
२४ साउन, काठमाडौं । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूको बैठक काठमाडौंमा बस्दैछ ।
राजीनामा दिनुअघि नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भएका सहमति कार्यान्वयनका विषयमा छलफल गर्न लामाले आफू पक्षका सांसदको बैठक बोलाएका हुन् ।
बैठकमा लामा पक्षका १४ जना सांसद सहभागी हुनेछन् । दिउँसो २ बजे बैठक बसेर पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम रहेको एक सांसदले जानकारी दिए ।
उनका अनुसार पूर्व सहमति कार्यान्वयन हुने अवस्था नदेखिएपछि बैठक बस्न लागेको हो । सहमति कार्यान्वयन हुने निश्चित नभएसम्म बानियाँलाई विश्वासको मत पनि नदिने अडान उनीहरुको छ ।
‘कांग्रेसको इतिहासमा पहिलोपटक संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याइयो’, ती सांसदले भने, ‘आफ्नै सरकारलाई विश्वासको मत नदिने पनि इतिहासमै पहिलोपटक हुनसक्छ ।’
यसअघि लामाविरुद्ध कांग्रेसकै सांसदले अविश्वासको प्रस्ताव लगेर दलको नेताबाट हटाएका थिए । लगत्तै भएको निर्वाचनबाट बानियाँ नेता चुनिएका थिए । त्यसपछि सभापति देउवासँगको छलफलपछि लामाले राजीनामा दिएका थिए । राजीनामा दिनुअघि लामाले नियुक्त गरेका मन्त्रीलाई कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने लगायतका सहमति भएका थिए ।
प्रतिक्रिया 4