+
+
Shares

वर्षेनी घट्दै हिमाली भेगका रैथाने च्याङ्ग्रा, जलवायु परिवर्तनको असर

हिउँ पर्ने हिमाली जिल्लाहरूमा पछिल्ला केही वर्षदेखि वर्षा हुन थालेपछि च्याङ्ग्रा जोगाउन मुस्किल पर्दै गएको छ ।

सुवास पण्डित सुवास पण्डित
२०८२ साउन २२ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कृषि अनुसन्धान परिषद्ले हिमाली भेगका रैथाने च्याङ्ग्राको संख्या वर्षेनी घट्दै गएको देखाएको छ।
  • जलवायु परिवर्तनले हिमाली क्षेत्रमा वर्षा बढ्दा च्याङ्ग्राको स्वास्थ्यमा समस्या र मृत्युदर बढेको छ।
  • च्याङ्ग्राको मासु उत्पादन बढाउन सिन्हाल जातसँग क्रस गर्ने चलनले पस्मिनाको गुणस्तर घट्ने जोखिम देखिएको छ।

२२, साउन, चितवन । हिमाली भेगमा पालिने रैथाने च्याङ्ग्रा जलवायु परिवर्तनको मारमा पर्न थालेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको अनुसन्धानले वर्षेनी रैथाने च्याङ्ग्राको संख्या घट्दै गएको देखिएको छ ।

नार्कका अनुसार मनाङ, मुस्ताङ र डोल्पामा करिब १ लाख हाराहारीमा च्याङ्ग्रा रहेका छन् । पहिले यो संख्या ३ लाखको हाराहारीमा पुगेको छ ।

हिउँ पर्ने हिमाली जिल्लाहरूमा पछिल्ला केही वर्षदेखि वर्षा हुन थालेपछि च्याङ्ग्रा संकटमा परेका हुन् ।

राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान निर्देशक तथा प्रमुख वैज्ञानिक डा. निना अमात्य गोर्खालीले हिमाली क्षेत्रमा पानी पर्दा च्याङ्ग्राको शरीर भिज्ने र सुक्न कयौं दिन लाग्ने हुँदा निमोनियाका कारण च्याङ्ग्रा मर्ने गरेको बताइन् ।

‘एकातिर चरन क्षेत्रमा पाइने घाँसपात कमी हुँदै गयो । अर्को, पानीमा भिजेपछि श्वासप्रश्वासमा समस्या हुने, रोग लाग्ने र चाँडै मर्ने सम्भावना अधिक देखिएको छ,’ निर्देशक डा. गोर्खालीले भनिन्, ‘बढ्दो तापक्रम र हिमाली क्षेत्रमा पानी पर्न थालेपछि त्यसको प्रत्यक्ष मार च्याङ्ग्रामा पनि देखियो ।’

च्याङ्ग्राका ५० प्रतिशत पाठापाठी चिसो तथा उचित तरिकाले व्यवस्थापन नगर्दा मर्ने गर्छन् । पाठापाठीको मृत्युदर निकै उच्च भएकोले त्यसलाई घटाउने उपायका बारेमा किसानलाई विभिन्न तरिका सिकाउने/तालिम दिने काम पनि भइरहेको गोर्खालीले बताइन् ।

‘च्याङ्ग्राको एउटा पाठा बचाउन सक्दा किसानको २९ हजारदेखि ३५ हजारसम्म जोगिन्छ,’ गोर्खालीले भनिन्, ‘किसानले करिब ३/४ वर्ष पाल्दा नै एउटा च्याङ्ग्राबाट त्यति कमाउन सक्छ । त्यसैले पाठापाठीको मृत्युदर घटाउन जरुरी छ ।’

राष्ट्रिय चरन तथा घाँसेबाली अनुसन्धान कार्यक्रम वैज्ञानिक डा. सुनिता सज्यालका अनुसार जलवायु परिवर्तनका कारणले च्याङ्ग्राले मन पराउने घाँसको प्रकार तथा विविधतामा कमी आउनुका साथै विषालु घाँसहरू बढ्दै जानु अर्को समस्याका रूपमा थपिएको छ । वातावरण अनुकलतामा कमी हुँदै गएको देखिन्छ । चरीचरनको क्षेत्रफल घट्दै जाने, आहाराको गुणस्तरमा कमीको कारणले पनि च्याङ्ग्राको संख्या र उत्पादनमा कमी आएको छ ।

हिमाली क्षेत्रमा च्याङ्ग्रा मासुको प्रयोजनका लागि पाल्ने हुँदा उत्पादन घट्दै जाने तर मासुको खपत बढ्दै जाने अवस्था डरलाग्दो रूपमा देखिएको उनको भनाइ छ

नार्कले सन् २०२१ देखि हिमाली भेगका रैथाने च्याङ्ग्राको अवस्थाका बारेमा अध्ययन गरिरहेको छ । नेपाली च्याङ्ग्राको शरीरबाट निकालिने रौंबाट संसारकै गुणस्तरीय पस्मिना बन्ने भए पनि नेपाली किसानहरूलाई त्यस बारेमा बुझाउन नसकिएको निर्देशक डा. गोर्खालीले बताइन् ।

मासु प्रयोजनका सट्टा पस्मिनाका लागि पाल्नेतर्फ किसानलाई आर्कषित गर्न सके बढी लाभ दिन सक्ने र रैथाने च्याङ्ग्राको पनि संरक्षण हुने उनले बताइन् ।

नार्कका अर्का वैज्ञानिक डा. सरोज सापकोटाले च्याङ्ग्राले जाडो महिनामा पर्याप्त खान नपाउँदा भुत्ला उत्पादनदेखि मासु उत्पादनसम्म ठूलो असर पर्ने गरेको बताए ।

जाडो महिनाको सुरुवातसँगै पस्मिना बन्ने तन्तुहरु(फोलिकल) बन्न सुरु हुने र उचित आहारा साथै अन्य व्यवस्थापन राम्रो भए फोलिकको संख्या र गुणस्तर दुवैमा उल्लेखनीय वृद्धि हुने विभिन्न अध्ययनले देखाएका छन् ।

जलवायु परिवर्तनका कारण च्याङ्ग्राको खाद्य श्रृंखलामा नै असर गर्न थालेको डा. सापकोटाको भनाइ छ ।

पहिले एक वर्षमा एक च्याङ्ग्रा सरदर १७/१८ केजीसम्म हुने गरेको तर उचित व्यवस्थापन गर्दा तौल वृद्धि गर्न सकिने नार्कले जनाएको छ । नार्कको सुपरभिजनमा गण्डकी प्रदेश कृषि तथा पशु विकास मन्त्रालय र नेपाल पस्मिना उद्योग संघको सहकार्यमा भइरहेको प्रारम्भिक अनुसन्धानले जाडो महिनामा च्याङ्ग्राको तौल औसतमा ७ ग्राम प्रतिदिन बढ्ने गरेकोमा उचित आहारा तथा अन्य व्यवस्थापन मिलाउँदा औसत ४० ग्राम प्रतिदिनसम्म तौल बढाउन सकिने देखिएको डा. सापकोटाले बताए ।

नार्कले अहिले मुस्ताङका १२ गाउँ र लोमाङथाङका एक-एक किसानका गोठमा पाइलट प्रोजेक्टका रूपमा च्याङ्ग्राको अवस्थाबारेअनुसन्धान गरिरहेको छ ।

रैथाने च्याङ्ग्राको पछिल्लो समयमा सिन्हाल जातको बाख्रासँग क्रस गराउने क्रमसमेत तीव्र रहेकोले रैथाने जात नै हराउने हो कि भन्ने चिन्ता समेत थपिन थालेको बाख्रामा पीएचडी गरेका कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्रा.डा. निराजन भट्टराईले बताए ।

सिन्हाल जातका बाख्रा मासुका लागि बढी पाल्ने चलन छ । किसानले च्याङ्ग्रा मासु प्रयोजनका लागि पाल्ने भएकोले सिन्हालसँग क्रस गराउन थालेका छन् ।

सिन्हालसँग क्रस गराउँदा मासु उत्पादन बढ्ने भए पनि पस्मिनाको गुणस्तर घट्ने तथा शुद्ध च्याङ्ग्राको संख्या जोगाउन नै चुनौती आउने नार्कका वैज्ञानिक डा. सापकोटाको भनाइ छ ।

पछिल्लो समय हिमाली क्षेत्रमा च्याङ्ग्रा तथा अन्य पशु पाल्ने किसानको संख्या पनि क्रमशः घट्दै गएको छ । जसले गर्दा रैथाने पशु वस्तु साथै हिमाली पर्यावरण जोगाउन समस्या हुने देखिएको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?