फैसलामा उल्लेख गरेको छ ।
मेयर थापा, विमल कुमार पोखरेल र सागर पौडेलले ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको विशेषको ठहर छ ।
विशेषले सजाय सुनाउन आगामी साउन २९ गतेका लागि पेसी तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो दुई वर्षयता सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्मित माछापोखरी (भरत ताल) माथि सिलसिलेवार अनुसन्धान गरेको थियो ।
सो क्रममा ताल निर्माण गर्दा सिलसिलाबद्ध रुपमा भ्रष्टाचार भएको भनी तीनवटा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया 4