
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको कटहरी खण्डमा ६ वर्षसम्म आधा पनि काम नहुँदा स्थानीयले हुलाकी राजमार्गमा धान रोपेर विरोध गरेका छन्।
- २०७६ सालमा ठेक्का लिएको हुलाकी राजमार्गको ६ किलोमिटर खण्डमा हालसम्म २२ प्रतिशत मात्र काम भएको छ।
- ठेकेदारले साइड ड्रेन र बिजुली पोल सार्ने काम पूरा नगरेपछि सडक निर्माणको म्याद थप गर्ने तयारी भइरहेको छ।
२२ साउन, विराटनगर । निर्माण सुरु भएको ६ वर्षसम्म आधा पनि काम नभएपछि हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा स्थानीयले धान रोपेका छन् ।
बिहीबार कटहरी गाउँपालिका-३ का स्थानीयले सडकमा सवारी आवागमन रोकेर सडकको हिलोमा धान रोपेका हुन् । विरोधमा स्थानीयले करिब एक घण्टा चक्काजामसमेत गरेका थिए ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये हाटखोलादेखि रामचोकसम्म ६ किलोमिटर काम अतिसुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पूरा भएको छ ।
२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । पानी पर्दा हिलोका कारण हिँड्न नसकिने यो सडक घाम लाग्दा धुलोका कारण हिँड्न नसकिने स्थानीय दिलिप शर्मा बताउँछन् ।
अलपत्र अवस्थामा रहेको हुलाकी सडकको काम अघि बढाउन मोरङका जनप्रतिनिधिले तीन वर्षअघिदेखि पहल गरेका थिए । एकसाता अघि मोरङ-४ का सांसद अमनलाल मोदीले तत्काल काम अगाडि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
हुलाकी सडकको ६ किलोमिटर खण्डको मुख्य ठेकेदार श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि भए पनि निर्माण क्षेत्रमा मुख्य ठेकेदार देखिएका छैनन् । सुरुमा भुपाल श्रेष्ठले पेटी ठेकेदारको रूपमा काम गरेका थिए । श्रेष्ठ पनि भागेपछि उनको ठाउँमा अभिषेक गिरी आएका छन् ।
६ वर्षको अवधिमा ठेकेदारले साइड ड्रेन निर्माणको काम पूरा गरेका छैनन् । बिजुलीको पोल पनि सारिएको छैन । बर्खापछि बिजुलीको पोल सारेर माटो फिलिङ गर्ने तयारी छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार हुलाकी सडकको यो खण्डको ठेक्कार २०७६ सालमा ७७ करोड रुपैयाँमा ठेक्का लागेको थियो ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडकको पटकपटक म्याद थप भएको छ । फेरि म्याद थप गर्ने तयारी छ ।
प्रतिक्रिया 4