+
+
Shares

दशैं छोपेर तिब्बती च्याङ्ग्रा धपाउँदै उपत्यका आएका टाशी

‘हिमालतिरको जडिबुटी यार्सागुम्बाहरू खाएको हुन्छ, मीठो हुन्छ च्याङ्ग्राको मासु,’ टाशी भन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको सल्लाघारी चौरमा टाशी तामाङले दशैं लक्षित गरेर तिब्बती च्याङ्ग्रा बिक्री गरिरहेका छन्।
  • टाशीले ४ वर्षदेखि दशैंमा च्याङ्ग्रा धपाउँदै आएका छन् र यसपटक २०० च्याङ्ग्रा ल्याएका छन्।
  • च्याङ्ग्राको मासु हिमाली क्षेत्रको जडिबुटी खाएर पोषिलो हुने टाशीले बताए।

१५ असोज, काठमाडौं । भक्तपुरको सल्लाघारी चौरमा च्याङ्ग्रा बेच्न बसेका छन् टाशी तामाङ । सिन्धुपाल्चोकको तातोपानी बजार घर भएका टाशीले दशैंलाई लक्षित गरेर तिब्बती च्याङ्ग्रा सल्लाघारी ल्याइपुर्‍याएका हुन् ।

उनका अनुसार तिब्बतको खासाभन्दा अलि पारीका च्याङ्ग्रा हुन् यी । ‘१९–२० किलोदेखि ३० किलोसम्मका च्याङ्ग्रा छन्, इच्छा अनुसार रोजेर किन्न पाइन्छ,’ टाशीले भने । जिउँदो ताैलेर प्रतिकिलो ११५० रुपैयाँका दरले बेचिरहेको उनले बताए ।

२९ वर्षका टाशी पछिल्लो ४ वर्षदेखि दशैं नजिकिएपछि च्याङ्ग्रा धपाउँदै उपत्यका आइरहेका छन् । यसपाली ४ दिन अघि तिब्बतीहरूले च्याङ्ग्रा तातोपानी नाकासम्म ल्याइदिए ।

सिन्धुपाल्चोकको तातोपानीस्थित तिब्बतसँगको नाका कोदारीबाट पारीका व्यापारसँग खरिद गरेर यहाँसम्म पुग्छन् ।

टाशीका अनुसार उनी एक्लैको बलमा चलेको हैन यो च्याङ्ग्राको ब्यापार । ५ जना साथीभाईको समूह मिलेर यसपाली २०० च्याङ्ग्रा ल्याएकोमा १०० हाराहारी अझै बाँकी रहेको उनले बताए ।

सधैंजसो चाडबाडका बेला अरू जिल्लाकाले पनि यहीँ ल्याउने भएकाले च्याङ्ग्रा खोज्नेहरूका लागि सल्लाघारी चौर बिक्री केन्द्रजस्तो बनेको अनुभव छ उनको ।

‘हामीले मात्र होइन, मुस्ताङबाट पनि च्याङ्ग्रा आउँछ, पहिलेजस्तो छैन प्रतिस्पर्धा छ आजकल,’ उनले भने, ‘खै यसपाली सुस्त सुस्त बिक्री भयो ।’

च्याङ्ग्रा बेचिसकेरै फर्किने सुरमा छन् उनीहरू । ‘टीकापछि बिस्तारैबिस्तारै भयो भने तिहारसम्म बस्नुपर्ला’, टाशीले भने ।

हिमाली क्षेत्रमा हुर्केबढेका च्याङ्ग्राको भक्तपुरको हावापानी पटक्कै मिलेको छैन । टाशीका अनुसार च्याङ्ग्रालाई यतैका स्थानीय ब्यापारीसँग २०० रुपैयाँ प्रति भारी घाँस किनेर खुवाउँदैछन् ।

‘खान्की नमिलेर अलि घट्दो रैछ, मकै पनि खाँदैन, घाँस र पानी खुवाइरहेका छौं,’ उनले भने । खासा आसपासका हिमाली क्षेत्रमा चरेका च्याङ्ग्रा भएकाले पोषिलो हुने टाशीको दाबी छ ।

‘हिमालतिरको जडिबुटी यार्सागुम्बाहरू खाएको हुन्छ, मीठो हुन्छ च्याङ्ग्राको मासु,’ टाशी भन्छन् ।

सिन्धुपाल्चोक क्षेत्रमा भने च्याङ्ग्रा पालन असम्भव प्राय: रहेको टाशी बताउँछन् । ‘यो त गर्मीमा बस्नै सक्दैन, माथिमाथि चिसो हिमालमा हुन्छ, मान्छेसँग पनि एकदम डराउँछ च्याङ्ग्राहरू,’ उनले भने ।

पारीका च्याङ्ग्रा ब्यापारीले वर्षेनी दशैं छोपेर यता पठाउँछन् ।

दशैं छोपेर सिजनल व्यापार

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ तातोपानी बजारका टाशी वर्षभरी नै च्याङ्ग्रा खरिदबिक्री गर्ने अख्खा ब्यापारी हैनन् ।

‘दशैंमा केही कमाइन्छ कि भनेर साथीहरूसँग मिलेर गर्दै आएको हो,’ उनले भने, ‘अब त विदेश जानुपर्छ जस्तो भइराछ ।’

१२ कक्षासम्म अध्ययन गरेका टाशीले घरको आर्थिक अवस्थाका कारण थप अगाडि पढ्न नपाएको बताए ।

‘अगाडि पढाई त खै अब स्थिति नि अहिले गाह्रो छ हो,’ टाशीले विवाह गरिसकेको बताउँदै एक छोरीको जिम्मेवारी सुनाए ।

अरूबेला सीमाबाट भन्सारसम्म सामान ढुवानीको काम गर्दै आएका टाशी पछिल्लो समय नाका अवरुद्ध हुँदा बेरोजगार जस्तै भएको बताए ।

‘खाली बस्नुभन्दा दशैंमा च्याङ्ग्रा लिएर आएको नि, मिलाएरै दिन्छौं, तपाईंहरू आउनुहोला,’ उनको आग्रह छ ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीको यो चौर नेपाल ट्रष्टको नाममा छ । सधैं खुला हुने यो चौर चाडपर्वको बेला खसीबोका र च्याङ्ग्रा लिएर ‘टाशीहरू’ बिक्रीका लागि आइपुग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?