News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अष्ट्रेलिया टुर टी२० विश्वकप छनोटको तयारीका लागि सहयोगी हुने बताएका छन्।
- नेपालले पहिलो पटक अष्ट्रेलियामा टप एण्ड टी२० क्रिकेट प्रतियोगिता खेल्न लागेको छ र १५ अगस्टमा नर्दन टेरिटोरी स्ट्राइकसँग पहिलो खेल खेल्नेछ।
- टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ र नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ।
२६ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अष्ट्रेलिया टुर टी२० विश्वकप छनोटको तयारीका लागि सहयोगी हुने बताएका छन् ।
आइतबार क्यानले आयोजना गरेको जर्सी स्पोनसिप साइनिङ तथा बिदाई कार्यक्रममा कप्तान रोहितले अष्ट्रेलिया टुर राम्रो हुने बताएका हुन् ।
नेपालले पहिलो पटक अष्ट्रेलियामा गएर टप एण्ड टी२० क्रिकेट प्रतियोगिता खेल्न लागेको हो । जहाँ पाकिस्तान र बंगलादेश जस्ता टेष्ट राष्ट्रको ए टिम देखि अष्ट्रेलियाको बिग बास लिग खेल्ने टिमको एकेडेमी टिम समेत खेल्दैछ ।
‘हामी भोलि अष्ट्रेलिया टुरको लागि जाँदैछौं । टी२० विश्वकप छनोटको लागि बिल्ड अप हो । विशेषगरी अष्ट्रेलियामा टिमहरु राम्रो छन् । बिग बासको टिम, पाकिस्तान र बंगलादेश ए टिमहरु छन्’ रोहितले बिदाइ समारोहमा भने ।
उनले टी-२० विश्वकप छनोटको तयारीका लागि यस टुरले सहयोग पुग्ने र टी-२० विश्वकपमा छनोट हुने आशावादी रहेको समेत बताए । ‘टी२० विश्वकप छनोटअघि सबै खेलाडीहरु राम्रो सेपमा हुनुहुन्छ जस्तो लाग्छ । केही दिनअघि बेंगलोरमा १५ दिनको राम्रो क्याम्प भयो । आउने टी-२० विश्वकपमा हामी छनोट हुन्छौँ भनेर हामी धेरै पोजिटिभ छौं’ रोहितले भने ।
नेपालले सन् २०१४ मा पहिलो पटक बंगलादेशमा भएको टी२० विश्वकप खेलेको थियो । त्यसको दश वर्षपछि नेपालले सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी२० विश्वकप खेलेको थियो ।
तेस्रो पटक टि२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालले अक्टोबरमा ओमान एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल्नेछ ।
अब भने नेपालले विश्वकप खेल्न लामो समय कुर्नु नपर्ने र आउने टी२० विश्वकप नै खेल्ने विश्वास क्यान सचिव पारस खड्काको पनि छ । ‘अब हामीले टी२० विश्वकप खेल्न दश वर्ष कुर्नुपर्दैन । आउने विश्वकपमा छनोट हुने विश्वास छ’ बिदाइ कार्यक्रममा सचिव पारसले भने ।
यस्तै क्यान अध्यक्ष चतुर बहादुर चन्दले पछिल्लो समय नेपाली क्रिकेटले राम्रो गरिरहेको र टी२० विश्वकप छनोट खेल्नुअघि नेपालले राम्रो टिमसँग खेल्ने अवसर पाएको र त्यसको भरपुर सदुपयोग गर्न र उत्कृष्ट प्रदर्शनमा ध्यान दिन आग्रह गरेका छन् ।
उनले क्यान भित्र सानोतिनो पोलिटिक्स भएपनि खेलाडीले त्यतातिर ध्यान नदिई खेलमा ध्यान दिनुपर्ने बताए ।
मुख्य प्रशिक्षक स्टुअर्ट ल ले अष्ट्रेलियाको मौसम फरक हुने र फरक खालको ब्राण्डको क्रिकेट रहेको बताए । उनले ८ दिनमा ६ खेल खेल्नुपर्ने र टी-२० विश्वकप छनोटका लागि यो राम्रो तयारी हुने बताए ।
नेपालले टप एण्ड टी२० कपमा आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ । यस्तै दोस्रो खेल १६ अगस्टमा बंगलादेश ए र तेस्रो खेल १८ अगस्टमा मेलबर्न स्टार्स, चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स, पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स र अन्तिम लिग खेल २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ ।
टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । ९ टोली सहभागी छनोटमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ ।
छनोटमा तीन समूहबाट शीर्ष दुई-दुई टोली सुपर सिक्समा पुग्नेछन् भने त्यसपछि शीर्ष तीनमा रहने टोली टी-२० विश्वकपमा छनोट हुनेछ ।
प्रतिक्रिया 4