
२२ साउन, दमौली (तनहुँ) । सेतो लुगा, कपाल खौरिएको टाउको, मौन र गहिरो अनुहार । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाढाबमा केही दिनयता यस्तो दृश्यले धेरैको मन छोएको छ । २५ वर्षीया निशा र २१ वर्षीया अनिशा आफ्ना पिता भीमबहादुर क्षेत्रीको काजकिरियामा आमासँगै बसेका छन् ।
परम्परा, संस्कृति र सामाजिक मान्यताका आधारमा अझै पितृसत्तालाई मलजल गरिरहेको नेपाली समाजका लागि छोराहरूले यसो गरेका हुन्थे भने यो नियमित र सामान्य प्रक्रिया नै थियो ।
तर, चलिरहेको रितिभन्दा थोरै पर गएर बुवाको शवलाई काँध थापेका दुई छोरीहरूले त्यसपछि धानेका सबै परम्परा समाजका लागि प्रेरणा बनेको छ ।
निशा र अनिशाले परम्परा निभाउनु त एकातिर छ नै साथमा उनीहरूले सामाजिक चेतना र लैङ्गिक समानताको सशक्त सन्देश पनि दिएका छन् ।
बुवाको काँध थाप्ने, दागबत्ती दिने, कपाल खौराउने र १३ दिनसम्म काजकिरिया बस्ने कार्य छोरीहरूले गरेको देख्दा समाज स्तब्ध मात्र भएन, नयाँ सोचको मार्ग पनि खुलेको छ ।
उनीहरूले चलिरहेको मान्यतालाई चुनौती दिएर निधनपछि पनि बुवामाथि यो सम्मान कायम राख्ने प्रेरणा भने बुवा भीमबहादुरबाटै पाएका हुन् ।
भीमबहादुर २९ वर्ष हुँदा नै ठूलो बिमारी परे । धेरै प्रयासहरूपछि भरतपुर क्यान्सर अस्पताल पुगेका उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो । तर, रोग जति गहिरो थियो, त्यति नै उचो थियो उनको आत्मवल ।
रोगले थलिए पनि उनले हिम्मत हारेनन्, जिम्मेवारी छोडेनन् ।

सानो होटल सञ्चालन गर्दै, दुई छोरीहरूको पढाइ र आफ्नो उपचार सँगसँगै अघि बढाए । श्रीमती ममताको साथ र बाख्रापालनको सहाराले उनी १८ वर्षसम्म रोगसँग लडिरहे ।
छोरीहरू निशा र अनिशा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पठाए ।
उनीहरू बुवाको अन्तिम अवस्थाको खबर पाएपछि नेपाल फर्किएका थिए । अन्तत: ४७ वर्षको उमेरमा गत बुधबार भिमबहादुरको निधन भयो ।
अन्त्यष्टिमा छोरीहरूले बुवालाई काँध दिएर घाटसम्म पुर्याए । दागबत्ती दिए । अनि १३ दिनसम्म आमासँगै काजकिरिया पनि बसे । समाजका धेरैले यो दृश्य भावुक भएर हेरे, कतिपयका लागि नौलो पनि थियो ।
बुधबारदेखि नै राजनीतिक दलका नेताहरू, स्थानीय प्रतिनिधिहरू र नागरिक समाजका व्यक्तिहरू क्षेत्री परिवारलाई सान्त्वना दिन याम्पाढाब आइरहेका छन् ।
बुधबार सान्तवना दिन गएका जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तीरमण वाग्लेले कपाल खौरिएर छोरीहरू काजकिरियामा बस्नु समाजका लागि सकारात्मक भएको बताए ।
उनले भने, ‘कानुनी र धार्मिक परम्परा छोराले मात्र हैन, छोरीले पनि पिताको संस्कार गर्न सक्छिन् भन्ने कुरा समाजलाई बताउन सफल भएका छन् ।’
प्रतिक्रिया 4