News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने टप एण्ड टी-२० सिरिजमा नेपालसहित ११ टोलीले ३६ खेल खेल्नेछन्।
- नेपालले लिग चरणमा नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश \'ए\', मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।
- नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि खेल्न लागेको हो।
२९ साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा बिहीबारदेखि टप एण्ड टी-२० सिरिज सुरु भएको छ । आजदेखि २४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।
सिरिजमा नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक टोलीले सहभागिता जनाएका छन्।
नकआउट चरणअघिको लिग चरणमा नेपालले नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
लिग चरणमा शीर्ष ४ हुने टिमबाट सेमिफाइनल खेलिनेछ भने त्यसपछि फाइनल खेल हुनेछ । नेपाल फाइनलसम्म पुगेको अवस्थामा कुल ८ खेल खेल्नेछ ।
नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि खेल्न लागेको हो।
अस्ट्रेलिया जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा प्रशिक्षकले यस भ्रमणबाट टी-२० विश्वकप छनोटको तयारीका लागि ठुलो सहयोग पुग्ने बताएका थिए ।
‘टी-२० विश्वकप छनोटको लागि बिल्ड अप हो । विशेषगरी अष्ट्रेलियामा टिमहरु राम्रो छन् । बिग बासको टिम, पाकिस्तान र बंगलादेश ए टिमहरू राम्रा छन्’ रोहितले बिदाइ समारोहमा भनेका थिए ।
मुख्य प्रशिक्षक स्टुअर्ट ल ले अष्ट्रेलियाको मौसम फरक हुने र फरक खालको ब्राण्डको क्रिकेट रहेको बताए । उनले ८ दिनमा ६ खेल खेल्नुपर्ने र टी-२० विश्वकप छनोटका लागि यो राम्रो तयारी हुने बताएका थिए ।
यो सिरिज नेपालको टी-२० विश्वकप छनोटको तयारीको हिसाबले प्रतिस्पर्धात्मक चरणको सुरुवात भएकाले महत्वका साथ हेरिएको छ ।
नेपाली टोलीले विभिन्न परिवेशका टोली तथा खेलाडीहरूसँग खेल्दा थप एक्सपोजर प्राप्त हुने र त्यसले आगामी खेलहरूका लागि धेरै सहयोग पुर्याउन सक्छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि यस्ता खेलहरू एक्सपोजरका हिसाबले महत्वपुर्ण हुने बताए ।
नेपाली टोली केही दिनअघि नै डार्विन पुगिसकेको छ । नेपालले आफ्नो पहिलो खेल शुक्रबार खेल्नेछ । नेपालले खेल्ने प्रतिद्वन्द्वीबारे आज चर्चा गर्नेछौं ।
नर्दन टेरिटोरी स्ट्राइक

यो टिमले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो । स्ट्राइकले हरेक संस्करणमा पहिलेभन्दा बलियो टोली तयार पारेको देखिन्छ । टोलीमा बिग ब्यासको राम्रो अनुभव भएका खेलाडीहरू छन् ।
टोलीमा डार्सी शर्ट मुख्य आकर्षण हुन्, जसले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् ।
उनको साथमा जेक वेदराल्ड छन्, जसले सेफिल्ड शिल्डमा उच्च रन बनाउँदै अस्ट्रेलिया ‘ए’का लागि शतकीय इनिङ खेलेका छन् । उनले आगामी एशेजमा टेस्ट डेब्यू गर्न सक्ने चर्चा पनि भइरहेको छ ।
त्यस्तै जोर्डन सिल्क टोलीका अर्का स्टार खेलाडी हुन् । तीन पटक बिग ब्यास जितिसकेका उनले आक्रामक शटसँगै फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गर्ने नाम कमाएका छन् ।
बलिङतर्फ केन रिचार्डसन अनुभवी पेस बलरका रूपमा छन् । उनी पनि अस्ट्रेलियाका लागि खेलिसकेका छन् ।
समग्रमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा सन्तुलित देखिएको स्ट्राइकको टोली नेपालका लागि ठूलो चुनौतीका रूपमा हुनेछ ।
टोली : चार्ली स्मिथ, कोन्नर क्यारोल, ज्याकब डिक्म्यान, जेक वेदराल्ड, जोर्डन सिल्क, आर्ची म्याककर्मिक, डार्सी शर्ट, ह्यामिश मार्टिन, स्याम एल्डर, थोमस एन्ड्र्युज, टम मेन्जिज, काडेल म्याकमहोन, जाइ अल्मन, केन रिचर्डसन, म्याट ह्यामन्ड
बंगलादेश ‘ए’
बंगलादेश ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका र हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छन् ।
टोलीका कप्तान विकेटकिपर-ब्याटर नुरुल हसन हुन्, जसले ४० भन्दा बढी टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । शीर्ष क्रममा मोहम्मद नइम सबैभन्दा खतरनाक ब्याटर मानिन्छन् । उनले २०२४ बीपीएलमा ५०० भन्दा बढी रन बनाएका थिए । बंगलादेशको सिनियर टोलीबाट पनि खेलिसकेका छन् ।
मध्यक्रममा अफिफ होसैन र यासिर अली चौधरी जस्ता शक्तिशाली स्ट्राइकरहरू छन्, जसले बीपीएलमा उच्च स्ट्राइक रेटका साथ ब्याटिङ प्रदर्शन गर्दै आएका छन् ।
बलिङमा हसन महमुद नेतृत्व गर्छन्, जसले बीपीएलमा डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिएका थिए । उनलाई साथ दिन बायाँ हातका छिटो बलर म्रित्तुनजोय चौधरी र बायाँ हातका स्पिनर रकिबुल हसन छन् ।
गत संस्करणमा उपविजेता बनेको यो टोली यसपटक पनि उपाधिको दाबेदारका रूपमा रहनेछ ।
टोली : जिशान आलम, मोहम्मद नइम, यासिर अली, अफिफ होसेन, महफुजुर रहमान रब्बी, सैफ हसन, महिदुल इस्लाम अन्कोन, नुरुल हसन, हसन महमुद, मृत्तुन्जय चौधरी, मुस्फिक हसन, नइम हसन, रकिबुल हसन, रिपोन मोन्डोल, तुफायेल अहमद
मेलबर्न स्टार्स एकेडेमी
मेलबर्न स्टार्स एकेडेमीको टोलीमा युवा प्रतिभासहित बिग ब्यास लिगको अनुभव लिइसकेका खेलाडीहरू समावेश छन्।
साम हार्पर प्रमुख खेलाडीका रूपमा हुनेछन् । उनी शीर्षक्रममा आक्रामक ब्याटिङका लागि परिचित छन् । बिग ब्यास करियरमा १६०० भन्दा बढी रन बनाएका छन् । त्यस्तै टम रोजर्स पनि शीर्ष क्रममा आक्रामक ब्याटिङ क्षमताका लागि चिनिन्छन् ।
मध्यक्रममा क्याम्पबेल केलावेले राम्रो प्रदर्शन गर्न सक्छन् । पेस बलिङमा क्यामरुन म्याक्लुएर, स्पिनमा हामिश म्याककेन्जी र डगलस वारनले विविधता दिन सक्छन् ।
यो टोलीले ठूला टोलीलाई चुनौती दिनसक्ने क्षमता राख्छ ।
टोली : ब्लेक म्याकडोनाल्ड, क्याम्पबेल केल्लावे, म्याक्स बर्थिसेल, थोमस रोजर्स, आर्यन शर्मा, अष्टिन एनलेजार्क, क्रिस्टियन होवे, जोनाथन मेर्लो, लिआम ब्लाकफोर्ड, साम हार्पर, क्यामरुन म्याकक्लर, डग वारेन, ह्यामिश म्याककेन्जी, साम इलियट
मेलबर्न रेनेगेड्स एकेडेमी
मेलबर्न रेनेगेड्सको टोलीमा पनि हालै बिग ब्यास लिगकै टोलीमा कप्तानी गरेका खेलाडीसहित अनुभवी तथा युवा प्रतिभाको सन्तुलन छ ।
ब्याटिङमा जोश ब्राउन र ह्यारी डिक्सनजस्ता हिटर छन् भने कप्तान विल सदरल्यान्ड आफैं पनि मध्यक्रमको हिटरसँगै पेस बलरको भूमिकामा छन् । यी तीनवटै खेलाडी बिग ब्यासको अनुभवी हुन् ।
पेस बलिङतर्फ कप्तान सदरल्याण्डसँगै फर्गस ओ’निल र जाभियर क्रोन छन् भने स्पीनमा क्यालम स्टो मुख्य विकल्पका रूपमा छन् । भारतीय मूलका खेलाडी अर्जुन नायरले पनि अलराउण्ड प्रदर्शन गर्न सक्छन् ।
रेनेगेड्सको टोली पनि सन्तुलित देखिएकाले उनीहरू नेपालका लागि चूनौती बन्न सक्छन् ।
टोली : डिलन ब्रासर, जोश ब्राउन, माइकल आर्चर, ओल्ली पिक, अर्जुन नायर, ह्यारी डिक्सन, विल सदरल्याण्ड, जय लेमाइरे, क्यालम स्टो, डेभिड मूडी, फर्गस ओ’निल, ह्यारी होएक्स्ट्रा, जेभियर क्रोन
पाकिस्तान शाहीन्स
पाकिस्तान शाहीन्स यो प्रतियोगिताको बलियो टोलीमध्ये एक हो । कप्तान मुहम्मद इरफान खान अनुभवी नाम हुन् भने शीर्षक्रममा यासिर खान र ख्वाजा नफय जस्ता आक्रामक ब्याटर छन् ।
मध्यक्रममा अब्दुल समद र मुबासिर खानको भूमिका हुने गर्छ भने बलिङमा अहमद दानियाल र उबैद शाहले पेस जेनेरेट गर्दा स्पिनमा फैसल अकबर र मेहरान मुम्ताज छन् ।
कप्तान इरफानसँगै समद, दानियाल, फैसल र मुबासिरले पाकिस्तानको सिनियर टोलीबाट नै खेलिसकेका छन् ।
गत संस्करणमा सेमिफाइनलसम्म पुगेको यो टोली यसपटक उपाधिको दाबेदार रहनेछ ।
टोली : अब्दुल समद, इरफान खान, मोहम्मद फैक, यासिर खान, माज सादाकत, मुबासिर खान, साद मसुद, गाजी घोरी, ख्वाजा नफय, अहमद दानियाल, फैसल अख्रम, मेहरान मुमताज, मोहम्मद वसीम, शाहिद अजीज, उबैद शाह
होबार्ट हरिकेन्स
होबार्ट हरिकेन्सले पनि आफ्नो टोलीमा उदीयमान र अनुभवी दुवै खालका खेलाडीहरू समेटेको छ ।
सबैभन्दा अनुभवी खेलाडीका रूपमा पेस बलर बिल्ली स्टानलेक अगाडि छन् । उनले अस्ट्रेलियाका लागि खेलिसकेका छन् । उनलाई मार्कस बिन, गेभ बेल र ब्राड होपले साथ दिन्छन् ।
ब्याटिङमा टिम वार्ड, चार्ली वाकिम र लुइस स्मिथ स्थिरता ल्याउन सक्ने खेलाडी हुन् । स्पिनमा राफ म्याकमिलन र निबेथन राधाकृष्णन जस्ता बलर छन् ।
यो टोलीका ब्याटिङ, बलिङ र फिल्डिङ अन्डररेटेड भएकाले नेपाललाई कठिन चुनौती दिन सक्छ ।
टोली : चार्ली वाकिम, म्याकालिस्टर राइट, टिम वार्ड, ब्राडली होप, गेब बेल, लुइस स्मिथ, निवेथन राधाकृष्णन, ज्याक कर्टेन, बिल्ली स्टानलेक, इआन कार्लाइल, मार्कस बिन, राफ म्याकमिलन, टम ड्वायर, विल प्रेस्टविज
***
नेपालले टप एण्ड टी२० कपमा आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ । यस्तै दोस्रो खेल १६ अगस्टमा बंगलादेश ए र तेस्रो खेल १८ अगस्टमा मेलबर्न स्टार्स, चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स, पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स र अन्तिम लिग खेल २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ ।
टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । ९ टोली सहभागी छनोटमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ ।
छनोटमा तीन समूहबाट शीर्ष दुई-दुई टोली सुपर सिक्समा पुग्नेछन् भने त्यसपछि शीर्ष तीनमा रहने टोली टी-२० विश्वकपमा छनोट हुनेछ ।
नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि ऐतिहासिक टी-२०आई शृंखला खेल्दैछ ।
नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहब आलम
प्रतिक्रिया 4