+
+
Shares

कृषि विश्वविद्यालयले आफ्ना विद्यार्थीका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने

असोज ५ गतेभित्र व्यवसायिक कार्ययोजना प्रस्ताव पेस गर्न आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा वन विज्ञान विश्वविद्यालयले विद्यार्थीका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने ‘एएफयू व्यवसाय इन्क्युबेसन समर्थन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
  • विद्यार्थीहरूले २०८२ असोज ५ गतेभित्र व्यवसायिक योजना प्रस्ताव गर्नुपर्नेछ र छानिएका टोलीलाई ४ दिनको बुटक्याम्पमा प्रशिक्षण दिइनेछ।
  • विश्वविद्यालयले उद्यमशीलता विकासका लागि २ करोड बजेट विनियोजन गरेको र ७ समूहलाई ११ लाख पहिलो किस्ता वितरण गरेको छ।

२९ साउन, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले विद्यार्थीका व्यवसायिक योजनामा लगानी गर्ने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशील बनाउने उद्देश्यले उनीहरुबाट प्रस्तावित व्यवसायिक योजनामा लगानी गर्ने भएको हो ।

विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले विद्यार्थीहरूबाट २०८२ असोज ५ गतेभित्र व्यवसायिक कार्ययोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

निर्देशनालयका निर्देशक प्रा.डा.निराजन भट्टराईका अनुसार विश्वविद्यालयले ‘एएफयू व्यवसाय इन्क्युबेसन समर्थन कार्यक्रम’को नाममा विद्यार्थीहरुका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने जानकारी दिए ।

‘विद्यार्थीहरूबाट आउने व्यवसायिक योजनाहरू हेरेर प्रतिव्यवसाय ५ लाख रुपैयाँ लगानी गर्छौं,’ निर्देशक प्रा.डा.भट्टराईले भने, ‘कृषि संकाय, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य संकाय र वन संकायमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना योजना प्रस्ताव गर्न सक्छन् ।’

छानिएका विद्यार्थी समूहलाई बीउ पुँजी र मार्गदर्शन प्रदान गरिने उनले बताए । उनीहरुले व्यवसाय सुरु गरेर मुनाफा कमाउन थालेपछि बीउ पुँजी वापतको रकम फिर्ता गर्नुपर्ने प्रावधान छ ।

‘यो कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको उद्यमशील सीप विकास गर्दै शैक्षिक अनुसन्धान र विचारलाई व्यवहारिक नवप्रवर्तनमा परिणत गर्नु हो, जसले खाद्य प्रणाली तथा प्राकृतिक स्रोत व्यवस्थापनका चुनौतीहरूको समाधानमा योगदान पुर्‍याउँछ,’ प्रा.डा. भट्टराईले भने, ‘इच्छुक विद्यार्थी वा समूहले आफ्नो नवप्रवर्तनशील व्यवसायिक कार्यक्रम पेश गर्नुपर्नेछ ।’

व्यवसायिक विचारको मौलिकता, सम्भाव्यता र काम गर्ने प्रतिबद्धताको आधारमा मूल्याङ्कन गरिने निर्देशक डा. भट्टराईले बताए । एक समूहमा ३ देखि ५ जनासम्मको विद्यार्थी समूहमा एक जना महिला अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ ।

कृषि विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा.निराजन भट्टराई

इच्छुक विद्यार्थी समूहले कम्तिमा ३ सय शब्दको व्यवसायिक योजना बनाउनुपर्नेछ । जसमा व्यवसायको उद्देश्य र दायरा, सञ्चालनको विवरण, प्रविधि/नवप्रवर्तनको सोच, उत्पादन विकास चक्र, बजार सम्भाव्यता र लक्षित ग्राहकको विवरण, टोलीको संरचना र सदस्यहरूको भूमिका समेट्नुपर्ने छ ।

छानिएका टोलीहरूलाई ४ दिनसम्म बुटक्याम्पमा सहभागी गराएर व्यवसाय योजना विकास, प्रस्तुति सीप, बजार विश्लेषण, तथा उद्यमशील क्षमता विकासका विषयमा प्रशिक्षण दिइनेछ । प्रशिक्षण तथा तालिमको क्रममा विशेषज्ञहरूको प्रत्यक्ष सुझावका आधारमा प्रारम्भिक व्यवसाय योजना तयार गरिने योजना निर्देशक प्रा.डा. भट्टराईले बताए ।

विभिन्न क्षेत्रमा कार्यरत १६ जना विज्ञ प्रशिक्षकहरूले छानिएका टोलीहरुलाई प्रशिक्षण दिने छन् । विभिन्न क्षेत्रमा स्थापित उद्यमी, बैंकका प्रतिनिधि, कर अधिकृत, विश्वविद्यालयका प्राध्यापक, खाद्य प्रविधिका विशेषज्ञ, उद्योगी व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, कर प्रणाली विशेषज्ञ तथा युवा उद्यमी जस्ता अनुभवी व्यक्तिहरूले उद्यमशील बन्न गर्नुपर्ने काम र सोचहरुको बारेमा जानकारी गराउनेछन् ।

डा.भट्टराईका अनुसार विद्यार्थीहरूमा उद्यमशील सोचको विकास गर्नुका साथै कृषि व्यवसायका अवसर तथा चुनौतीहरू बुझाउँदै व्यवहारिक योजना बनाउने क्षमताको विकास गरी भविष्यमा सफल उद्यमी बनाउने उद्देश्य राखिएको छ ।

यस्तै, निर्देशनालयले गत वैशाख २५ गते गरेको ‘बिजनेस इन्क्युबेसन बुटक्याम्प २०२५’ मा सहभागी भएर छानिएका विद्यार्थीहरुका ७ वटा समूहलाई २३ लाख रकमको पहिलो किस्ता वापत ११ लाख रकम वितरण गरिएको छ ।

विश्वविद्यालयबाट सर्टिफिकेट लिएर विदेश जाने वा जागिर खानेभन्दा पनि स्वदेशमै युवाहरू मिलेर उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जना गर्न सकुन् भन्ने अपेक्षा राखिएको प्रा.डा. भट्टराईले बताए । त्यसका लागि विश्वविद्यालयले २ करोड बजेट उद्यमशीलता विकास गर्ने कार्यक्रमका लागि विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?