
News Summary
Generated by OK AI. Editorially reviewed.- कार्टुन्ज क्रूका सरोज अधिकारीले निर्देशक नीता ढुंगानाको कथानक फिल्म 'पार्वती'मा सहायक निर्देशकको रुपमा अनुबन्धित भएका छन्।
- सरोजले फिल्म बुझ्नका लागि सहायक निर्देशकबाट सुरु गरेको र अझै तीन चार फिल्ममा असिस्ट गर्न चाहेको बताए।
- 'पार्वती' माघ १ गतेदेखि प्रदर्शनमा आउने अपेक्षा गरिएको छ र यसमा नीता ढुंगानाले निर्देशन गर्नेछिन्।
काठमाडौं । मुलुकको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारीले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । नीता ढुंगानाले निर्देशन गर्न लागेको कथानक फिल्म ‘पार्वती’मा सरोज सहायक निर्देशकको रुपमा अनुबन्धित भएका हुन् ।
आइतबार निर्मात्री तथा निर्देशक ढुंगानासहित सरोजको लिखित सम्झौता भएको छ । सुरुमै उनलाई अनलाइनखबरको प्रश्न थियो- अभिनयमा डेब्यू नगरेर किन निर्देशन विधामा ?
उनले जवाफ दिए- ‘फिल्मलाई बुझ्नको लागि यहीँबाट राम्रोजस्तो लाग्यो । अझै ३, ४ फिल्ममा असिस्ट गरेर फिल्मलाई राम्रोसँग बुझ्न चाहन्छु ।’ आफूले फिल्म बुझ्न मौका चाहेको उनले बताए ।
‘बाहिर हेर्दा पनि असिस्टेन्ट निर्देशकबाट सुरु गरेका छन् । फिल्मलाई बुझ्न मौका हुन्छ । म खुसी छु’ सरोजले भने, ‘नीता दिदीले नै मलाई अप्रोच गर्नुभएको हो । उहाँबाट कल आयो । उहाँ युवाहरूसँग मिलेर नयाँ ढंगले काम गर्न चाहिरहनुभएको रहेछ ।’
आफूले पनि फिल्म डेब्युमा प्रयास गरिरहेको बेला ‘पार्वती’बाट अफर आएको सरोजले बताए । ‘मैले पनि फिल्ममा ट्राई गरिरहेको थिएँ । लक जुर्यो भनौं न’ उनले भने ।
आस्मा विश्वकर्माले ‘कार्टुन्ज क्रू’ सम्हाल्ने र आफू अबदेखि नियमितरुपमा फिल्ममा लाग्ने सरोज बताउँछन् । ‘कार्टुन्ज क्रू’ले पछिल्लोपटक स्वास्थानी भर्सेस ग्याङ, द लास्ट ट्रिप लगायतका सिरिज निर्माण गरेको थियो ।
असोजबाट छायांकन हुने तयारीमा रहेको ‘पार्वती’ माघ १ गतेदेखि प्रदर्शनमा आउने अपेक्षा गरिएको छ । रक्षाबन्धनको अवसरमा सार्वजनिक टिजर पोस्टरमा नीता फिचर्ड थिइन् ।
नीताले ‘सुख दुःख’बाट निर्देशनमा डेब्यु गर्दैछिन् भने ‘पार्वती’ उनको त्यसपछिको प्रोजेक्ट हो ।
प्रतिक्रिया 4